कर्णाली विकास बैंकमा एक लाख ग्राहकको सवा चार अर्ब निक्षेप जोखिममा

बुधबार, २० जेठ, २०८३
डिजिटल संस्करण
  • बैंकको डिडिए रिपोर्टअनुसार कुल सम्पत्ति पाँच अर्ब ६७ करोड र कुल दायित्व सात अर्ब ५७ करोड छ, रिपोर्टअनुसार खुद सम्पत्ति एक अर्ब ९० करोड ऋणात्मक छ

नेपालगन्ज उपमहानगरपालिका– १५, जमुनाहाकी जनतुन निशा कवडियाले करिब दुई वर्षअघि आवश्यक परेको समयमा खर्च गर्ने उद्देश्यले तीन लाख ७७ हजार नेपालगन्जस्थित कर्णाली विकास बैंकमा बचत गरेकी थिइन् । तर, आफूलाई चाहिएको समयमा पटक–पटक बैंकमा जाँदा पनि आफ्नो रकम फिर्ता नपाएको उनले गुनासो गरिन् । रकम झिक्न मंगलबार पनि उनी कर्णाली विकास बैंकको केन्द्रीय कार्यालयमा पुगिन् । तर, उनले जम्मा १२ हजार रुपैयाँ मात्रै फिर्ता पाइन् । टाउकोको नसा फुटेपछि उपचारका लागि पति मुर्तजा कवडिया १५ दिनदेखि भारतको लखनउस्थित एक अस्पतालमा उपचाररत रहेको उनले बताइन् । सोही बैंकमा पति मुर्तजाको खातामा पनि एक लाख ३० हजार रुपैयाँ छ । तर, उपचारका लागि आवश्यक रकम बैंकले नदिएको उनले बताइन् । ‘अहिले हामीलाई पैसाको सख्त जरुरत छ । उपचारमा दैनिक ५० हजार भारतीय रुपैयाँ खर्च भइरहेको छ । बैंकले दिएको १२ हजार त गाडी भाडामा ठिक्क होला,’ उनले गुनासो गरिन् ।

जुम्ला कनका सुन्दरी गाउँपालिका– ६, लहार्जका ८५ वर्षीय लक्ष्मीप्रसाद आचार्य पनि पैसाका लागि मंगलबार बैंकमा पुगे । तर, बैंकमा रकम नभएको भन्ने जवाफ पाएपछि उनी रित्तो हात फर्किए । दुई वर्षअघि मुद्दती खातामा १० लाख ७० हजार जम्मा गरेका उनले सबै रकम फिर्ता गरे दुई–तीन लाख रुपैयाँ छाड्नसमेत तयार रहेको बताए । ‘आफ्नो रकम लिन पनि भिख मागेझैँ गर्नुपर्छ । बैंक धाएर थाकिसकेँ । अब त बैंकमा आउन पनि लाज लाग्न थालेको छ,’ उनले भने, ‘रकम डुब्न लागेपछि चिन्ताले जिउ गलिसक्यो । सोमबार आन्दोलनमा आएका वेला बेहोस भएर ढलेँ । पीडा सहन नसकेर आन्दोलनमा आयौँ । यो टन्टलापुर गर्मीमा कसैलाई रहर थिएन ।’ वृद्धभत्ता, छोराछोरीले फलफूल किन्न दिएको रकम बैंकमा जम्मा गरेको उनले बताए । ‘बुढेसकालमा उपचारलगायत तागतिलो खानेकुरा किन्न सजिलो भनेर पैसा जम्मा गरेँ । ब्याज त के साँवासमेत नपाउने स्थिति आइलाग्यो,’ उनले भने ।

कर्णाली विकास बैंकमा करिब एक लाख ६ हजार निक्षेपकर्ता रहेको नेपाल राष्ट्र बैंकका उपनिर्देशक तथा बैंक व्यवस्थापन समितिका संयोजक टीकाराम खतिवडाले बताए । बैंकको जायजेथा बिक्री गरे पनि निक्षेपकर्ताको रकम असुल नहुने उनको भनाइ छ । ‘बैंकको सम्पूर्ण सम्पत्ति बिक्री गर्दा पनि निक्षेपकर्ताको रकम असुलउपर हुन्न,’ उनले भने । बैंकलाई बन्द गर्नुभन्दा पुनर्संरचना गरेर सञ्चालनमा ल्याउनुपर्ने उनले बताए । ‘बैंक बन्द गर्ने हो भने निक्षेपकर्ताको रकम डुब्ने देखिन्छ । बरु, यसको पुनर्संरचना गरी सञ्चालन गर्ने उपाय अपनाउनुपर्छ,’ उनले भने, ‘पाँच लाख जम्मा गरेकाले निक्षेप फिर्ता पाए पनि त्योभन्दा माथिको रकम भएकाहरूले फिर्ता पाउने देखिँदैन ।’ पीडितका अनुसार केही व्यक्तिको ८० लाखदेखि सात करोडसम्म निक्षेप बैंकमा अड्किएको छ । बैंकले करिब चार अर्ब ३० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्न बाँकी रहेको उनीहरूको दाबी छ । बैंकमा निक्षेपकर्ताको करिब चार अर्ब २० करोड रहेको नेपाल राष्ट्र बैंकका उपनिर्देशक खतिवडाले पनि स्वीकार गरेका छन् । ‘निक्षेपकर्ताको रकम र बैंकको सम्पत्तिको अवस्था निकै अन्तर छ,’ उनले भने ।

खुद सम्पत्ति एक अर्ब ९० करोड ऋणात्मक
बैंकको ०८१ पुस मसान्तसम्मको डिडिए रिपोर्टअनुसार कुल सम्पत्ति पाँच अर्ब ६७ करोड रहेकोमा दुई अर्ब ९३ करोड कर्जा प्रवह छ । कुल दायित्व भने सात अर्ब ५७ करोड रहेको उल्लेख छ । रिपोर्टअनुसार खुद सम्पत्ति एक अर्ब ९० करोड ऋणात्मक छ । १० पुस ०८१ मा केन्द्रीय बैंकको सञ्चालक समितिले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिएको थियो । 

न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेकोलगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको भन्दै ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’ को विनियम ३ बमोजिम ११ मंसिर ०८१ देखि लागू हुने गरी शीघ्र सुधारात्मक कारबाही गरिएको थियो । 

सोही दिनबाट संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको थियो । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहालाई सदस्य तोकिएको थियो । 

बैंक घोटालाविरुद्ध निक्षेपकर्ता आन्दोलित 
बैंकमा जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै निक्षेपकर्ताले सोमबार नेपालगन्जस्थित बैंकको कार्यालय घेराउ गरेका छन् । विगत दुई वर्षदेखि आफ्नो बचत रकम फिर्ता नपाएको गुनासो गर्दै करिब तीन सय निक्षेपकर्ताले बैंक कार्यालय घेराउ गरेका हुन् । आन्दोलनमा बाँके, बर्दिया र दाङका पीडित निक्षेपकर्ताको सहभागिता रहेको थियो । व्यक्तिगत तथा संस्थागत रूपमा रकम जम्मा गरेका धेरै सेवाग्राही लामो समयदेखि रकम फिर्ता नपाएर समस्यामा परेका छन् । रकम फिर्ता नहुँदा धेरै निक्षेपकर्ता आर्थिक तथा मानसिक समस्यामा परेको जुम्लाका लक्ष्मीप्रसाद आचार्यले बताए ।

बैंकको सम्पूर्ण सम्पत्ति बिक्री गर्दा पनि निक्षेपकर्ताको रकम असुलउपर हुन्न : टीकाराम खतिवडा, उपनिर्देशक, नेपाल राष्ट्र बैंक
बैंकको सम्पूर्ण सम्पत्ति बिक्री गर्दा पनि निक्षेपकर्ताको रकम असुलउपर हुन्न । बैंकलाई बन्द गर्नुभन्दा पुनर्संरचना गरेर सञ्चालनमा ल्याउनु उपयुक्त हुन्छ । बैंक बन्द गर्ने हो भने निक्षेपकर्ताको रकम डुब्ने देखिन्छ ।

बरु, यसको पुनर्संरचना गरी सञ्चालन गर्ने उपाय अपनाउनुपर्छ । पाँच लाख जम्मा गरेकाले निक्षेप फिर्ता पाए पनि त्योभन्दा माथिको रकम भएकाहरूले फिर्ता पाउने देखिँदैन ।

सुझावित समाचार