फिफा विश्वकपमा ४८ राष्ट्रका एक हजार २४८ खेलाडी

शुक्रबार, २२ जेठ, २०८३
डिजिटल संस्करण

अमेरिका, मेक्सिको र क्यानडाले अर्को सातादेखि फिफा विश्वकप फुटबल प्रतियोगिता संयुक्त रूपमा आयोजना गर्दै छन् । विश्वकप ११ जुनदेखि सुरु हुँदै छ । यसपटक फिफाले विश्वकपमा सर्वाधिक ४८ राष्ट्रबिच प्रतिस्पर्धा गराउँदै छ । सहभागी सबै टोलीले अन्तिम खेलाडी सूचीसमेत सार्वजनिक गरिसकेका छन् । समग्रमा विश्वकपमा एक हजार २४८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । हरेक टोलीमा अनिवार्य रूपमा समान २६ खेलाडी छन् । चार वर्षअघि कतारले आयोजना गरेको विश्वकपमा ३२ टोलीले प्रतिस्पर्धा गरेका थिए । 

फिफाले सहभागी संख्या बढाउँदा खेलाडीको संख्या पनि बढेको हो । विश्वकपमा प्रतिस्पर्धा गर्ने खेलाडीहरू कुनै न कुनै क्लबमा व्यावसायिक फुटबल खेल्ने गर्छन् । 
कतिपय व्यावसायिक फुटबल खेलिरहेका खेलाडी विश्वकपमा पुगेका छैनन् । विश्वकपअगाडि कुन क्लबका धेरै खेलाडी सहभागी छन् भन्ने प्रश्न उठ्छ । यसपटक इंग्लिस क्लबको वर्चस्व देखिन्छ । इंग्लिस प्रिमियर लिगमा आबद्ध दुई सय खेलाडीले विश्वकपमा आफ्नो भाग्य चम्काउनेछन् । यसैगरी, जर्मनीका क्लबबाट १०९ खेलाडी छन् । फ्रान्स र स्पेनबाट समान ८६ खेलाडीले विश्वकप खेल्नेछन् । इटलीबाट ७१, साउदी अरेबियाबाट ४९ र टर्कीका क्लबमा आबद्ध ४५ खेलाडीले विश्वकप खेल्नेछन् । अमेरिकाबाट ४२, नेदरल्यान्ड्सबाट ४६, ब्राजिलबाट ३६ र पोर्चुगलका क्लबबाट ३६ खेलाडी समावेश छन् । 

म्यानचेस्टर सिटीका १९ खेलाडी 
म्यानचेस्टर सिटीबाट खेलिरहेका १९ खेलाडी विश्वकपमा पुगेका छन् । त्यसपछि जर्मन क्लब बायर्न म्युनिखका १८ खेलाडी छन् । आर्सनल र युरोपियन च्याम्पियन्स लिग उपाधि रक्षा गरेको पेरिस सेन्ट जर्मेनबाट समान १६ खेलाडीले विश्वकप खेल्नेछन् । स्पेनिस क्लब बार्सिलोनाबाट १५ खेलाडी विश्वकपमा पुगेका छन् । साउदी प्रो लिगको अल हिलाल, स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, म्यानचेस्टर युनाइटेड र बोरुसिया डर्टमन्डबाट समान १२ खेलाडी विश्वकपमा छनोट भएका छन् । 

सुझावित समाचार