यामाहा नेपालले देशभरका डिलरबाट उत्कृष्ट बिक्री तथा सेवा दक्षता भएका प्रतिभालाई एकत्रित गर्दै रिजनल सेल्स स्किल प्रतियोगिताका विजेता घोषणा गरेको छ । यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिअन्तर्गत यामाहा ट्रेनिङ एकेडेमीमार्फत गरिएको प्रतियोगिताले अग्रपंक्तिमा कार्यरत जनशक्तिको सिप अभिवृद्धि, उत्कृष्टताको सम्मान तथा भविष्यका लागि अझ सशक्त सेल्स टिम निर्माण गर्ने उद्देश्य राखेको बताइएको छ ।
बिक्रीतर्फ क्षेत्रीय प्रतिस्पर्धा काठमाडौं, इटहरी, बर्दीबास, भरतपुर र नेपालगन्ज गरी पाँच प्रमुख सहरमा आयोजना गरिएको थियो । त्यसैगरी, सेवातर्फको प्रतियोगिता काठमाडौं, बुटवल, बर्दीबास, इटहरी र नेपालगन्जमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सहभागीहरूको मूल्यांकन उत्पादनसम्बन्धी ज्ञान, प्रतिस्पर्धीबारे जानकारी, अटोमोबाइलका आधारभूत विषय तथा व्यावहारिक बिक्री र सेवा सिपका आधारमा गरिएको थियो ।
प्रतियोगितामा सफल बी एन्ड बी अटो ट्रेडर्स विराटचोकका चूडामणि आचार्य विजेता बनेका छन् । त्यस्तै, भिएडब्लू इन्टरप्राइजेज पोखराका समुन्द्र पंगेनी फर्स्ट रनरअप तथा डी एन्ड डी अटोलिंक सीतापाइलाका अनिश महर्जन सेकेन्ड रनरअप भएका हुन् । उनीहरूलाई कम्पनीले सम्मान गरेको छ ।
त्यसैगरी, सर्भिस स्किल प्रतियोगितामा मोटो क्राफ्ट, गोंगबुका प्रवीण सान्डा विजेता बनेका छन् भने ऋषिक अटोमोबाइल्स कुमारीपाटीका निरोज श्रेष्ठ फर्स्ट रनरअप तथा क्रेसभ कमर्सियल दमकका दिपन सरकार सेकेन्ड रनरअप बनेका छन् । उनीहरूले आफ्ना प्रतिस्पर्धीमाझ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन् ।
सबै विजेताले भैरहवाको परासीस्थित यामाहा फ्याक्ट्री भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । साथै, सर्भिस स्किल प्रतियोगिताका विजेताले विश्वस्तरीय स्किल प्रतियोगितामा सहभागिता जनाउने अवसरसमेत प्राप्त गर्नेछन् ।