सिद्धार्थ बैंक लिमिटेडले विद्यालय पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १, भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालय भवन उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । ०८० कात्तिक १७ गतेको विनाशकारी भूकम्पले उक्त विद्यालय क्षतिग्रस्त बनेको थियो । विद्यालय भवन पुनर्निर्माण गरी बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले भवनको उद्घाटन गरी विद्यालयका प्रधानाध्यापक हंसबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रसन्न खड्का, लघु, साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदीप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी, सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुनलगायतको उपस्थिति थियो । बैंकका सिइओ बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित नभई भूकम्पपछिको पुनर्स्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षामार्फत समाज रूपान्तरण गर्ने साझा संकल्पको प्रतीक भएको बताए ।
उक्त नवनिर्मित भवनले विद्यार्थीमा सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै नियमित पठनपाठनको निरन्तरता र समग्र शैक्षिक वातावरण सुदृढीकरणमा महŒवपूर्ण योगदान पुर्याउने विश्वास बैंकले लिएको छ । बैंकले दिगो विकास लक्ष्यलाई सधैँ उच्च प्राथमिकतामा राखी समाज विकासमा टेवा पुर्याउने उद्देश्य लिएको छ ।