आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने आशा गरिएको छ । नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले बजेटले नयाँ आशा र विश्वासको आधार तय गरेको जनाएको छ । आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणको दिशामा अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलको पनि सिबिफिनले स्वागत गरेको छ ।
‘विगत केही समयदेखि सुषुप्त अवस्थामा रहेको मुलुकको अर्थतन्त्र एवं आर्थिक गतिविधि, निजी क्षेत्रको कमजोर आत्मविश्वास, लगानीकर्तामा देखिएको ‘पर्ख र हेर’को मनोवृत्ति, बैंकिङ क्षेत्रबाट अपेक्षित कर्जा विस्तार हुन नसकेको अवस्थामा बजेटले अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सिर्जना गरेको सिबिफिनले ठहर गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार कर प्रणालीमा गरिएको सुधार, उद्योग–व्यवसायलाई प्रदान गरिएका सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, प्रविधि एवं पूर्वाधार विकासमा प्राथमिकता सकारात्मक भएको बताएको छ । साथै, ऊर्जा क्षेत्रको विकासमा जोड, लगानीमैत्री नीति–निर्माण तथा वातावरण सिर्जना तथा बैंकको खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिको कुशल व्यवस्थापनका लागि विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना गरिने ऐतिहासिक घोषणा दूरदर्शी एवं समयसापेक्ष कदमका रूपमा लिइएको सिबिफिनले जनाएको छ ।
‘प्रस्तुत बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदार र संवाहकका रूपमा आत्मसात् गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ । व्यक्तिगत आयकरमा छुटको सीमामा वृद्धि, करको दरमा पुनरवलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पुँजी परिचालनका व्यवस्थाले समग्र आर्थिक गतिविधिमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास सिबिफिनको छ । साथै, बजेटले आन्तरिक तथा बाह्य लगानी विस्तार, उद्यमशीलताको विकास, रोजगारी सिर्जना, उत्पादन अभिवृद्धि, निजी क्षेत्रको पुनर्जागरणसहित उच्च आर्थिक आत्मविश्वासतर्फ अर्थतन्त्रलाई अग्रसर गराउने महŒवपूर्ण आधार निर्माण गर्नेमा सिबिफिन विश्वस्त छ ।