सिटिजन्स बैंक र एपिआई बैंकिङ प्लाटफर्म र्‍यापिडबिच सहकार्य

मंगलबार, १९ जेठ, २०८३
डिजिटल संस्करण

सिटिजन्स बैंक इन्टरनेसनल र एपिआई बैंकिङ प्लाटफर्म र्यापिडबिच सहकार्य भएको छ । यो सहमतिसँगै बैंकका कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न र फन्ड ट्रान्सफर गर्न, इएमआई भुक्तानी गर्न तथा तलब वितरण गर्न फरक–फरक प्लाटफर्म प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछ । 

र्यापिड एपिआई आधारित बैंकिङ प्लाटफर्म हो, जसले बैंकिङ एज ए सर्भिस मोडेलमार्फत बैंक, फिनटेक तथा डिजिटल सेवाप्रदायकलाई जोड्ने काम गर्छ । यो सेवामा सिटिजन्स बैंकको प्रणालीमा पनि एकीकृत गरिएको छ ।

बैंकका ग्राहकले आफ्नै सफ्टवेयर वा इआरपी प्रणालीमार्फत एउटै प्लाटफर्म प्रयोग गरेर विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न सक्नेछन् । प्रयोगकर्ताले कनेक्ट विथ एपिआई बैंकिङ विकल्पमार्फत आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् । यो सहकार्यले बैंकका कर्पोरेट ग्राहकको सेवा प्रवाहमा रूपान्तरण ल्याउनुका साथै वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्ने काम गर्नेछ । साथै, व्यवसायहरूको समय, लागत र सञ्चालनसम्बन्धी झन्झट पनि घट्ने विश्वास बैंकले लिएको छ । 

ग्राहकले सेवा प्रयोग गर्न बैंकमा एकपटक मात्र मोबाइल बैंकिङजस्तै फाराम भर्नुपर्नेछ । त्यसपछि अधिकांश सेवा अनलाइनमार्फत सञ्चालन गर्न सकिने बैंकले जनाएको छ । र्यापिडमा इन्ड–टु–इन्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेसन तथा अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको छ, जसले सबै प्रकारका डिजिटल ट्रान्जेक्सनलाई सुरक्षित बनाउने बैंकले जनाएको छ ।

बैंकले दुई सय शाखा, एक सय ६९ एटिएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ एकाइबाट सेवा प्रदान गर्दै आएको छ ।

सुझावित समाचार