- सम्झौता नवीकरण नभएसम्म राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न क्यानले विश्व विद्यालयको अनुमतिसँगै खेलको मितिसमेत बुझाउनुपर्ने त्रिविका रजिस्ट्रार महानन्द चालिसेले बताए
त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान)सँग छलफल गरी त्रिवि क्रिकेट मैदानको सम्झौता प्रक्रिया अगाडि बढाएको छ । क्यान र विश्वविद्यालयबिचको २५ वर्षे सम्झौता गत वैशाखमा सकिएको थियो । यी दुई निकायबिच सम्झौता नवीकरण हुन सकेको छैन । यद्यपि, क्यानले सम्झौता नभएसम्म राष्ट्रियदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा विश्वविद्यालयको अनुमतिसँगै खेलको मितिसमेत बुझाउनुपर्ने त्रिविले जनाएको छ ।
त्रिविका रजिस्ट्रार महानन्द चालिसेले राष्ट्रिय गौरवमा समावेश भएको त्रिवि मैदानका बारेमा आफूहरू लचिलो भएको नयाँ पत्रिकालाई बताए । ‘यो मैदान सरकारको राष्ट्रिय गौरवमा समावेश छ । सरकारको पनि यसमा करोडौँ लगानी भइसेको छ । हामी एकदम लचिलो भएर अगाडि बढिरहेका छौँ,’ रजिस्ट्रार चालिसेले भने, ‘आगामी दिनमा क्यानले प्रतियोगिता आयोजना गर्नुअगाडि हामीसँग अनुमति लिनुपर्छ । साथसाथै, प्रतियोगिताका सबै खेलतालिका पनि बुझाउनुपर्ने हुन्छ ।’
विश्वविद्यालयमा विद्यार्थीहरूको पठनपाठनमा असर नपर्ने गरी आफूहरू क्यानसँग छलफल गरिरहेको उनले बताए । ‘क्रिकेट खेल हुँदा पठनपाठनमा असर गर्नुभएन । अब क्यानसँग खेलतालिका पनि बुझाउनुपर्छ,’ उनले भने, ‘यसअनुसार हामी पनि तयारी गर्छौँ ।’ यसअघि ४ वैशाखमा त्रिविको सामान्य प्रशासन महाशाखाले जग्गा अतिक्रमण गरी बसेका १८ संघसंस्था र संगठनलाई ३५ दिने सूचना जारी गरेको थियो । जसमा क्यान पनि थियो ।
सार्वजनिक सूचनाबाट जग्गा खाली गर्नु भने पनि क्यानले अहिलेसम्म विश्वविद्यालयसँग सम्पर्क नगरेको रजिस्ट्रार चालिसेले बताए । ‘हामीले उहाँहरूलाई सार्वजनिक सूचनाबाट जानकारी गराइसकेका छौँ, तर क्यान भने अहिलेसम्म हामीहरूसमक्ष आएको छैन,’ उनले भने, ‘साथसाथै पूर्वसम्झौताअनुरूप क्यानले विश्वविद्यालयलाई नौ महिनाको भाडा तिरेको छैन ।’ क्यानका अध्यक्ष चतुरबहादुर चन्द भने आफूलाई आधिकारिक रूपमा विश्वविद्यालयबाट पत्र नआएको दाबी गरेका छन् । ‘विश्वविद्यालयले हामीलाई आधिकारिक रूपमा पत्र पठाएको छैन । पत्र आएपछि मात्र छलफल गरी जवाफ दिने हो,’ चन्दले भने, ‘क्रिकेट हुँदा पठनपाठनमा अप्ठ्यारो भएको उहाँहरूको भनाइ छ । यसलाई कसरी व्यवस्थापन पर्ने भन्ने छलफल हुन बाँकी छ ।’
क्यानसँग लामो सम्झौता नहुने
विश्वविद्यालयले ३५ दिनको सूचना जारी गरे पनि क्रिकेट मैदानको अर्को व्यवस्था नभएसम्म प्रतियोगिता आयोजना गर्न दिने गरी सहमतिको तयारी गरेको थियो । सार्वजनिक सूचना जारी भए पनि क्यानले यो अवधिमा आइसिसी विश्वकप क्रिकेट लिग २ आयोजना गर्यो । नेपालले दुईवटा सिरिजबाट १२ अंक जोड्दै पाँचौँ स्थान रक्षा गरेको थियो । सिरिज सुरु हुनुअघि नेपाल तालिकाको सातौँ स्थानमा थियो । नेपालले युएई र अमेरिकालाई समान दुई खेलमा हराएको थियो । स्कटल्यान्ड र ओमानविरुद्ध नेपालले समान एक जित निकाल्दै विश्वकप लिग २ को अन्तिम घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको थियो । विश्वकप लिग २ बाहेक यसै मैदानमा अब अन्य अन्तर्राष्ट्रिय खेलसँगै नेपाल प्रिमियर लिग हुनेछन् । विश्वविद्यालयले क्यानसँग सम्झौता गरे पनि लामो अवधिका लागि नहुने रजिस्ट्रार चालिसेले बताए ।
‘क्रिकेट मैदानलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । हामी क्यानसँग बसेर छलफल गर्छौँ । तर, योपटक सम्झौता लामो समयका लागि सम्झौता हुँदैन’ उनले भने, ‘छोटो समयका लागि कसरी जाने क्यान प्रतिनिधि बोलाएर कुराकानी गर्छौँ ।’ उनले क्यानलाई त्रिवि मैदानको विकल्प खोज्न आग्रह गरेका छन् । ‘क्यानले अब अर्को वैकल्पिक अन्तर्राष्ट्रिय मैदान खोज्नुपर्ने वेला भएको छ,’ चालिसेले भने, ‘यसबारेमा सम्बन्धित निकाय पनि गम्भीर हुनुपर्छ ।’ क्यानका अध्यक्ष चन्दले सरकारबाट साथ पाउँदा विभिन्न स्थानमा अन्तर्राष्ट्रियस्तरको मैदान हुने बताए ।
राखेपले फिर्ता बोलायो क्यानका प्रवक्ता लामालाई
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले क्यानमा आफ्नोतर्फबाट मनोनयन गरिएका प्रतिनिधि सदस्य तथा प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाएको छ । २९ चैत ०८० मा क्यानको पदेन सदस्यमा पदमा मनोनयन गरी पठाएको थियो । क्यानको विधान २०५५ चौथो संशोधन २०८० सहितको परिच्छेद २ को दफा ३ उपदफा (४)को व्यवस्थाअनुसार नै उनलाई सोमबार फिर्ता बोलाउने निर्णय भएको राखेप संघसंस्था समन्वय शाखा प्रमुख चन्द राईले बताए ।
उनलाई १९ जेठदेखि लागू हुने गरी फिर्ता बोलाइएको हो । राखेपले आफ्ना सदस्य क्यानबाट फिर्ता बोलाएको शिक्षा तथा खेलकुद मन्त्रालय, राखेप सचिवालय, खेलकुद विकास विभाग तथा क्यानलाई समेत जानकारी गराएको छ । क्यानका अध्यक्ष चन्दले राखेपले लामाको स्थानमा अर्कै सदस्य पठाउने बताए । ‘राखेपले उहाँलाई मनोनीत गरेको हो । अब राखेपले नै फिर्ता बोलाएको छ,’ उनले भने, ‘अब खाली रहेको सदस्यमा राखेपले अर्को सदस्य पठाउनेछ ।’