सूचना प्रविधि क्षेत्रमा सरकारले लिएका नीतिगत कदम स्वागतयोग्य : नास आइटी

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण

आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने दिशामा सरकारले लिएका सकारात्मक नीतिगत कदम स्वागतयोग्य रहेको बताइएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज (नास आइटी)ले आगामी आवको बजेटमा समेटिएका विभिन्न सूचना प्रविधि क्षेत्रसम्बन्धी व्यवस्थाको स्वागत गरेको छ ।

सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त आम्दानीमा कर सहुलियत, आइटी क्षेत्रका जनशक्तिलाई प्रदान गरिने स्वेट इक्विटीसम्बन्धी कर व्यवस्थामा सुधार, पेसाकर्मीका लागि उच्चतम व्यक्तिगत आयकर दरलाई ३९ प्रतिशतबाट २९ प्रतिशतमा सीमित गर्ने व्यवस्था महत्वपूर्ण भएको नास आइटीले जनाएको छ । ‘भ्याट फिर्ता प्रक्रियालाई थप व्यवस्थित र स्वचालित बनाउने प्रतिबद्धता, दोहोरो कर परिहार सम्झौता विस्तार गर्ने घोषणा तथा कृत्रिम बुद्धिमत्ता (एआई), नवप्रवर्तन र डिजिटल अर्थतन्त्र प्रवर्द्धनका कार्यक्रम समावेश गरिनु आइटी उद्योगको विकासका लागि महत्वपूर्ण उपलब्धि हुन्,’ नास आइटीले भनेको छ ।

बजेट निर्माण प्रक्रियाका क्रममा सरकारसमक्ष पेस गरेका पूर्वबजेट सिफारिसमध्ये उल्लेखनीय विषय समेटिएको पनि बताइएको छ । यी व्यवस्थाले नेपालको आइटी निर्यात वृद्धि, विदेशी मुद्रा आर्जन, उच्च गुणस्तरीय रोजगारी सिर्जना तथा नेपाललाई विश्वव्यापी डिजिटल सेवा गन्तव्यका रूपमा स्थापित गर्न सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ । यद्यपि, प्रस्ताव गरेका केही महत्वपूर्ण नीतिगत तथा संरचनात्मक सुधार यो बजेटमा समावेश हुन नसकेको पनि नासले जनाएको छ । 

सुझावित समाचार