सल्यानमा फेद कटुवा किराको प्रकोप देखिएपछि किसानहरू चिन्तित हुन थालेका छन् । बारीमा लगाएको मकैमा फेद किराले काट्न थालेपछि किसानहरू चिन्तित हुन थालेका हुन्। दार्मा गाउँपालिकाका मलिवाङ, किमटाकुरा, पुखातलगायतका क्षेत्रमा फेद काटुवा किराको प्रकोप देखिएको छ।
फेद काट्ने किराले मकै काटेर खाएपछि बारी नै खाली भएको दार्मा गाउँपालिका– ६ का सन्तोष केसीले बताए। वैशाखमा रोपेको मकै गोड्ने समयमा किराले काटिदिएपछि दोस्रोपटक त्यही बारीमा मकै रोपेको उनकाे भनाइ छ । उनले भने, ‘दुई रोपनीजति क्षेत्रफलमा लगाएको मकैबारी नै खाली भएपछि फेरि रोपेको छु । किराले नकाटेको काड्ने र काटेको ठाउँमा फेरि रोप्दै आइरहेको छु । दिनभर देखिँदैन, राति आएर सबै काटिदिन्छ ।’
दिउँसो राम्रो भएको बिरुवा अर्को दिन बिहान नभेटिने अर्का किसान बलबहादुर वलीले बताए । बोट काटेको वरिपरि खनेर हेर्दा मानाको हिसाबले किरा भेटिने उनले बताए । किराले ओसिलो हुने ठाउँमा भन्दा बढी सुक्खा बारी भएको मकै काटेको उनकाे भनाइ छ ।
माटोमा लुकी रातमा कलिलो बिरुवाको फेद काटेर खाने भएकाले मकै लगाउने समयमा नै विषादी छर्न सके नियन्त्रण गर्न सकिने कृषि विकास कार्यालय सल्यानले जनाएको छ। काटेको बिरुवाको जारनजिक माटो कोट्याएर लाभ्रा खोजी नष्ट गर्ने, एक किलो प्रतिरोपनीका दरले ढुसी मेटाराइजियम एनिसोप्लिएई मकै छर्ने समयमा लाइनमा छर्ने गरे नियन्त्रण गर्न सकिने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए।
यस्तै, बिटिके नामक जैविक विषादी वा मालाथियन पाँच प्रतिशत डिपी दुई ग्राम प्रतिकिलो, गहुँको चोकर मिलाएको चाराप्रति रोपनी आधा किलोका दरले साँझमा प्रयोग गरेर पनि किराको व्यवस्थापन गर्न सकिने उनकाे भनाइ छ ।