इन्डियन प्रिमियर लिग : राजस्थानको जितले पन्जाब र कोलकाता बाहिरिए

राजस्थानले चौथो स्थानमा रहँदै प्लेअफ स्थान सुरक्षित गरेपछि पन्जाब किंग्स र कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिए

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

राजस्थान रोयल्सले १९औँ इन्डियन प्रिमियर लिग (आइपिएल ) २०२६ को प्लेअफमा स्थान बनाएको छ । मुम्बई इन्डियन्समाथि ३० रनको जितसँगै राजस्थानले चौथो स्थानमा रहँदै प्लेअफ स्थान सुरक्षित गरेको हो । राजस्थानको जितले पन्जाब किंग्स र कोलकाता नाइट राइडर्स प्रतियोगिताबाट बाहिरिएका हुन् । 

राजस्थानले १६ अंक जोड्यो । पन्जाब १५ अंकका साथ पाँचौँ स्थानमा रह्यो । पछिल्लो समयमा पन्जाबले खराब प्रदर्शन गरेको थियो । अब प्लेअफमा साबिक विजेता रोयल च्यालेन्जर्स बेंग्लोर, गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद र राजस्थानले प्रतिस्पर्धा गर्नेछन् । 

२६ मेमा पहिलो क्वालिफायरमा अंक तालिकाको शीर्ष दुईमा रहेका बेंग्लोर र गुजरातबिच खेल हुनेछ । यो खेल धर्मशालामा हुनेछ । यस खेलको विजेता ३१ मेमा अहमदाबादमा हुने फाइनलमा प्रवेश गर्नेछ । पहिलो प्लेअफमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि एक अवसर पाउनेछ ।

उसले इलिमिनेटरको विजेतासँग २९ मेमा चण्डीगढमा प्रतिस्पर्धा गर्नेछ । तेस्रो र चौथो स्थानमा रहेका हैदराबाद र राजस्थानबिच २७ मेमा इलिमिनेटर खेल हुनेछ । यस खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । अंक तालिकामा मुम्बई नवौँ स्थानमा रह्यो । लखनउ सुपर जायन्ट्स अन्तिममा रह्यो । दुवैले यस सिजनमा १४ मध्ये चार खेलमा जित निकालेका छन् ।

राजस्थान ३० रनले विजयी
वाँखडे रंगशालामा राजस्थानले पहिलो ब्याटिङ गरी २० ओभरमा आठ विकेटको क्षतिमा २०५ रन बनाएको थियो । प्रत्युत्तरमा मुम्बईले घरेलु मैदानमा २० ओभरमा नौ विकेट गुमाएर १७५ रन बनायो । राजस्थानको जितमा जोफ्रा आर्चरले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ब्याटिङमा १५ बलमा ३० रन बनाए । बलिङमा १७ रन खर्चेर तीन विकेट हात पारेका थिए । मुम्बईको ब्याटिङमा सूर्यकुमार यादवले सर्वाधिक ६० रनको योगदान दिएका थिए । उनले ४२ बलमा चार छक्का र तीन चौका प्रहार गरे । यसैगरी, विल ज्याक्सले १८ बलमा तीन चौका र दुई छक्का प्रहार गरी ३३ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले १५ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ३४ रनको योगदान दिए । 

राजस्थानको बलियो ब्याटिङ
राजस्थानले २०६ रनको लक्ष्य दिँदा कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेलेनन् । तर, उसका सबै ब्याट्सम्यान आक्रामक रूपमा प्रस्तुत भए । ओपनर यशस्वी जैसवालले १७ बलमा २७ रन बनाए । धुु्रव जुरेलले २६ बलमा ३८ तथा दुसान संनाकाले १५ बलमा २९ रन बटुले । पुछारका रवीन्द्र जडेजाले ११ बलमा १९ रनको योगदान दिए । राजस्थानले ३३ रनमा दुई विकेट गुमाएको थियो । आक्रामक ब्याट्सम्यान वैभव सूर्यवंशीले ६ बलमा ४ रन मात्र बनाएका थिए । बलिङमा मुम्बईका लागि दीपक चहरले ४३ रनमा दुई विकेट लिए । सुन्दर ठाकुरले ४१ रनमा दुई विकेट लिए । 

सुझावित समाचार