नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा लगानीसम्बन्धी सेवा विस्तार गरेको छ । लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । नबिल बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबिच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो । समझदारीपत्रमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र नबिल इन्भेस्टमेन्टका सिइओ मनीषनारायण जोशीले हस्ताक्षर गरेका हुन् ।
एउटै प्लाटफर्मबाट सबै वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार एकीकृत लगानी सेवा सुरु भएसँगै नबिल बैंकका ग्राहकले अब ‘सिस्टम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी)मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सक्नेछन् । प्रयोगकर्ताले एनबैंकको होमपेजमा गई ‘इन्भेस्टमेन्ट, एसआइपी, टिएमएस’ आइकनमा क्लिक गरी एसआइपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन् । यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ ।
‘ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैंकको उद्देश्य हो,’ बैंकका नायब प्रमुख बजगाईंले भने, ‘एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौँ ।’
उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैंकको भनाइ छ । विस्तारित सुविधासँगै एनबैंकले आफ्ना डिजिटल सेवालाई निरन्तर सुधार गर्दै सेवाग्राहीलाई एकिकृत प्लाटफर्ममार्फत वित्तीय सेवा थप विस्तार गर्दै लैजाने बैंकले जनाएको छ ।