रुपन्देहीमा पर्यटन उद्योगको अवसरबारे चर्चा

पर्यटन आर्कषित गर्दै बसाई लम्बाउने कार्यक्रम आवश्यक रहेकोमा जोड

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्व बोकेको रुपन्देहीमा पर्यटन उद्योगमा राम्रो सम्भावना हुँदाहुँदै पनि पर्यटकलाई थप आकर्षित गर्दै बसाइ लम्ब्याउने चुनौतीको सामना गरिरहनुपरेकोमा जोड दिइएको छ। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, ऐतिहासिक जितगढी किल्लासहित अन्य ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक महत्त्वका स्थलहरू यहाँ रहेकाले पर्यटन क्षेत्र फस्टाउन सकिनेमा सरोकारवालाहरूले जोड दिएका हुन्।

रुपन्देहीमा पर्यटकीय गन्तव्यहरू धेरै रहे पनि पर्यटनको आकर्षण बढाउन तथा पर्यटकको बसाइ लम्ब्याउन थप काम गर्नुपर्नेमा जोड दिइएको छ। यसका लागि आवश्यक व्यवस्थापन पक्षमा ध्यान दिनुपर्ने तथा पर्यटकको ध्यान खिच्ने गरी प्रचारप्रसार गर्नुपर्नेमा पनि जोड दिइएको छ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटनको बहुआयामिक गन्तव्यका रूपमा रहेको रुपन्देहीमा पर्यटन क्षेत्रको विकास गर्न एकीकृत नीति, पूर्वाधार विस्तार र निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको औँल्याइएको छ ।
त्यस्तै, पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरी सो क्षेत्रलाई आर्थिक विकासको एक आधार बनाउनका लागि राज्यको नीति र कानुनी जटिलतालाई हटाउनुपर्ने कुरा पनि उठाइएको छ ।

रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा सोमबार बुटवलमा भएको रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती विषयक बृहत् गोष्ठीमा वक्ताहरूले पर्यटक बसाइ लम्ब्याउने गरी प्याकेज योजना र प्रचारमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले रुपन्देहीको आर्थिक विकासमा पर्यटनको सम्भावना राम्रो रहेको चर्चा गर्दै त्यसमा निजी क्षेत्र लाग्न आग्रह गर्दै स्थानीय सरकार त्यसमा सहकार्य गर्दै अगाडि बढ्ने बताए । उपप्रमुख सावित्रादेवी अर्यालले रुपन्देही पर्यटनका लागि आकर्षक जिल्ला रहेको धारणा राख्दै थप व्यवस्थित गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ व्यवस्थापक सुमन घिमिरेले नेपालको पर्यटनको अवस्था तथा लुम्बिनी प्रदेशमा पर्यटनको सम्भावनाबारे चर्चा गरेका थिए। देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले बुद्धसँग सम्बन्धित देवदह क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न विशेष कार्यक्रम आवश्यक रहेको धारणा राखे । लुम्बिनी विश्वविद्यालयका व्यवस्थापन विभागका प्रमुख डाक्टर श्रीप्रसाद भट्टराईले पर्यटनलाई ज्ञान, अनुसन्धान र दक्ष जनशक्ति विकाससँग जोडेर दिगो उद्योगका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

रुपन्देहीको पर्यटन क्षेत्रको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै लेखक युवराज कँडेलले रुपन्देहीमा पर्यटनका क्षेत्र धेरै रहेको चर्चा गरे । उनले सबै क्षेत्रलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्न सकिएमा पर्यटकको बसाइ लम्ब्याउन सकिने पनि बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले रुपन्देहीलाई लुम्बिनीकेन्द्रित पर्यटनको मुख्य प्रवेशद्वार बनाउने लक्ष्यसहित निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए । उनले पूर्वाधार विकास, सहजीकरण र लगानीमैत्री वातावरण बने पर्यटन उद्योगले रोजगारी र आय वृद्धि गर्ने उल्लेख गरे ।

वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले रुपन्देहीको पर्यटन विकासमा थप योगदान पुग्ने गरी कार्यक्रम गरिएको धारणा राखेका छन् । संघका महासचिव सुमन बस्यालले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र र सरकारबिचको सहकार्य अझ मजबुत हुनुपर्नेमा आफूहरूको जोड रहँदै आएको बताए ।  

See More On

सुझावित समाचार