आयल निगम १६ अर्ब ८६ करोड सञ्चित नाफामा

बुधबार, १३ जेठ, २०८३
डिजिटल संस्करण

आयल निगम लिमिटेड १६ अर्ब ८६ करोड रुपैयाँ सञ्चित नाफामा रहेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार दिउँसो प्रकाशित गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८३’ अनुसार आर्थिक वर्ष ०८१/८२ सम्म निगम सञ्चित नाफामा रहेको हो । उक्त आर्थिक वर्षमा मात्र निगमले १३ अर्ब ६४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

मध्यपूर्वमा तनाव सुरु भएपछि संस्थागत घाटा कम गर्न आयल निगमले ठुलो अन्तरमा पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । सञ्चित नाफाबाहेक निगमसँग २० अर्ब रुपैयाँभन्दा बढी रकम मूल्य स्थिरीकरण कोषमा जम्मा भएर बसेको थियो । सो कोषमा रहेकोमध्ये करिब आधा रकम निगमले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य वृद्धि नगर्न प्रयोग गरेको दाबी गर्दै आएको छ । यसबाहेक, बोनस कोष, कर्मचारी आवास निर्माणलगायतका शीर्षकमा पनि विभिन्न बैंकमा निगमको नगद मौज्दात छ । 

घाटा थेग्न निरन्तर मूल्य बढाइरहेको आयल निगम चालू आव ०८२/८३ को अन्त्यसम्ममा पनि सञ्चित नाफामा नै रहने प्रक्षेपण गरिएको छ । 
 

सुझावित समाचार