सशस्त्र प्रहरीसँग अन्य सुरक्षा निकायसमेत मिलेर सुनकाेशी नदीमा सिमुलेसन अभ्यास सम्पन्न गरेका छन्। जलउत्पन्न विपतमा उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यास गर्ने प्रणालीलाई सिमुलेसन अभ्यास भनिन्छ। बर्खा लागेसँगै भाेटेकाेशी, सुनकाेशी, ब्रह्मायणी, इन्द्रावती र अन्य सानाखाेलामा जलउत्पन्न विपत् हुने भएकोले सशस्त्रले वर्षात्अघि यस्ताे अभ्यास गरिएकाे हाे ।
प्रत्येक वर्ष जिल्लाका ठुला नदीमा बर्खाभर जलउत्पन्न विभिन्न घटना र विपत् आइलाग्ने गरेकाे छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १६ गण हेडक्वार्टर सिन्धुपाल्चोकको आयोजना तथा अन्य सुरक्षा निकायसमेतकाे सहभागितामा अभ्यास सम्पन्न गरिएको गणका सूचना अधिकारी डिएसपी नवराज नेपालले नयाँ पत्रिकालाई जानकारी दिए ।
अभ्यास बिहान १० देखि १२ बजेसम्म सुकुटेस्थित सुनकोशी नदीमा गरिएको थियाे । इम्प्राेभाइज्ड स्विमिङ एड, र्याफ्ट बाेट, स्ल्यादरिङ, जिपलाइन, र्यापेलिङ/ क्लाइम्बिङ, बाेट फ्लिप एन्ड रे फ्लिप प्रविधि प्रयाेग गरेर खोलाले बगाएका तथा पहाडको खोँचमा अड्किएका व्यक्तिहरूको उद्धारसम्बन्धी अभ्यास गरिएको हाे ।
सिमुलेसन अभ्यास कार्यक्रमलाई सुनकोशी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका विपतसँग सम्बन्धित सरोकारवाला निकायले आवश्यक समन्वय गरेका थिए।जल उत्पन्न विपत् उद्धार घटनासम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रममा भर्खरै सिन्धुपाल्चोक आएका नयाँ प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नेपाली सेना इन्द्रध्वज गणका गणपति अदित श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख काजीकुमार आचार्य, सशस्त्र प्रहरी नं. १६ गणका गणपति हरिनारायण श्रेष्ठ, राष्ट्रिय अनुसन्धान सिन्धुपाल्चोकका उपअनुसन्धान निर्देशक सुवास कार्की र पर्यटन व्यवसायीकाे उपस्थिति थियाे ।
नदीजन्य विपत् जोखिमबाट विगतका वर्षहरूमा घटेका घटनाहरूलाई आधार मानेर आगामी दिनमा अघि बढ्ने प्रण गरिएको छ ।