एनएमबि बैंकले नेपाल–भारत सजिलै र तत्कालै पैसा पठाउन मिल्ने इन्डो–नेपाल पी–टू–पी रेमिट्यान्स सेवा सुरु गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन सहज हुने बताइएको छ ।
क्रस–बोर्डर सेवासँगै ग्राहकले परम्परागत झन्झट र ढिलाइबाट मुक्ति पाउनेछन् । भारतबाट पैसा पठाउनासाथ एनएमबि बैंकमा रहेको ग्राहकको खातामा तुरुन्तै आइपुग्ने बैंकले जनाएको छ । ‘पैसा पाउन र पठाउन अब आफ्नो लामो बैंक खाता नम्बर अरूलाई सेयर गरिरहनुपर्ने झन्झटसमेत हुनेछैन,’ बैंकले भनेको छ । यो प्रविधिले ग्राहकको सुरक्षाका लागि सजिलो र छुट्टै भर्चुअल ठेगाना (भिपिए) बनाइदिने र सोही ठेगानामार्फत सजिलै पैसा पाउन–पठाउन सकिने बताइएको छ ।
बैंकका अनुसार ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप वा बैंकको वेबसाइटबाट आफैँ यो सेवा प्रयोग गर्न सक्नेछन् । घरखर्च वा व्यक्तिगत कामका लागि भारतबाट पैसा मगाउँदा आवश्यकताअनुसार रकम प्राप्त गर्न थप सहज हुने भएको छ । ग्राहकको मिहिनेतको कमाइ पूर्ण रूपमा सुरक्षित होस् र सही ठाउँमा पुगोस् भन्नका लागि बैंकको आन्तरिक प्रणालीले यसको निरन्तर निगरानी र सुरक्षासमेत गर्ने बताइएको छ ।