साफ महिला फुटबल च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल श्रीलंकासँग खेल्दै

आइतबार, १७ जेठ, २०८३
डिजिटल संस्करण
साफ महिला फुटबल च्याम्पियनसिप : समूह विजेता बन्न नेपाल श्रीलंकासँग खेल्दै

श्रीलंकासँग खेल्नुअघि अभ्यासका दौरान नेपालका खेलाडीद्वय विमला विक (बायाँ) र अनिता केसी । तस्बिर सौजन्य : एन्फा

नेपालले साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा आज श्रीलंकाको सामना गर्दै छ । भारतको गोवामा हुने आफ्नो दोस्रो खेल जिते या बराबरीले मात्रै पनि नेपाल समूह ‘ए’को विजेता बन्नेछ । पहिलो खेलमा नेपालले भुटानलाई १–० ले हराएको थियो । कमजोर भुटानविरुद्ध नेपालका लागि विजयी गोल डिफेन्डर गीता रानाले गरेकी थिइन् ।

दोस्रो खेलमा भने नवीन न्यौपानेले श्रीलंकाविरुद्ध धेरैभन्दा धेरै गोलको आशा गरेका छन् । पहिलो खेलमा रेखा पौडेल, रश्मिकुमारी घिसिङ र मीना देउवाजस्ता प्रतिभावान् युवा फरवार्ड गोलविहीन भएका थिए । जसका कारण उनीहरूको आलोचनासमेत भएको थियो । महिला फुटबलकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी घाइते भएपछि यो साफमा छैनन् । उनी नहुँदा नेपाली टिमको अग्रपंक्ति निकै कमजोर बनेको छ । 

गोलकिपर अन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपालले तीन अंक जोडेको छ । एक खेलबाट तीन अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । भुटानले दुई खेलबाट ३ अंक जोडेर गोलअन्तरमा शीर्ष स्थान उक्लियो । 

अब, नेपालले श्रीलंकालाई जिते या बराबर पनि सिधै समूह विजेता बन्नेछ । यदि हारले भने गोलअन्तरमा पछि पर्न सक्छ । तीनै टिमको समान तीन अंक हुनेछ । यता, समूह ‘बी’बाट एक खेलअघि नै पाँचपटकको च्याम्पियन भारत र दुईपटकको च्याम्पियन बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । आइतबार नै भारत र बंगलादेशबिच खेल हुनेछ । यो खेलपछि समूह ‘बी’को विजेता र उपविजेता पनि टुंगो लाग्नेछ । सेमिफाइनलमा दुवै समूहका समान दुई टिम पुग्नेछन् । 

See More On

सुझावित समाचार