जापानले सुरु गर्‍यो बिपी राजमार्गको पुनर्निर्माण

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण
जापानले सुरु गर्‍यो बिपी राजमार्गको पुनर्निर्माण

फाइल तस्बिर

असोज ०८१ को बाढीले क्षतिग्रस्त बिपी राजमार्गको पिप्लेदेखि बर्खेखोला खण्डको पुनर्निर्माण कार्य सुरु भएको छ । सोमबार सिन्धुलीमा औपचारिक कार्यक्रमका बिच जापानका राजदूत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीको उपस्थितिमा पुनर्निर्माणको औपचारिक शुभारम्भ गरिएको हो । 

१०–१२ असोज ०८१ को बाढीले बिपी राजमार्गको काभ्रे र सिन्धुलीमा पर्ने साढे ३० किमि सडकखण्ड क्षतिग्रस्त बनाएको थियो । त्यसमध्ये जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा पिप्लेदेखि बर्खेखोलासम्मको ३.२ किमि लामो सडकखण्डको पुनर्निर्माण हुँदै छ । यसमा जापानले दुई अर्ब ८० करोड जापानी येन अनुदान दिने गरी १३ कात्तिकमा द्विपक्षीय सम्झौता गरेको थियो । बाँकी खण्डलाई भने चार प्याकेजमा विभाजन गरेर नेपाल सरकारले नै पुनर्निर्माण गरिरहेको छ । कार्यक्रममा जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले भने, ‘जापानी अनुदान सहायतामार्फत पुनर्निर्माण कार्यको सुरुवात मात्र नभई नेपालको सुरक्षित र लचिलो यातायात पूर्वाधारलाई सुदृढ पार्ने नयाँ प्रतिबद्धतालाई पनि जनाउँछ ।’ 

बिपी राजमार्ग मधेश र कोशी प्रदेशलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो र उपयुक्त सडक हो । एक सय ५९ किमि लामो बिपी राजमार्ग जापानकै २६ अर्ब यान आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो । ०५३/५४ देखि सुरु भएको यसको निर्माण ०७२ सालमा सम्पन्न भएको थियो । नेपाल आफैँले पुनर्निर्माण गर्नुपर्ने चार खण्डको भने यसअघिदेखि नै निर्माणको काम भइरहेको छ । त्यसको प्रगति सन्तोषजनक नै रहेको सडक विभागका अधिकारीहरू बताउँछन् ।

सुझावित समाचार