महालक्ष्मी विकास बैंकले ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा पाँचौँ संस्करणको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२६ सञ्चालन गर्ने भएको छ । बैंकले १७ देखि २० जेठसम्म चुनिखेलमा लिग सञ्चालन गर्ने भएको छ । लिग उद्घाटन १७ र समापन तथा पुरस्कार वितरण २२ गते हुने बताइएको छ ।
लिगमा बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीका साथै मर्चेन्ट बैंकहरूको सहभागिता रहनेछ । चार दिनमा कुल ४५ खेल सञ्चालन हुनेछन् भने दुई सय ४० खेलाडीको सहभागिता रहनेछ । उक्त लिगमा नौ वाणिज्य बैंक, सात विकास बैंक, तीन वित्त कम्पनी, एक लघुवित्त कम्पनी, तीन बिमा कम्पनी र एक मर्चेन्ट बैंकको सहभागिता रहने बैंकले जनाएको छ ।
मंगलबार आयोजित पूर्वप्रतियोगिता भेटघाट तथा टाइसिट कार्यक्रममा विजेता तथा उपविजेता ट्रफी र टिम जर्सी सार्वजनिक गरिएको छ । सोही कार्यक्रममा टिम कप्तानलाई जर्सीसमेत वितरण गरिएको बताइएको छ ।
लिग कम नकआउट ढाँचामा आयोजना हुने प्रतियोगितामा कुल ४५ वटा खेल खेलिनेछन् । सहभागी २४ टोलीलाई ६ वटा समूहमा विभाजन गरिनेछ, जसबाट समूहको उत्कृष्ट एक टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । खेल १० ओभर प्रतिइनिङ्सको हुनेछ ।
प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, फेयर प्ले अवार्डलगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिताको सम्पूर्ण खेल प्रसारण बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण हुनेछन् ।