- ५० भन्दा कम विद्यार्थी रहेका आठ हजार सामुदायिक विद्यालय गाभ्ने तयारीमा सरकार लागिरहँदा अघिल्लो शैक्षिक सत्रमा मात्रै १०४ निजी विद्यालय थपिए
विद्यार्थी अभावमा देशभरका आठ हजार सामुदायिक विद्यालय मर्ज गर्ने (गाभ्ने) तयारीमा सरकार लागिरहँदा निजी विद्यालयको संख्या भने बढ्दो दरमा छ । आपसमा गाभ्ने तयारीस्वरूप सरकारले ५० भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सूची माग्दा आठ हजारको सूची शिक्षा मन्त्रालयमा पुगेको छ । तर, निजी विद्यालय भने गत शैक्षिक सत्र ०८२ मा मात्रै १०४ वटा थपिएका हुन् ।
सरकारले गत बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार शैक्षिक सत्र ०८२ सम्म निजी विद्यालयको संख्या आठ हजार ९३१ पुगेको छ । देशभर सरकारी विद्यालय भने २७ हजार २० छन् । सामुदायिक र निजी गरी देशभर ३५ हजार ९५१ विद्यालय छन् ।
यी विद्यालयमा ७० लाख बालबालिका अध्ययनरत रहेको शिक्षा मन्त्रालयको तथ्यांक छ । जसमध्ये सामुदायिकमा ७१.२७ प्रतिशत, निजी विद्यालयमा २४.८७ प्रतिशत र परम्परागत तथा धार्मिक विद्यालयमा ३.८६ प्रतिशत विद्यार्थी छन् । शैक्षिक सत्र ०८१ मा यो दर क्रमशः ७३.० प्रतिशत, २३.० प्रतिशत र ४.० प्रतिशत थियो । दुई वर्षको अन्तर हेर्दा सामुदायिकमा विद्यार्थी घटेको र निजीमा बढेको स्पष्ट देखिन्छ ।
आर्थिक सर्वेक्षणअनुसार ६० प्रतिशत सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी छन् । त्यस्तै, २९३ सामुदायिक विद्यालयमा त पाँचभन्दा कम विद्यार्थी रहेको शिक्षा मन्त्रालयकै तथ्यांक छ । यसले सामुदायिक विद्यालयको अवस्था निकै नाजुक देखाउँछ ।
आर्थिक सर्वेक्षणले बालविकास कक्षामा भर्ना भएका स्कुले बालबालिकामध्ये बालकको संख्या बढी देखाएको छ । प्रारम्भिक बालविकास केन्द्र तथा पूर्वप्राथमिक कक्षामा छात्र र छात्राको अनुपात क्रमशः ५५.१ प्रतिशत र ४४.९ प्रतिशत देखिएको हो ।
त्यस्तै, पछिल्लो समय विद्यार्थी भर्नादरमा वृद्धि भएको छ । सर्वेक्षणअनुसार ०८२ मा आधारभूत तह (कक्षा १–८) को कुल भर्नादर १३६.२ प्रतिशत पुगेको छ । अघिल्लो शैक्षिक सत्र ०८१ मा यस्तो भर्नादर १२४.८ प्रतिशत थियो । त्यस्तै, माध्यमिक तह (कक्षा ९–१२) को कुल भर्नादर पनि वृद्धि भएको छ । शैक्षिक सत्र ०८२ मा यो दर ८५.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । गत वर्ष यस्तो भर्नादर ८०.६ प्रतिशत थियो । तथ्यांकअनुसार आधारभूत तह (कक्षा १–५) मा ०८२ मा कुल भर्नादर १३३.८ प्रतिशत पुगेको छ । यसमध्ये छात्राको भर्नादर १३३.१ प्रतिशत र छात्रको १३४.५ प्रतिशत छ । आधारभूत तह (कक्षा ६–८) मा कुल भर्नादर १०८.९ प्रतिशत छ । छात्राको भर्नादर १०९.६ प्रतिशत तथा छात्रको १०८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
माध्यमिक तह (कक्षा ९–१०) मा कुल भर्नादर १०६.८ प्रतिशत पुगेको छ । यसमध्ये छात्राको भर्नादर ११२.९ प्रतिशत र छात्रको १०१ प्रतिशत छ । कक्षा ११–१२ मा भने कुल भर्नादर ७४.३ प्रतिशत रहेकोमा छात्राको ७०.६ प्रतिशत र छात्रको ७७.९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
रित्तिँदै पहाडी क्षेत्रका सामुदायिक विद्यालय
- धादिङ सिद्धलेकका दुई आधारभूत विद्यालय खड्कदेवी र बाघभैरुङमा पाँच–पाँच विद्यार्थी
- काभ्रेको नमोबुद्ध– ५, कानपुरस्थित महांकाल आधारभूत विद्यालयमा विद्यार्थी भर्ना हुनै आएनन्
- बसाइँसराइले उदयपुरको आम्बोटे विद्यालयमा सात मात्र विद्यार्थी
- सिन्धुपाल्चोक लिसंखुपाखर– १, डाँसेको सरस्वती आधारभूत विद्यालयमा ६ मात्रै बालबालिका
- कैलालीको मोहन्याल– ३, मुलेकाँडास्थित देउधरी आधारभूत विद्यालयमा नौ विद्यार्थी
निजी विद्यालय भटाभट थपिँदै गर्दा सरकारी विद्यालय भने धमाधम बन्द हुने अवस्थामा छन् । ५० भन्दा कम विद्यार्थी भएका विद्यालयको सूची संकलन गरेर एक–आपसमा गाभ्ने प्रक्रियामा सरकार छ । कतिपय विद्यालयमा एउटै विद्यार्थी छैनन् भने कैयौँमा निकै कम मात्र छन् । विद्यार्थी नै रित्तिएका विद्यालयका शिक्षकलाई सम्बन्धित स्थानीय तहले सकेसम्म अन्य विद्यालयमा पठाएर व्यवस्थापन गरिरहेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार पाँचभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालय नै २९३ वटा छन् । पहाडी क्षेत्रबाट तीव्र बसाइँसराइ र सरकारी शिक्षाको खस्किँदो गुणस्तरका कारण सामुदायिक विद्यालय रित्तिने क्रम उत्तिकै तीव्र बनेको हो ।
सिन्धुली बन्दीजोरको श्री प्राविमा चारजना विद्यार्थी
सिन्धुलीको गोलञ्जोर गाउँपालिका– ६, बन्दीजोरस्थित श्री प्राथमिक विद्यालयमा चार विद्यार्थी मात्र छन् । प्रधानाध्यापक अप्सरा भण्डारीका अनुसार बाल कक्षामा एक, दुईमा दुई र तीनमा एक विद्यार्थी भर्ना भएका छन् । तर, यसमा पनि सबै नियमित उपस्थित नहुने उनको भनाइ छ । ‘चार विद्यार्थीले नाम लेखाएका छन्, तर नियमित आउने दुई–तीनजना मात्र हुन्छन्,’ भण्डारीले भनिन्, ‘तीन–चार वर्षअघिसम्म १३–१४ विद्यार्थी हुन्थे, अहिले त विद्यालय नाम मात्रको बनेको छ ।’ कक्षा तीनसम्म पढाइ हुने विद्यालयमा विद्यार्थी घटेपछि गाउँपालिकाले दुई शिक्षक पनि कटौती गरिदिएको छ । विद्यार्थी संख्या न्यून भएपछि अहिले गाउँपालिकाको निजी स्रोतमा कार्यरत एकजना शिक्षक (भण्डारी)लाई मात्र कायम गरेको हो । एकजना कार्यालय सहयोगी छन् । यो विद्यालयलाई पाँच वर्षअघि मात्र पाँचबाट तीन कक्षामा झारिएको हो ।
जहाँ विद्यार्थी नै छैनन्
धादिङको गल्छी गाउँपालिका– १ मा रहेको कालीदेवी आधारभूत विद्यालय र काभ्रेको नमोबुद्ध नगरपालिका– ५, कानपुरमा रहेको महांकाल आधारभूत विद्यालयको नियति एउटै हो । गल्छीमा रहेको कालीदेवी आधारभूत विद्यालयमा गत वर्ष आठजना भर्ना भएको प्रधानाध्यापक सीता शाही ठकुरी बताउँछिन् । ‘विद्यालय समायोजनको हल्लाले यस वर्ष भर्ना भएका तीनजना पनि विद्यालय आएका छैनन् । बालविकास शिक्षिका सीता भुजेल, कार्यालय सहयोगी र म सधैँ विद्यालय आउँछौँ । तर, विद्यार्थी कहिल्यै आउँदैनन् अन्यत्रै पढ्न जान्छन्,’ उनले भनिन्, ‘समायोजनको कुरा भइरहेको छ । अब कालीदेवी आधारभूत विद्यालय छिट्टै समायोजन हुन्छ होला ।’
गल्छी गाउँपालिकाको कालीदेवी आधारभूत विद्यालयमा मात्र होइन, धादिङका धेरै विद्यालयको अवस्था झन्डै उस्तै छन् । सिद्धलेक गाउँपालिका– ३ मा अवस्थित खड्कदेवी आधारभूत विद्यालयमा बालविकासमा दुईजना, कक्षा १ मा दुईजना र कक्षा ३ मा एकजना गरी पाँच विद्यार्थी छन् । एउटै शिक्षकले बहुकक्षा शिक्षण गर्नुपर्ने, अर्को विद्यालय जान पनि करिब तीन घण्टा लाग्नेजस्ता जटिल समस्या तथा चुनौतीको सामना गर्नुपरेको स्थानीय बताउँछन् । सिद्धलेक गाउँपालिका– ५ मा अवस्थित बाघभैरुङ आधारभूत विद्यालयमा पनि बालविकासमा चार र कक्षा दुईमा एकजना गरी पाँच विद्यार्थी छन् । धादिङमा ५१२ वटा सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै गइरहेको शिक्षा विकास तथा समन्वय इकाइ धादिङका शाखा अधिकृत चण्डिका मल्ल ठकुरीले बताइन् । ‘विद्यार्थीको चाप घट्न थालेपछि गत आर्थिक वर्षमा मात्रै ५० भन्दा धेरै सामुदायिक विद्यालय समायोजन गरिएको छ । तर, केही विद्यालय समायोजनपछि विद्यालय जान निकै टाढा हुने हुँदा विद्यार्थी संख्या कम भएर पनि समायोजन गर्न सकिएको छैन,’ उनले भनिन् ।
काभ्रेको महांकाल स्कुल कसरी विद्यार्थीविहीन बन्यो ?
काभ्रेको नमोबुद्ध नगरपालिका– ५, कानपुरमा रहेको महांकाल आधारभूत विद्यालयमा शैक्षिक सत्र ०८३/८४ का लागि हालसम्म एकजना विद्यार्थी पनि भर्ना हुन आएका छैनन् । विद्यार्थी नभए पनि विद्यालयका दुई शिक्षक र एकजना कर्मचारी भने दैनिक रूपमा विद्यालय खोल्ने, दिनभर कुर्ने र समय सकिएपछि घर फर्कने गरिरहेका छन् । गत शैक्षिक सत्रमा यस विद्यालयको बालविकासदेखि कक्षा तीनसम्म प्रतिकक्षा एक–एकजना गरी चारजना विद्यार्थी अध्ययनरत थिए । तर, यस वर्ष ती विद्यार्थी पनि अन्यत्र गएका छन् ।
विद्यालयकी प्रधानाध्यापक सुस्मा तामाङका अनुसार तीन विद्यार्थी अध्ययनका लागि सहर गएका हुन् भने कक्षा तीनमा पढ्ने विद्यार्थी पास भएर अर्को विद्यालयमा कक्षा चार पढ्न गए । ‘विगतका वर्षमा पनि विद्यालयमा ६ जनाभन्दा बढी विद्यार्थी थिएनन् । गाउँका युवा रोजगारीका लागि बिदेसिने र कोही सहर बस्ने भएकाले गाउँमा बालबालिका नै हुन छाडे,’ प्रधानाध्यापक तामाङले भनिन्, ‘अहिले त भर्ना हुन कोही पनि आएका छैनन् । हामी शिक्षक–कर्मचारी आउँछौँ, दिनभर विद्यालय कुर्नुबाहेक केही काम छैन ।’
विद्यालयमा विद्यार्थी संख्या नै नभएपछि नमोबुद्ध नगरपालिकाले शिक्षक–कर्मचारीलाई अन्यत्र खटाउने तयारी गरेको छ । यो विद्यालयमा एक करार शिक्षक, एक बालविकास शिक्षक र एक कार्यालय सहयोगी कार्यरत छन् ।
नमोबुद्ध नगरपालिकाका शिक्षा शाखा प्रमुख राम तामाङका अनुसार महांकाल विद्यालयलाई भविष्यमा आवश्यक परे पुनः सञ्चालन गर्ने गरी हाललाई बन्द गरिएको छ । त्यहाँका शिक्षक र कर्मचारीलाई विद्यार्थी संख्या धेरै भएका अन्य विद्यालयमा खटाउने नगर कार्यपालिकाले निर्णय गरिसकेको उनले बताए । ‘अहिले कुन विद्यालयमा पठाउने भन्ने यकिन भइसकेको छैन,’ शिक्षा शाखा प्रमुख तामाङले भने, ‘आउँदो सोमबार शिक्षा समितिको बैठक बस्दै छ । सोही बैठकबाट निर्णय गरी कर्मचारीलाई पायक पर्ने र शिक्षक तथा बालविकास शिक्षकलाई आवश्यकताअनुसार अन्य विद्यालयमा खटाइनेछ ।’
सिन्धुपाल्चोकको सरस्वती आधारभूत विद्यालयमा ६ विद्यार्थीका लागि दुई शिक्षक, नजिक छैनन् अरू विद्यालय
लिसंखुपाखर गाउँपालिक– १, डाँसेमा रहेको सरस्वती आधारभूत विद्यालयमा ६ बालबालिका मात्रै अध्ययनरत छन् । जहाँ इसिडीदेखि कक्षा तीनसम्म चारवटा कक्षा छन् ।
प्रधानाध्यापक इन्दिरा लामाका अनुसार कक्षा दुई, तीन र इसिडीमा विद्यार्थी छैनन् । ६ जना बालबालिका कक्षा एकमा पढ्छन् । विद्यालयमा प्रअ लामा, अर्का शिक्षक प्रतिमा लामा र एक कार्यालय सहयोगी छन् । तीनैजना महिला हुन् ।
लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामाले उक्त विद्यालय मर्ज गर्न समस्या रहेको बताए । ‘विद्यालय रहेको डाँसे गाउँका साना बालबालिका अर्को विद्यालय धर्मोदय मावि पुग्न कम्तीमा तीन घण्टा लाग्ने भएकाले मर्ज गर्न समस्या भएको हो,’ उनले भने । पालिकाभित्र रहेका २८ विद्यालय घटाएर १८ मा ल्याएको, तर सरस्वती आविलाई गाभ्न नसकिएको उनले सुनाए ।
कैलालीको देउधरी आधारभूत विद्यालयमा नौ विद्यार्थी, एक शिक्षक
कैलालीको मोहन्याल गाउँपालिका– ३, मुलेकाँडामा रहेको देउधरी आधारभूत विद्यालयमा नौजना विद्यार्थी छन् । बालविकासदेखि दुई कक्षासम्म पठनपाठन हुने विद्यालय शिक्षिका नामसरा जैसी एक्लैले चलाइरहेकी छिन् । पहाडी क्षेत्र पर्ने मोहन्यालको विकट बस्तीनजिक यो विद्यालय रहेको छ ।
कक्षा एकमा तीनजना, दुईमा एकजना र बालविकासमा पाँचजना बालबालिका भर्ना भएका छन् । अर्को शिक्षक नभएपछि विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउने गरिएको छ । ‘एक्लैले के गर्नु, विद्यार्थी पनि थोरै छन्,’ जैसीले भनिन्,
‘विद्यार्थी नै कम छन्, त्यसमा पनि प्रायः आउँदैनन् । कहिले एकजना विद्यार्थी पनि नआएर विद्यालय बन्द गर्नुपर्छ ।’
जैसी राहत कोटाकी शिक्षक हुन् । थप एकजना कार्यालय सहयोगी छन् । गाउँनजिक अर्को विद्यालय छैन । स्थानीयका अनुसार मुलेकाँडादेखि एक घण्टाको पैदल दूरीमा रहेको फल्लेबिसौना जान समस्या भएपछि चार वर्षअघि यो विद्यालय स्थापना गरिएको हो । गाउँमा रहेका २७–२८ घरधुरीमध्ये अधिकांश दलित समुदाय छन् ।
स्थानीय कामको खोजीमा भारत जाने र सँगै बालबालिकालाई पनि लैजाने गरेकाले विद्यार्थी संख्या न्यून रहेको शिक्षिका जैसीले बताइन् । गरिबी र अशिक्षाका कारण बालबालिकालाई पढाउनुपर्छ भन्ने सोच अभिभावकमा नरहेको उनले बताइन् । उनका अनुसार गत वर्ष पनि नौजना विद्यार्थी थिए ।
‘म विद्यालय पुगिसकेको हुन्छ, विद्यार्थी आएका हुँदैनन् । अभिभावकलाई सोध्दा उठेको छैन भन्छन्,’ उनले भनिन्, ‘गाउँका सबै बालबालिका भर्ना हुने हो र शिक्षक थप्ने हो भने विद्यालय तीन कक्षासम्म चल्न सक्छ ।’ अहिले बिहान विद्यालय चल्छ । कार्यरत एकजना बालविकास सहजकर्ताको यस वर्ष सरुवा गरिएको उनले बताइन् । यो विद्यालयको दुईकोठे भवन छ ।
मोहन्याल गाउँपालिका– ४, शान्तिपुरमा रहेको जनता आधारभूत विद्यालयमा यसपालि १४ जना विद्यार्थी भर्ना भएका छन् । गत वर्ष त्यहाँ १६ विद्यार्थी थिए । सबै विद्यार्थी आएको दिन एकदेखि तीनसम्मलाई एउटा कक्षामा तथा चार र पाँचलाई अर्को कक्षामा राखेर पढाउने गरेको प्रधानाध्यापक खेम क्षेत्रीले बताए ।
यो विद्यालयमा कक्षा एकमा चार, दुई र तीनमा तीन–तीन तथा चार र पाँचमा दुई–दुईजना विद्यार्थी छन् । ‘विद्यार्थी कम छन् । अलग–अलग राखेर पढाउने स्थिति छैन,’ क्षेत्रीले भने, ‘कहिलेकाहीँ विद्यालय नै खाली हुन्छ ।’ दशकअघि स्थापना भएको यो विद्यालयका दुई भवनमा चार कक्षाकोठा छन् । गाउँबाट बसाइँसराइ गरेर जाने क्रम बढेकाले विद्यार्थी संख्या घट्दै गएको प्रधानाध्यापक क्षेत्रीले बताए । विद्यालयमा उनीसहित दुईजना शिक्षक कार्यरत छन् । मोहन्याल गाउँपालिका कार्यालयका अनुसार गाउँपालिकाभरि ५८ वटा सामुदायिक विद्यालय छन् ।
विकट पहाडी क्षेत्रका धेरैजसो विद्यालयमा विद्यार्थी संख्या कम छ । भौगोलिक रूपमा बस्ती टाढा हुनु तथा एक विद्यालयदेखि अर्को विद्यालयको दूरी पनि टाढा रहेकाले विद्यार्थी कम भए पनि अधिकांश विद्यालय मर्ज गर्ने अवस्था नरहेको गाउँपालिकाको शिक्षा शाखाका अधिकृत कविराज धामीले बताए ।
‘विद्यार्थी संख्या कम छ । कुनै पनि विद्यालयमा दरबन्दीअनुसार शिक्षक छैनन्,’ उनले भने, ‘विद्यार्थीलाई पठनपाठनबाट वञ्चित गराइनुहुन्न भनेर कम विद्यार्थी र जनशक्ति भए पनि विद्यालय चलाइरहेका छौँ ।’ गाउँपालिकाले ४४ जना बालविकास सहजकर्ता र पाँचजना गाउँपालिका शिक्षक नियुक्त गरेको उनले बताए ।
सिन्धुलीमा विदुर पौडेल, धादिङमा अर्जुन श्रेष्ठ, काभ्रेमा इन्द्रबहादुर थापा, उदयपुरमा विदुर कटुवाल, सिन्धुपाल्चोकमा रामकृष्ण थापा र कैलालीमा तेजराज भट्ट