तौल घटाउन प्रयोग हुँदै आएको औषधिले स्तन क्यान्सरको जोखिम ३० प्रतिशतसम्म घटाउन सक्ने एक अध्ययनले देखाएको छ । यो निष्कर्ष हाल विश्वको करोडौँ मानिसले मोटोपनको उपचारमा प्रयोग गरिरहेका जिएलपी–१औषधिको प्रयोगबाट देखिएको हो । विश्वको सबैभन्दा ठुलो क्यान्सरविरुद्धको सम्मेलनमा प्रस्तुत गरिएका तीनवटा अध्ययनमध्ये तीनैवटाले जिएलपी–१ औषधिले क्यान्सरको जोखिम घटाएको देखायो । स्तन क्यान्सर विश्वमा सबैभन्दा धेरै देखिने क्यान्सर हो । तीनमध्ये पहिलो अध्ययनको विश्लेषणबाट जिएलपी–१ औषधि लिनेमा सो औषधि नलिनेको तुलनामा स्तन क्यान्सर हुने सम्भावना ३० प्रतिशत घटेको पाइयो ।
दोस्रो अध्ययनले स्तन क्यान्सरका लागि हाल प्रयोग हुने मानक उपचार विधिमा तौल घटाउने औषधिसमेत थपेर दिँदा रोगीको मृत्यु हुने जोखिम नै ३० प्रतिशतले कम भएको पाइयो । स्तन, फोक्सो, आन्द्रा वा कलेजोको क्यान्सर भएका बिरामीमा गरिएको तेस्रो अनुसन्धानले तौल घटाउने औषधि खानेहरूमा रोग फैलिने सम्भावना ५० प्रतिशतसम्म कम भएको पाइएको थियो ।
सिकागोमा मे २९ देखि जुन २ बिच सम्पन्न ‘अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी’को वार्षिक बैठकमा यी अध्ययनका निष्कर्ष साझा गरिएको थियो । जिएलपी–१ वर्गका औषधि खासमा शरीरमा प्राकृतिक रूपमा पाइने ग्लुकागनजस्तै पेप्टाइड १ भनिने हर्मोनको नक्कल गर्ने औषधिको एक वर्ग हो । यसले रगतमा चिनीको मात्रा घटाउने मात्र होइन, भोक लागेको महसुस हुन नदिँदा कम खान मन लाग्छ । सुरुमा ‘टाइप २’ भनिने मधुमेहको उपचार गर्न प्रयोग गरिने यस यो वर्गको औषधि अहिले व्यापक रूपमा तौल घटाउन प्रयोग गरिन थालिएको छ ।
‘अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी’को वार्षिक बैठकमा पेस गरिएको पहिलो अध्ययनमा ४५ देखि ८० वर्ष उमेरका एक लाख १० हजार महिला समावेश गरिएको थियो । यस विश्लेषणका क्रममा जिएलपी–१ औषधि लिनेलाई नलिनेको तुलनामा स्तन क्यान्सर हुने सम्भावना ३० प्रतिशत कम भेटियो । दोस्रो अध्ययनमा २७ हजार स्तन क्यान्सरका बिरामीलाई समेटिएको थियो । अध्ययन इटलीको मेल्डोला सहरमा रहेको क्यान्सर केन्द्रले गरेको थियो ।