६३ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, तोकियो पारिश्रमिक

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण
  • सन् २०२५/०२६ सिजनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा क्यानले खेलाडीहरूको वर्गीकरण गर्दै मासिक पारिश्रमिक निर्धारण गरेको छ

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सन् २०२६ का लागि राष्ट्रिय क्रिकेट खेलाडीको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ । क्यानले पुरुष र महिला खेलाडीमा एकैपटक वर्गीकरणसहित पारिश्रमिकसमेत तोकेको हो । जसअनुसार पुरुष ३८ र महिलामा २५ खेलाडी विभिन्न श्रेणीमा विभाजन गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । उनका अनुसार वर्गीकरण भएका खेलाडीहरूको मासिक तलब निर्धारण गरिएको छ ।

पुरुष खेलाडीले एकदिवसीय तथा अन्तर्राष्ट्रिय टी–२० आई खेल्दा प्रतिम्याच फी पनि पाउनेछन् । सिनियर पुरुष टोलीले एकदिवसीय खेल्दा प्रतिदिन १५ हजार र अन्तर्राष्ट्रिय टी–२० आई खेल्ने क्रममा प्रतिम्याच फी १० हजार रुपैयाँ पाउने क्यानले जनाएको छ । महिला टोलीले टी–२० आई खेल्दा प्रतिखेल १० हजार रुपैयाँ पाउने प्रवक्ता लामाले बताए ।

‘योपटक हामीले खेलाडीलाई आकर्षित बनाउन नयाँ ढंगले वर्गीकरणअनुसार पारिश्रमिक तय गरेका छौँ,’ उनले भने । क्यानले खेलाडीलाई वर्गीकरणमा समावेश गर्दा सन् २०२५/०२६ मा घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटको प्रदर्शन अनुसार गरिएको हो । ‘स्तर र प्रदर्शनका आधारमा वर्गीकरण गरी मासिक तलब तोकिएको छ,’ लामाले भने । उनका अनुसार योपटक पुरुषतर्फ ‘ए’ प्लस श्रेणीको नयाँ व्यवस्था गरिएको छ ।

क्यानको ‘ए’ प्लसमा तीनजना खेलाडी मात्र रहेका छन् । एकदिवसीय टोलीका कप्तान रोहिकुमार पौडेल, टी–२० आईका कप्तान दीपेन्द्रसिंह ऐरीसँगै लेग स्पिनर सन्दीप लामिछाने क्यानको नयाँ ‘ए’ प्लस श्रेणीमा छन् । यी खेलाडीहरूले क्यानबाट मासिक एक लाख २० हजार रुपैयाँ पाउनेछन् । सिनियर टोलीका नियमित खेलाडी कुशल भुर्तेल, सोमपाल कामी, करण केसी तथा आसिफ सेख ‘ए’ श्रेणीमा रहेका छन् । उनीहरूले मासिक एक लाख रुपैयाँ पाउनेछन् । क्यानको समूह ‘सी’का अधिकांश खेलाडीहरू नेपालको राष्ट्रिय ‘ए’ टोलीका छन् ।

महिलातर्फ प्रतिमहिना २५ हजार देखि ५५ हजारसम्म
महिलातर्फ भने डेभलपमेन्ट श्रेणी समावेश गरी यसमा समावेश भएका खेलाडीलाई प्रतिमहिना २५ हजार रुपैयाँ प्रदान क्यानले गर्नेछ । पुरुषको तुलनामा महिलातर्फ भने प्रतिमहिना पारिश्रमिक कम छ । खेलाडीहरूलाई चार समूहमा विभाजन गरी मासिक २५ हजारदेखि ५५ हजार रुपैयाँसम्म पारिश्रमिक निर्धारण क्यानले गरेको छ ।

योपटक सम्झौतामा समेटिने खेलाडीको संख्या बढाइएको छ । सबै श्रेणीका खेलाडीको पारिश्रमिक मासिक पाँच हजार रुपैयाँले वृद्धि भएको छ । क्यानले महिलातर्फको समूह ‘ए’मा परेका खेलाडीलाई प्रतिमहिना ५५ हजार रुपैयाँ दिनेछ । यो समूहमा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, पूर्वकप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर रहेका छन् । सिंगापुरमा हुने २०औँ एसियन खेलकुद प्रतियोगिताको छनोट चरणमा सीताले राष्ट्रिय टोलीमा पुनरागमन गरेकी छिन् । महिला सिनियर टोलीका नियमित खेलाडीहरू कविता कुँवर, सम्झना खड्का र मनीषा उपाध्याय ‘बी’ श्रेणीमा रहेका छन् । क्यानले व्यवस्था गरेको डेभलपमेन्ट विधामा राष्ट्रि टोलीबाट खेलिसकेका, घरेलु टोलीमा प्रतिस्पर्धा गरेका, तर सिनियर टोलीमा स्थान बनाउन नसकेका खेलाडीहरूलाई समावेश गरेको छ । 

सुझावित समाचार