देशभर स्थानीय र प्रदेशस्तरका ६८ हजार १ सय किलोमिटर सडक निर्माण

४८,६६५ किमि कच्ची सडक, चालू आवको आठ महिनामा तीन किमि मात्रै कालोपत्रे

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

देशभर निर्माण भएको ६८ हजार १ सय किलोमिटर प्रदेश र स्थानीय तहअन्तर्गतका सडकमध्ये ७१.४६ प्रतिशत कच्ची रहेका छन् । अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालू आव ०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार फागुनसम्म प्रदेश र स्थानीय तहअन्तर्गतका ४८ हजार ६६५ किलोमिटर सडक कच्ची अवस्थामा छन् । तथ्यांकअनुसार ३३ हजार ८४७ प्रादेशिक र ३४ हजार २५३ स्थानीय सडक छन् । त्यसमा ५ हजार ९६ किमि सडक मात्रै पक्की अवस्थामा छन् ।

चालू आवको समीक्षा अवधिमा तीन किमि मात्रै स्थानीय तथा प्रदेशअन्तर्गतका सडक कालोपत्रे भएको देखिन्छ । गत असारसम्म कालोपत्रे सडकको लम्बाइ ५ हजार ९३ किमि थियो । यसैगरी, १४ हजार ३३९ किमि सडक ग्राभेल अवस्थामा छन् । त्यसमा चालू आवको समीक्षा अवधिमा चार किमि सडक मात्रै ग्राभेल भएको छ ।

समीक्षा अवधिमा प्रदेश र स्थानीय तहतर्फ सात किमि सडक मात्रै थप भएको छ । गत आवको असार मसान्तसम्म ६८ हजार ९३ किमि यस्ता सडक थिए । यस्ता सडकमध्ये कालोपत्रे, ग्राभेल र कच्ची सडकको अंश क्रमशः ७.४८ प्रतिशत, २१.०६ प्रतिशत र ७१.४६ प्रतिशत रहेको छ ।

आठ नयाँ पुल सञ्चालन
स्थानीय पूर्वाधारतर्फ समीक्षा अवधिमा आठवटा नयाँ पुल बनेका छन् । असार ०८२ सम्म स्थानीय पूर्वाधारअन्तर्गत ७२२ पुल बनेका थिए । फागुन मसान्तसम्म आउँदा त्यो ७३० पुगेको तथ्यांकमा उल्लेख छ ।

राष्ट्रियतर्फ २० हजार ४५६ किमि सडक कालोपत्रे 
राष्ट्रियतर्फ भने २० हजार ४५६ किमि सडक कालोपत्रे भएको देखिएको छ । हालसम्म राष्ट्रियस्तरमा ३६ हजार ८०६ किमि सडक बनेका छन् । चालू आवको आठ महिनामा भने ४१३ किमि सडक कालोपत्रे भएको छ । गत आवको सोही अवधिमा ३ सय ५५ किमि सडक कालोपत्रे भएको थियो । चालू आवको समीक्षा अवधिमा एक सय दुईवटा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएका छन् । गत आवको यही अवधिमा ४६ वटा पुल बनेको थियो । गत आवभर भने ११८ वटा पुलको निर्माण सम्पन्न भएका थिए । यसपालि आठ महिनामा १०२ वटा पुल बनेको छ ।

राष्ट्रिय गौरवका आयोजनामा कति भए काम ?

मध्यपहाडी : १९ किमि कालोपत्रे 
चालू आवको आठ महिनामा मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा १९ किमि सडक कालोपत्रे भएको छ । योसँगै १८ सय ७९ किमि लामो यस परियोजनामा कालोपत्रे सडक १५ सय २९ किमि पुगेको छ । असार ०८२ सम्म यसमा १५ सय १० किमि सडक कालोपत्रे भएको थियो । परियोजनामा हालसम्म ११४ वटा पुलको निर्माण सम्पन्न भएको छ । अब यस परियोजनामा २३ पुल बन्नुपर्नेछ । यस परियोजनामा कुल १३७ पुल बन्दै छन् ।

हुलाकी लोकमार्ग : २९ किमि कालोपत्रे 
चालू आवको आठ महिनामा १८ सय ५७ किमि लामो हुलाकी लोकमार्गमा २९ किमि सडक कालोपत्रे भएको छ । गत असारसम्म यस परियोजनामा १३ सय ५२ किमि सडक कालोपत्रे भएको थियो । फागुन मसान्तसम्म आउँदा त्यो १३ सय ८१ किमि पुगेको छ । हालसम्म परियोजनाअन्तर्गतका २५० मध्ये १४३ पुलको निर्माण सम्पन्न भएको छ ।

कालीगण्डकी करिडोरमा ३७९ किमि सडक कालोपत्रे
४९५ किमि लामो कालीगण्डकी कोरिडोरको गैँडाकोट–राम्दी–मालढुंगा खण्ड (२९३ किमि)मा हालसम्म २९२ किमि सडक कालोपत्रे भइसकेको छ । यसैगरी ३६ वटा पुलको निर्माण सम्पन्न भइसकेका छन् ।

२०२ किमि लामो मालढुंगा–बेनी–जोमसोम–कोरला खण्डमा भने यो आठ महिनामा ६ किमि सडक कालोपत्रे भएको छ । गत असारसम्म यस खण्डमा ८१ किमि सडक कालोपत्रे भएको थियो । फागुन मसान्तसम्म त्यो ८७ किमि पुगेको छ । हालसम्म यस परियोजनामा १६ वटा पुल निर्माण सम्पन्न भएको छ ।

कर्णाली करिडोर : खुल्यो सबै ट्रयाक
 फागुन मसान्तसम्म २६९ किमि लामो कर्णाली करिडोरको सबै ट्रयाक खुलेका छन् । ‘०८२ असारसम्म २६८.८ किमि ट्रयाक निर्माण भएकोमा चालू आर्थिक वर्षको फागुनसम्म ०.२ किमि थप ट्रयाक निर्माण भई सम्पूर्ण ट्रयाक निर्माण सम्पन्न भएको छ,’ प्रतिवेदनमा भनिएको छ । यस करिडोरअन्तर्गत हालसम्म ४१.५ किमि ग्राभेल सडकको निर्माण सम्पन्न भएको छ । 

कोशी करिडोर : १४ किमि सडक कालोपत्रे 
१६२ किमि लामो कोशी करिडोरमा फागुनसम्म १४ किमि सडक कालोपत्रे भएको छ । यसैगरी, ११ पुल निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । ‘२०८२ असारसम्म च्याम्ताङ–घोङघप्पा सडक खण्डको १०.५१ किमि नयाँ ट्रयाक निर्माण सम्पन्न भएको छ । यस खण्डमा ३.९ किमि सडक ग्राभेलमा स्तरोन्नति गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

मदन भण्डारी : आठ महिनामा ३०.५ किमि सडक कालोपत्रे 
चालू आवको आठ महिनामा ७४० किमि लामो मदन भण्डारी राजमार्गमा ३०.५ किमि सडक कालोपत्रे भएको छ । ‘०८२ असारसम्म ३६५ किलोमिटर सडक कालोपत्रे भएको थियो । चालू आवको फागुनसम्म थप ३०.५ किमि सडक कालोपत्रे भई ३९५.५ किमि पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ । आयोजनाअन्तर्गतका १८५ पुलमध्ये फागुन ०८२ सम्म पुलको निर्माण भएको छ ।

See More On

सुझावित समाचार