साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन (सिबिसिएफ) र सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) र हिमाली पारिस्थितिक प्रणाली संरक्षणप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेका छन् । विश्व वातावरण दिवस २०२६ को अवसरमा ‘एभरेस्ट १० इनिसिएटिभ’ अन्तर्गत दुवै संस्थाले सगरमाथा क्षेत्रको दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्द्धन, जलवायु सहनशीलता अभिवृद्धि तथा वातावरणीय संरक्षणका क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाएका हुन् ।
बिवाइडीको ‘कुल द अर्थ बाई १० सेल्सियस’ अवधारणाबाट प्रेरित भई सिबिसिएफले सन् २०२५ देखि एसपिसिसीसँग सहकार्य सुरु गरेको थियो । यस सहकार्यको उद्देश्य सगरमाथा र खुम्बु क्षेत्रले सामना गरिरहेका वातावरणीय चुनौती समाधानका लागि नवीन तथा दीर्घकालीन उपाय विकास गर्नु रहेको बताइएको छ । यसैबिच, सिबिसिएफको सहयोगमा एसपिसिसीले पहिलोपटक क्याम्प–२ मा ‘एभरेस्ट रेन्जर्स बेस’ स्थापना गरेको जनाएको छ । उच्च हिमाली क्षेत्रमा परिचालित दुईजना एभरेस्ट रेन्जर्सले वातावरणीय मापदण्ड पालना, फोहोर व्यवस्थापन अनुगमन, आरोही सचेतना अभिवृद्धि तथा आपत्कालीन सहयोग सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
आरोहण सिजनभर रेन्जर्सहरूले आधार शिविरभन्दा माथिका क्षेत्रमा फोहोर व्यवस्थापन गतिविधिको निगरानी गरेका थिए । विशेषगरी क्याम्प–३ र क्याम्प–४ बाट प्रत्येक आरोहीले अनिवार्य रूपमा कम्तीमा दुई केजी फोहोर फिर्ता ल्याउनुपर्ने व्यवस्थाको प्रभावकारी अनुगमन गरिएको एसपिसिसीले जनाएको छ ।
एसपिसिसीको फोहोर व्यवस्थापन तथा अनुगमन प्रणालीमार्फत क्याम्प–३ र साउथ कोल क्षेत्रबाट एक हजार दुई सय २६ किलोग्राम जलाउन मिल्ने फोहोर संकलन गरिएको छ । त्यस्तै, दुई सय १० वटा इपिआई ग्यास क्यानिस्टर तथा एक हजार सात सय ६९ वटा मानवमल व्यवस्थापनका लागि प्रयोग गरिएका ‘पुप ब्याग’ तल्लो क्षेत्रमा झारिएको बताइएको छ ।