नेपाली पुरुष टोली एसियन खेलकुदमा छनोट

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण
  • सिंगापुरमा चलिरहेको छनोटमा चीन लगातार दुई खेलमा पराजित हुँदा नेपाल र मलेसियाले एक खेलअगाडि नै एसियाडमा स्थान बनाए

नेपाली राष्ट्रिय पुरुष टोलीले जापानमा हुने २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत क्रिकेट विधामा स्थान सुरक्षित गरेको छ । एसियाडको छनोटअन्तर्गत सिंगापुरमा चलिरहेको प्रतियोगितामा मंगलबार मलेसियाले चीनलाई हराएसँगै समूह ‘ए’बाट छनोट भएको हो । नेपालसँगै यस समूहबाट मलेसिया पनि छनोट भएको छ । मलेसिया र नेपाल एक खेलअगाडि नै अन्तिम चारमा पुगेका हुन् । 

महिला टोली भने एसियाडमा छनोटबाट बाहिरिएको थियो । महिला टोली सेमिफाइनलमा चीनसँग डकवर्थ लेविससँग पराजित हुँदै छनोट चरणबाटै बाहिरिएको थियो । नेपाल र मलेसिया बिहीबार समूह विजेता बन्नका लागि खेल्नेछन् । चीन लगातार दुई खेलमा हारको सामना गर्दै एसियाडमा छनोट भएन । सात टोली सहभागी छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्ने प्रावधान छ । 

अन्तिम चारमा पुग्ने टोली सिधै एसियाडमा छनोट हुने एसिसीले जनाएको छ । नेपालको समूहमा मलेसिया र चीन मात्र थिए । कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक–एक खेल जित्नेबित्तिकै शीर्ष २ को टुंगो लागेको हो । एसियाड आगामी सेप्टेम्बरमा जापानको नागोया र आइचीमा हुँदै छ । यसैगरी, समूह ‘बी’बाट हङकङ, ओमान, सिंगापुर र बहराइनमध्ये दुई टोली छनोट हुनेछन् । यसअघि एसिसीले आइसिसी वरीयताको आधारमा ६ टोलीलाई सिधै एसियाडमा स्थान दिएको थियो । 

जापान आयोजकका रूपमा छनोट भएको थियो । साबिक विजेता भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान छनोट भइसकेका छन् । एसियाडमा १० टोलीबिच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । चीनको हाङझाउमा भएको १९औँ संस्करणमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । नेपालले मंगोलियाविरुद्ध टी–२० आई इतिहासमै पहिलोपटक तीन सय १४ रनको योगफल बनाएको थियो । टी–२० आईमा तीन सयभन्दा माथि रन बनाउने नेपाल पहिलो हो । चालू छनोटमा नेपालले चीनविरुद्ध ३१३ रन जोडेको थियो । यो फर्म्याटमा दुईपटक तीन सय रन कटाउने नेपाल पहिलो राष्ट्र हो । 

चीनको लगातार दोस्रो हार
सिंगापुरमा चलिरहेको छनोटमा चीन लगातार दोस्रो खेलमा पराजित भयो । यद्यपि, चीनको महिला टोली भने एसियाडमा छनोट भएको छ । पहिलो खेलमा नेपालसँग २२१ रनको फराकिलो अन्तरले हारेको चीन दोस्रो खेलमा मलेसियासँग ९ विकेटले पराजित भयो । पहिलो ब्याटिङ गरेको चीनले २० ओभरमा नौ विकेट गुमाएर ८४ रन बनाएको थियो । मलेसियाले ७.५ ओभरमा एक विकेट गुमाएर ८५ रन बनायो । मलेसियाले खेल सकिनु ७३ बलअघि जित निकालेको हो । 

मलेसियाको ब्याटिङमा ओपनर हकिज अमानले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २८ बलमा सात चौका र दुई छक्का प्रहार गरे । अर्का ओपनर अस्लाम खानले ११ बलमा दुई चौका र एक छक्का प्रहार गरी १८ रन बनाए । चीनले १३ अतिरिक्त रन दिएको थियो । यसअघि पहिलो ब्याटिङ गरेको चीनले मलेसियाको कसिलो बलिङ सामना गर्न सकेन । मलेसियाका विजय उनले घातक बलिङ गरी चार ओभरमा आठ रन खर्चेर सर्वाधिक चार विकेट लिए । चीनको ब्याटिङमा सर्वाधिक २९ रन जोङ योचेओले बनाएका थिए । उनले ५१ बलमा समान एक चौका र छक्का प्रहार गरेका थिए । मलेसियाले २० अतिरिक्त रन दिएको थियो । चीनको ब्याटिङमा दुई खेलाडीले रन नै बनाएनन् ।

एसिसी महिला प्रिमियरमा कतारको सामना गर्दै नेपाल 
मलेसियामा एसिसी प्रिमियर कपको बुधबारदेखि हुँदै छ । पहिलो खेलमा नेपालले कतारको सामना गर्दै छ । कतार र नेपालबिचको खेले कोल्जे जाफर ओभलमा हुनेछ । महिला टी–२० आईमा नेपाल र कतारबिच चारपटक प्रतिस्पर्धा भइसकेको छ । जसमा नेपालले चारै खेलमा कतारलाई हराएको छ । पाँचौँ भेटमा महिला टोलीले कतारलाई हराउने लक्ष्य राखेको छ । यी दुई टोलीबिच पहिलोपटक सन् २०२१ को १६ नोभेम्बरमा खेल भएको थियो । 

जसमा नेपालले कतारलाई एक सय १९ रनले हराएको थियो । २०२१ को १७ नोभेम्बरमा कतार नेपालसँग ६१ रनले हार्‍यो । त्यसै वर्ष नेपालले कतारलाई १८ नोभेम्बरमा १०९ रनले हरायो । सन् २०२३ को ४ सेप्टेम्बरमा नेपालले कतारमाथि ९ विकेटको सानदार जित निकालेको थियो ।

एसिया कपको छनोटको रूपमा रहेको प्रतियोगितामा नेपाल सहित १८ देशको सहभागिता रहेको छ । सहभागी १८ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘डी’मा छ । यो समूहमा कतार, हङकङ तथा भुटान छन् । समूह ‘ए’मा थाइल्यान्ड, म्यानमार, जापान, बहराइन, मंगोलिया छन् ।

समूह ‘बी’ मा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब रहेका छन् । यसैगरी, समूह ‘सी’मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहेका छन् । एसिसीका अनुसार नेपालले दोस्रो खेलमा २१ जेठमा भुटानको सामना गर्नेछ ।

नेपालले समूह चरणको अन्तिम खेलमा २३ जेठमा हङकङसँग खेल्नेछ । हरेक समूहको शीर्ष २ मा रहने टोली क्वार्टरफानलमा पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चार टोली एसिसीले यसै वर्ष आयोजना गर्ने एसिसी एसिया कपमा स्थान बनाउनेछन् । 

सुझावित समाचार