नबिल बैंक लिमिटेड र नागरिक लगानी कोषबिच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका निर्देशक छविरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकका कर्मचारीले मासिक रूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्नेछ भने कोषले व्यक्तिगत खाता तयार गरी अभिलेख राख्नेछ । बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था पनि कोषले गर्ने सहमति भएको छ ।
बैंकका कर्मचारीले कोषमा जम्मा भएको रकमको नियमानुसार ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्नेछन् । बैंकको अवकाश कोष योजनाको व्यक्तिगत खातामा रहेको रकम, ऋण रकम तथा लगानीसहितको विवरण कोषलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
कोषले अवकाश वा सेवानिवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ । त्यसका लागि बैंकले आफ्ना कर्मचारीको विवरण कोषलाई उपलब्ध गराउने, मासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवानिवृत्त कर्मचारीको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्नुपर्नेछ ।
योसँगै आयकर ऐन २०५८ बमोजिम स्वीकृत अवकाश कोषका रूपमा सञ्चालित साबिकका अवकाश कोषहरूमा रहेको बैंकका कर्मचारीको अवकाश, उपदान र अतिरिक्त अवकाश कोषको रकम कोषमा रकमान्तरण गरिने पनि सम्झौतामा उल्लेख छ ।