चालू आर्थिक वर्षको फागुन मसान्तसम्म लगानी बोर्ड र उद्योग विभागमार्फत चार खर्ब ९२ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृति भएको छ । बुधबार प्रकाशित आर्थिक सर्वेक्षणका अनुसार उद्योग विभागबाट तीन खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्डबाट एक खर्ब दुई अर्ब २६ करोड लगानी स्वीकृति भएको छ ।
चालू आवको आठ महिनामा उद्योग विभागमा दर्ता भएका उद्योगको संख्या पनि ११.८ प्रतिशतले बढेर ११ हजार एक सय ४० पुगेको छ । यसमध्ये ठुला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १३.९ प्रतिशत, २० प्रतिशत र ६६.१ प्रतिशत रहेको छ । विभागमार्फत ४० अर्ब ७० करोडबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रस्ताव गरिएको छ । यस अवधिमा कुल पाँच सय ५४ उद्योग प्रस्तावसमेत भएका छन् ।
नेपालमा उद्योग खोल्नका लागि प्रस्ताव गर्नेहरूमा चिनियाँ र भारतीय व्यवसायी अगाडि रहेका छन् । वैदेशिक लगानीमा चीनको ४८ प्रतिशत र भारतको १७.९ प्रतिशत हिस्सा रहेको सर्वेक्षणमा उल्लेख छ । त्यसैगरी, १५ हजार तीन सय ६३ नयाँ कम्पनी दर्ता भएका छन् ।
फागुनसम्म वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा एक हजार दुई सय ७८ नयाँ व्यापारिक फर्म दर्ता भएका र दुई सय नौ व्यापारिक फर्म खारेज भएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एक हजार एक सय ४१ नयाँ फर्म दर्ता भएका थिए भने तीन सय ८१ व्यापारिक फर्म खारेज भएका थिए ।
राष्ट्रिय खाद्य सुरक्षा भण्डारमा १९ हजार ६ सय ५२ मेट्रिकटन र सार्क खाद्य सुरक्षा बैंकमा आठ हजार मेट्रिकटन गरी २७ हजार ६ सय ५२ मेट्रिकटन खाद्यान्न मौज्दात रहेको सर्वेक्षणमा उल्लेख छ ।
गत आर्थिक वर्ष ०८१/८२ मा दुर्गम जिल्ला तथा स्थानमा ढुवानी अनुदानमा २९ हजार आठ सय १६ मेट्रिकटन चामल ढुवानी भएकोमा यो वर्ष आठ हजार ६ सय ८१ मेट्रिकटन ढुवानी भइसकेको छ ।
७३ वस्तुलाई गुणस्तर प्रमाण चिह्न प्रदान
गुणस्तर तथा नापतौल विभागले चालू आवको आठ महिनामा ३७ वटा गुणस्तर मापदण्ड स्वीकृति गरेको छ । र, ७३ वस्तुलाई गुणस्तर प्रमाण चिह्न प्रदान गरेको जनाएको छ । चालू आवमा गुणस्तर प्रमाण चिह्न लिएका उद्योगबाट दुई सय २९ वटा नमुना संकलन गरी परीक्षण भएको विभागले जनाएको छ । हालसम्म देशभर तीन सय ७१ उद्योगले गुणस्तर प्रमाण चिह्न लिएर विभिन्न वस्तु उत्पादन गरिरहेको उल्लेख छ ।
पेट्रोलियम पदार्थको खपतमा गिरावट
यो वर्ष पेट्रोलियम पदार्थको खपतमा गिरावट आएको छ । कुल इन्धन खपतमा विद्युत् प्रयोगको हिस्सा बढ्दै गएकाले पेट्रोलियमको खपत घटेको सर्वेक्षणमा उल्लेख छ । गत आवको तुलनामा चालू आवको आठ महिनामा पेट्रोल १० प्रतिशत, डिजेल ९.९ प्रतिशत, मट्टीतेल ४७.७ प्रतिशत, हवाई इन्धन ८.६ प्रतिशत र ग्यास ११.१ प्रतिशतले आयातमा कमी आएको छ ।
त्यस्तै, बिक्रीमा समेत पेट्रोल ६.४ प्रतिशत, डिजेल ८.७ प्रतिशत, मट्टीतेल ६.१ प्रतिशत, हवाई इन्धन ९.३ प्रतिशत र एलपी ग्यास १०.४ प्रतिशतले गिरावट आएको सर्वेक्षणमा उल्लेख छ ।
उद्योग–व्यवसाय र लगानी
- लगानी स्वीकृति : चालू आव ४ खर्ब ९२ अर्ब, गत आव ३ खर्ब १२ अर्ब
- उद्योग दर्ता : चालू आवमा ९ सय २१, गत आवमा ४ सय ३८
- विदेशी लगानी : चालू आव ४० अर्ब ७० करोड, गत आव ४४ अर्ब ६६ करोड
- कम्पनी दर्ता : चालू आव १५ हजार ३ सय ६३ वटा, गत आव १४ हजार १ सय ३० वटा
- व्यापारिक फर्म : दर्ता चालू आव १ हजार २ सय ७८ वटा, गत आव १ हजार १ सय ४१ वटा