विश्वविख्यात हस्पिटालिटी ब्रान्डसँग चौधरी ग्रुपको सहकार्य : नेपाल भित्रियो रिट्ज–कार्लटन र वेस्टिन ब्रान्ड

मेरियट इन्टरनेसनल र सिजी हस्पिटालिटी ग्लोबलबिच नेपालमा दुई अल्ट्रा लग्जरी होटेल, रिट्ज–कार्लटन र वेस्टिन काठमाडौं सञ्चालनका लागि सम्झौता

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

रणनीतिक साझेदारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै सिजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक राहुल चौधरीले मेरियटसँगको सहकार्य नेपाल एवं दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने चौधरी ग्रुपको यात्राको नयाँ अध्याय भएको बताएका छन् ।

चौधरी ग्रुपले विश्वप्रसिद्ध ब्रान्डहरू रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्र्याएको छ । मेरियट इन्टरनेसनल र सिजी हस्पिटालिटी ग्लोबलबिच नेपालमा दुई अल्ट्रा लग्जरी होटेल सञ्चालनका लागि सम्झौता भएको हो । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा मेरियट इन्टरनेसनल इंक र सिजी हस्पिटालिटी ग्लोबलबिच नेपालमा यी दुई ब्रान्ड सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । यससँगै मेरियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ थपिनेछन् भने मेरियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटेल ब्रान्डहरू नेपालको राजधानी काठमाडौंमा प्रवेश गर्नेछन् । 

सिजी हस्पिटालिटी ग्लोबल चौधरी ग्रुपको तीव्र गतिमा विस्तार भइरहेको हस्पिटालिटी विङ हो । हस्पिटालिटी, एफएमसिजी, वित्तीय सेवा, दूरसञ्चार, शिक्षा, पूर्वाधार, सिमेन्ट, विद्युतीय सवारीसाधन तथा रियल इस्टेटलगायत क्षेत्रमा लगानी गरिरहेको चौधरी ग्रुप नेपालकै ठुलो बहुराष्ट्रिय कम्पनी हो । 

एसिया प्रशान्तका अध्यक्ष मेननले यी होटेललाई विशिष्ट हस्पिटालिटी गन्तव्य बनाउनेमा आफूहरू विश्वस्त रहेको बताए । ‘उच्च सम्भावना भएको नेपाली बजारमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा दृष्टिकोणका साथ चौधरी ग्रुपसँगको सहकार्यलाई अझ सुदृढ बनाउन पाउँदा हामी खुसी छौँ,’ उनले भने, ‘यी ऐतिहासिक परियोजनाले मेरियट इन्टरनेसनलका लक्जरी तथा प्रिमियम ब्रान्डहरूको उत्कृष्टता र उच्च मापदण्डलाई झल्काउँछन् । साथै, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछन् ।’ त्यसैगरी, सिजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले मेरियटसँगको सहकार्यले नेपाल एवं दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने बताए । 

 नेपालमा द रिट्ज–कार्लटन पहिलोपटक प्रवेश
नेपालमा द रिट्ज–कार्लटन पहिलोपटक प्रवेश गर्दै छ । काठमाडौंको प्रमुख क्षेत्र ठमेलमा स्थापना हुने द रिट्ज–कार्लटन, काठमाडौंले प्रसिद्ध सेवा तथा आकर्षक सौन्दर्यमार्फत पाहुनाहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

होटेलमा ३० वटा विशाल सुइटसहित १५० वटा आकर्षक रुम रहनेछन् । त्यस्तै, द वेस्टिन काठमाडौंमा १५० वटा प्रिमियम रुम तथा सुइट रहनेछन् । यो होटेल पर्यटकको स्वास्थ्य तथा सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिने वेस्टिन ब्रान्डको विशेष वेलनेस कार्यक्रममार्फत यात्राको थकान कम गर्ने उद्देश्यका साथ निर्माण हुने छ ।

सिजी हस्पिटालिटीले विश्वप्रसिद्ध हस्पिटालिटी ब्रान्ड आइएचसिएल (टाटा इन्टरप्राइज)अन्तर्गतका ताज, ताज सफारी तथा भिभान्ता, जेटविङ, डबल ट्री बाई हिल्टन तथा फेयरमन्टसँग साझेदारी गर्दै आएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा मेरियट इन्टरनेसनल इंकका बोर्ड अध्यक्ष डेभिड मेरियट, चौधरी ग्रुप तथा सिजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरी, सिजी कर्प ग्लोबल तथा सिजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीलगायतको उपस्थिति थियो ।

सुझावित समाचार