रामेछाप नगरपालिका– ८, भालुखोपमा रहेको कृषिउपज संकलन केन्द्र व्यवस्थापन समितिको लापरबाहीले बन्द हुँदा किसान मारमा परेका छन् । संकलन केन्द्रको कृषि समितिका पदाधिकारी चासो नदिएपछि समस्या उत्पन्न भएको हो । रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, भालुखोपलगायतका किसानले उत्पादन गरेको तरकारी, फलफूल, गेडागुडी, जुनार, सुन्तलालगायतका कृषिउपज संकलन गर्न भन्दै चार वर्षअघि संकलन केन्द्र निर्माण गरिएको थियो ।
किसानले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन समस्या भएपछि उत्पादित वस्तु एक ठाउँमा जम्मा पार्ने र सवारीसाधनमार्फत बजार केन्द्रसम्म पुर्याउन सहज हुने भन्दै किसानले संकलन केन्द्रको माग गरेका थिए । सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारमार्फत सञ्चालित तत्कालीन गरिबी निवारण कोषमार्फत ६ लाख ९६ हजार, स्थानीय जुनार जुस उद्योग सञ्चालनको २४ लाख ५४ हजार र स्थानीय जनश्रमदान डेढ लाख रुपैयाँ गरी कुल ३३ लाखभन्दा बढीको लागतमा उक्त भवन निर्माण भएको थियो ।
भवन निमार्णपछि केही समयसम्म किसानद्वारा उत्पादित कृषिउपज संकलन केन्द्रमा जम्मा गर्दै आएका थिए । सबै किसानले उत्पादन गरेको कृषि सामग्री संकलन केन्द्रमा जम्मा गर्ने र त्यहीँबाट यातायातका साधनमार्फत पुरानो सदरमुकाम रामेछाप र मन्थली बजारसम्म बिक्रीका लागि लैजान्थे । तर, समितिका पदाधिकारीको बेवास्ताका कारण किसानले कृषिउपज आफैँले बजारसम्म पुर्याउन थालेका छन् ।
भवन निर्माण भएपछि आफूहरूले उत्पादन गरेका वस्तु त्यहाँ संकलन गर्ने र बजारसम्म लैजाने धोको अधुरै रहेको रामेछाप नगरपालिका– ७ का किसान लालबहादुर तामाङले बताए । उनले भने, ‘समितिमा बस्ने पदाधिकारीको लापरबाहीले सामान्य किसानले भवनको सही तरिकाले उपभोग गर्न पाएनन् ।’ कृषिउपज संकलन केन्द्रको भवन अहिले ताल्चा लगाएर राखिएको छ ।