साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरियो नेपाल

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण
  • सर्वाधिक ६ पटकको उपविजेता नेपाललाई २–१ ले स्तब्ध बनाउँदै बंगलादेश लगातार तेस्रोपटक फाइनलमा

साबिक विजेता बंगलादेश लगातार तेस्रोपटक दक्षिण एसियाली महिला फुटबल (साफ) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । भारतको गोवास्थित नेहरू रंगशालामा बुधबार भएको सेमिफाइनलमा बंगलादेशले नेपाललाई २–१ ले हराउँदै अन्तिम दुईमा स्थान सुरक्षित गरेको हो । सन् २०२२ यता बंगलादेशले साफ च्याम्पियनसिपमा उपाधिको दाबेदारी दिइरहेको छ । 

बंगलादेशले पछिल्लो समयमा महिला फुटबलमाथि लगानी गरिरहेको छ । उमेर समूहदेखि सिनियरसम्म बंगलादेश फुटबल संघले लगानी गर्दा उसले अन्तर्राष्ट्रियस्तरमा सफलता चुमिरहेको छ । कुनै समय नेपालभन्दा कमजोर मानिएको बंगलादेश अहिले दक्षिण एसियाकै महिलातर्फ बलियो टोली बनेको छ । नेपालले अन्तिमपटक बंगलादेशलाई सन् २०१९ मा विराटनगरमै भएको साफ च्याम्पियनसिपमा हराएको थियो । त्यसवेला नेपालले बंगलादेशलाई ३–० ले पाखा लगाएको थियो । 

त्यसपछि बंगलादेश नेपालमाथि हाबी हुँदै आएको छ । साफ च्याम्पियनसिपमा नेपाल ६ पटकको सर्वाधिक उपविजेता हो । महिला टोलीले समग्रमा एक दर्जनभन्दा बढी फाइनलमा स्थान बनाए पनि उपाधि जित्न सकेको छैन । बंगलादेशले नेपालमाथि सन् २०२२ को फाइनलमा ३–१ र सन् २०२४ को उपाधि भिडन्तमा २–१ ले जित निकालेको थियो । अब बंगलादेशको नजर उपाधिमाथि ह्याट्रिक गर्नु हो । 

नेहरू रंगशालामा नेपालका लागि गीता रानाले एक गोल गरेकी थिइन् । बंगलादेशकी प्लेयर अफ दी म्याच रितु पुर्ना चक्माले बराबरी गोल फर्काइन् । बंगलादेशले नेपाली खेलाडीबाट भएको आत्माघाती गोलबाट अग्रता लियो । बंगलादेशकी सागोरिकाको प्रहार प्रीति राईलाई लाग्दै गोल भएको थियो । 

फिनिसिङमा कमजोर नेपाल
पछिल्लो समयमा महिला टोलीको फिनिसिङ कमजोर बनिरहेको छ । मुख्य स्ट्राइकर सावित्री भण्डारी घाइते भई मैदानबाहिर छिन् । सावित्राको अनुपस्थितिमा नेपालले अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन । चालू साफ च्याम्पियनसिपमा नेपालले चार गोल गरेको छ । जसमध्ये एक गोल स्ट्राइकर रश्मिकुमारी घिसिङबाट निस्कियो । दुई गोल गीता र एक गोल कप्तान रेनुका नगरकोटेको नाममा रह्यो । रेनुकाले आफ्नो १६ वर्षे खेल करिअरमा पहिलो गोल गरेकी हुन् । प्रभावशाली स्ट्राइकर सावित्रा घाइते हुनु नेपालका लागि घाटा देखियो । बंगलादेशविरुद्ध प्राप्त अवसरमा रेखा पौडेल, रश्मिकुमारी, मीना देउवा, डेब्यु गरेकी अनिता लम्जेलजस्ता स्ट्राइकरले पनि आफूलाई प्रमाणित गर्न सकेनन् । नेपालले समूह ‘ए’को पहिलो खेलमा भुटानलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराउँदै विजेता बनेर सेमिफाइनल पक्का गरेको थियो । बंगलादेश भने पहिलो खेलमा माल्दिभ्सलाई ४–२ ले हराउँदा भारतसँग ३–० ले पराजित भएको थियो । 

गीताको गोलमा नेपालकै अग्रता
खेलमा बंगलादेशको तुलनामा नेपाली खेलाडीले नै आक्रामक खेलेका थिए । नेपालले पहिलो हाफमा पूर्ण रूपमा दबाब बनाएको थियो । तर, दोस्रो हाफमा अन्तिम १० मिनेट सम्हालिँदै बंगालादेश जित निकाल्न सफल भएको हो । खेलको २३औँ मिनेटमा गीताले नेपाललाई १–० को अग्रता दिलाइन् । दीपा शाहीको कर्नरलाई बंगलादेशका गोलरक्षक र डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई गीताले डिबक्सभित्रबाट सुन्दर गोल गरेकी हुन् । यसअघि उनले भुटानविरुद्ध विजयी गोल गरेकी थिइन् ।

पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले बराबरी गोल फर्कायो । रितुले कर्नरमै सिधै गोल गर्न सफल भइन् । उनको कर्नर नेपाली गोलरक्षक अञ्जिलाले क्लियर गर्न सकिनन् । खेलको अन्तिम इन्जुरी समयमा सागोरिकाले गोलरक्षक अञ्जिलालाई बिट गर्दै गरेको क्रस प्रीतिलाई लागेर गोलमा परिणत भएको थियो । साफ च्याम्पियनसिपका लागि कम्बोडियाको लिगमा आबद्ध प्रीति भारतमा पुगेकी हुन् । नेपालको पहिलो दुई खेल हुँदा उनी कम्बोडियामै व्यावसायिक लिग खेलिरहेकी थिइन् ।

सुझावित समाचार