- विश्व व्यापारमा अफ्रिका महादेशको हिस्सा जम्मा तीन प्रतिशतभन्दा कम छ, यद्यपि यसले विश्वको जनसंख्याको लगभग २० प्रतिशत भाग ओगटेको छ
अफ्रिका महादेश उपनिवेश मुक्त भएको पनि ५० वर्षभन्दा बढी समय भइसकेको छ । तर, अझै पनि पश्चिमी देशले यस महादेशलाई विश्व अर्थतन्त्रको किनाराका रूपमा मात्र हेर्छन् । पश्चिमा देशहरूले अफ्रिकालाई कच्चा पदार्थको स्रोतबाहेक अरू केही मान्दैनन् । यस पुरानो दृष्टिकोणले उच्च मूल्यका उत्पादन उद्योग र एकीकृत आपूर्ति शृंखला विकास गर्ने अफ्रिकाको क्षमतामा बाधा पुर्याइरहेको छ । समग्रमा अमेरिकाको आर्थिक वृद्धि नै प्रभावित भएको छ । फलस्वरूप, अफ्रिका र अन्य क्षेत्रबिचको प्रतिव्यक्ति आयमा खाडल बढ्दै गएको छ । विश्व व्यापारमा यस महादेशको हिस्सा जम्मा ३ प्रतिशतभन्दा कम छ । यद्यपि, अफ्रिकाले विश्वको जनसंख्याको लगभग २० प्रतिशत भाग ओगटेको छ ।
विश्वमा धेरै देशले ‘अति वृद्ध जनसंख्याको (६५ वर्ष र सोभन्दा माथिका जनसंख्या २० प्रतिशत बढि)’को सीमा पार गर्दै जाँदा अन्तर्राष्ट्रिय समुदायले अफ्रिकालाई सहायक र परिधीय भूमिकामा सीमित गर्न रोक्नुपर्छ । विश्व अर्थतन्त्रलाई मागका नयाँ चालकको खाँचो पर्छ र अफ्रिका त्यो आवश्यकता पूरा गर्न विशिष्ट रूपमा उपयुक्त छ । वास्तवमा, अफ्रिकाको जनसांख्यिकीय गतिशीलता, पूर्वाधारमाथि विशाल लगानी आवश्यकताले गर्दा आगामी वर्षमा विश्वव्यापी व्यापार र लगानीमा यसले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।
अफ्रिकाको जनसांख्यिकीय वृद्धि कुनै अन्य भागसँग तुलना हुँदैन । यसको जनसंख्या सन् २०५० सम्ममा २.५ अर्ब पुग्ने अपेक्षा गरिएको छ । नाइजेरियाले त्यस समयसम्म अमेरिकालाई उछिनेर विश्वको तेस्रो सबैभन्दा बढी जनसंख्या भएको देश हुने अनुमान गरिएको छ । ऊभन्दा अगाडि भारत र चीन मात्र हुनेछन् । अझ यो शताब्दीको अन्त्यसम्ममा, विश्वको जनसंख्याको लगभग ४० प्रतिशत हिस्सा अफ्रिकी हुने तथ्यांकले देखाउँछ ।
अझ महत्वपूर्ण कुरा, विश्वमा काम गर्ने उमेर समूहमा हुने खुद वृद्धिमा अफ्रिकाको मुख्य योगदान हुनेछ । जबकि अन्य भेगका देशहरूले घट्दो श्रमशक्तिका कारण परनिर्भर जनसंख्याको भार सामना गर्नुपर्ने अवस्था आइरहेको छ । हालैका तथ्यांककाम अनुसार १ प्रतिशतको विश्वव्यापी औसतभन्दा बढी जनसंख्या वृद्धि भएका अर्थतन्त्रहरूले औसतमा ३.१% को वास्तविक कुल ग्राहस्थ उत्पादन (जिडिपी) वृद्धिदर अनुभव गर्दा नकारात्मक जनसंख्या वृद्धिदर भएका देशले आफ्नो जिडिपीमा केवल १.४% वृद्धि हासिल गरेका छन् । अफ्रिकी जिडिपी पहिले नै विश्वको औसतभन्दा बढिले वृद्धि भएरहेको छ । प्रायः दीर्घकालीन प्रक्षेपणले महादेशको बलियो जनसांख्यिकीय बनोटले गर्दा यसले विश्वव्यापी अर्थतन्त्रलाई शक्ति प्रदान गर्न मद्दत गर्ने संकेत गर्छ ।
कुनै देशको आर्थिक वृद्धिलाई पुँजी, श्रम र प्रविधिको उत्तम मिश्रण आवश्यक पर्छ । तथापि, रोजगारी सिर्जना र उपभोक्ता खर्चको निरन्तर वृद्धिबिचको सुदृढीकरण अन्तर्क्रिया यसमा महत्वपूर्ण हुन्छ । ऐतिहासिक रूपमा, जनसांख्यिकीय शक्तिले मानवपुँजी विकासलाई समर्थन गरेको छ । यसले घरेलु मागको विस्तारलाई दिगो बनाउँछ । यस सन्दर्भमा, अफ्रिकाको युवाशक्ति श्रम आपूर्ति तथा माग सिर्जना गर्ने दुवै सन्दर्भमा एक महत्वपूर्ण सम्पत्ति हो ।
सम्पन्न देशहरूमा अहिले जनसंख्या वृद्धि स्थिर हुनथालेकाले उपभोग्य वस्तुको मागको वृद्धि सुस्त हुँदा अफ्रिकामा यसमा निरन्तर विस्तार भइरहेको छ । किनकि द्रुत सहरीकरणले नयाँ उपभोक्ता बजार खडा गर्दछ र आम्दानी बिस्तारै बढ्छ । सन् २०५० सम्ममा, करोडौँ अफ्रिकी मध्यमवर्गमा सामेल हुने प्रक्षेपण छ, र महादेशमा उपभोक्ता तथा व्यावसायिक खर्च १६.१ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान छ । यसले उपभोग्य सामान र सेवाको महत्वपूर्ण माग सिर्जना गर्दछ ।
अफ्रिकाले परिवर्तनको प्रचुर सम्भावना बोकेको छ । विश्वको सबैभन्दा कम स्तरको औद्योगीकरण भएको यस महादेशले विश्वव्यापी उत्पादनमा दुई प्रतिशतभन्दा थोरै योगदान पुर्याउँछ । यस्तोमा अफ्रिकामा उत्पादकत्व वृद्धिमा ठुलो काम गर्न सकिन्छ । ‘बक्साइट’ नामक खनिज यसको उदाहरण हो । खानीबाट बाहिर निकाल्दा ८७४ अर्ब डलरको यो धानु एलुमिनामा परिष्कृत गरिएपछि ५.२ ट्रिलियन डलर मूल्यको हुन्छ । अझ एलुमिनालाई एल्युमिनियममा पगालेपछि यसको मूल्य १५.४ ट्रिलियन अमेरिकी डलरमाथि पुग्छ । यसरी कच्चा पदार्थलाई उच्च मुल्यमा वृद्धि गर्न सकिन्छ । यसका लागि महादेशले आफ्ना कच्चा पदार्थ निर्यात गर्नुको सट्टा प्रशोधनमा ध्यान दिनुपर्छ । यसले विशाल आर्थिक अवसर प्रदान गर्दछ ।
यो अवसरको सदुपयोग गर्नका लागि अफ्रिकाको पूर्वाधार घाटालाई सम्बोधन गर्नुपर्छ । पूर्वाधारमा खर्च वृद्धि, विशेष गरी निर्माण, खानी, निर्माण र सेवा क्षेत्रमा गरिने लगानीले दीर्घकालीन उत्पादकत्व लाभको चरण तय गर्नेछ । यसले विश्वव्यापी अर्थतन्त्रमै ठुलो सकारात्मक प्रभाव पार्नेछ । पूर्वाधार, मानवपुँजी विकास तथा नीतिगत सुधारमा गरिने पर्याप्त वित्तपोषणमार्फत अफ्रिकाले औद्योगीकरण छलाङ मार्न सक्छ र यसको जनसंख्या वृद्धिलाई दिगो आर्थिक गतिशीलतामा रूपान्तरण गर्न सक्छ । र, कालान्तरमा विश्व अर्थतन्त्रको लागि एक शक्तिशाली जनसांख्यिकीय लाभांश सिर्जना गर्न सक्छ ।
अफ्रिकी महादेशीय खुला व्यापार क्षेत्रको कार्यान्वयन यो संरचनात्मक रूपान्तरणलाई उत्प्रेरित गर्ने दिशामा एक प्रमुख कदम हुनेछ । किनभने अधिक एकीकृत बजारले लागत लाभलाई बढावा दिन्छ र औद्योगिक वृद्धिलाई प्रोत्साहन गर्छ । उत्पादित सामानहरू पहिले अफ्रिकी महादेशीय खुला व्यापार क्षेत्रमा खपत गरिनेछ । सामान अफ्रिकाभित्र प्रतिस्पर्धी हुँदै गएपछि तिनलाई विश्वव्यापी बजारहरूमा विस्तार गर्न सकिन्छ ।
द्रुतगतिमा बढ्दो जनसंख्या, उपयोगमा आउन नसकेको विशाल उपभोक्ता बजार र त्यस्तै बेवास्तामा परेको औद्योगीकरण क्षमता तथा विशाल स्रोतलाई ध्यान दिँदा विश्वको भावी आर्थिक वृद्धि अफ्रिकाको हातमा छ । सम्पन्न अर्थतन्त्रले संरचनात्मक समस्याको सामना गर्दा, अफ्रिका परिवर्तनकारी वृद्धिको ठुलो सम्भावना बोकेर बसेको छ । यदि अफ्रिकी देशहरूले २१औँ शताब्दीको विश्वव्यापी आर्थिक विस्तारको स्तम्भ बनाउने हो भने सबैभन्दा पहिले यस्तो विस्तारलाई सघाउने प्रभावकारी नीति आवश्यक पर्छ । अफ्रिकाको सम्भावनालाई साकार पारिएन भने, बुढो हुँदै गएको बाँकी संसारले समृद्धिलाई जोगाइराख्न संघर्ष गर्नेछ । त्यसैले, अफ्रिकाको सफलता अब यस भेगको मात्र मुद्दा होइन, बरु विश्वव्यापी अनिवार्यता बनेको छ ।
– प्रोजेक्ट सिन्डिकेटबाट
‘अफ्रिकन एक्सपोर्ट–इम्पोर्ट बैंक’का पूर्वप्रमुख अर्थशास्त्री फोफ्याक कोलम्बिया विश्वविद्यालयअन्तर्गतको ‘दिगो विकास समाधान सञ्जाल’का फेलो हुन् ।