- समुद्रको पिँध भूराजनीतिक प्रतिस्पर्धाको क्षेत्र बन्दा यसको परिणामले लामो समय विश्वको स्थिरतालाई असर पार्न सक्छ
गत साता इरानी सरकारी मिडियाले ‘स्ट्रेट अफ हर्मुज’ क्षेत्रको समुद्रमुनि रहेको इन्टरनेट केबलका सञ्चालकसँग आफ्नो तटनजिकको क्षेत्र प्रयोग गरेकामा तेहरानले शुल्क उठाउन लागेको समाचार प्रसारण गर्यो । यो समाचार प्रसारण हुनु केही दिनअघि मात्र इरानले ‘स्ट्रेट अफ हर्मुज’को पिँधमा रहेका इन्टरनेट केबल आफ्नो पहुँचभन्दा टाढा नरहेको चेतावनी दिएको थियो ।
धेरै मानिसले इन्टरनेटलाई ‘भर्चुअल क्लाउड’का रूपमा सोच्ने गर्छन्, तर यसको भौतिक आधार भने समुद्रको पिँधमा रहेको थोरैलाई मात्र थाहा होला । अहिले विश्वको समुद्री पिँधमा बिच्छ्याइएका ५०० भन्दा बढी केबल (तार)को सञ्जालले अन्तर्राष्ट्रिय डेटा ट्राफिकको ९५ प्रतिशतभन्दा बढी हिस्सा बोक्छन् ।
समुद्रमुनि बिच्छ्याइएका इन्टरनेट–केबल मध्यपूर्वका समुद्रका पिँध हुँदै अघि बढ्छन् । त्यस भेगका साँघुरो समुद्रीमार्गले जहाजका लागि मात्र होइन, ‘डिजिटल चोकपोइन्ट’को समेत काम गर्छन् । यी समुद्री इन्टरनेट कोरिडोरले युरोप, एसिया र अफ्रिकाका प्रमुख आर्थिक केन्द्रलाई जोड्छन् । सन् २०२४ मा लालसागर क्षेत्रको समुद्रमुनिको केबलमा क्षति पुग्दा युरोप र एसियाबिचको इन्टरनेट ट्राफिकको कुल २५ प्रतिशत हिस्सा प्रभावित बनेको थियो ।
विगतमा रणनीतिक पूर्वाधारअन्तर्गत तेलका पाइपलाइन, बन्दरगाह वा पावर ग्रिड पर्थे । तर, पछिल्लो समय डेटा (तथ्याकंसम्बन्धी) पूर्वाधार पनि राष्ट्रिय तथा आर्थिक सुरक्षाका लागि उत्तिकै महत्वपूर्ण बनेको छ । समुद्री पिँधमा बिच्छाइएका इन्टरनेट केबलको सुरक्षामाथिको मुख्य चुनौती यी पूर्वाधार एकै क्षेत्र हुँदै अघि बढ्ने भएकाले निम्तिएको हो । अधिकांश इन्टरनेट केबललाई समुद्रमुनिको एउटै मार्गमार्फत बन्डल–बन्डलका रूपमा लगिएको हुन्छ । साथै, तिनलाई प्रायः साँघुरो समुद्री चोकपोइन्ट लगिन्छ । यसले निसाना बनाउन चाहनेलाई सहजता प्रदान गर्छ । यही एकै क्षेत्रमा रहने भएकाले जानाजानी वा आकस्मिक रूपमा जुन रूपमा इन्टरनेट केबल काटिए पनि यसले एकैसाथ धेरै क्षेत्रको कनेक्टिभिटी टुट्छ ।
इन्टरनेट केबलमा समय–समयमा क्षति पुगिरहेको हुन्छ । तथापि, यसको मर्मतकार्य भने जटिल हुन्छ । विशेष गरी विवादित वा सैन्यीकृत समुद्री भागमा रहेको केबल मर्मतमा विशेष समस्या आउँछ । मर्मत गर्न प्रयोग हुने जहाजलाई सुरक्षित पहुँच दिलाउनकै लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक पर्छ ।
समुद्री पिँध रहेका इन्टरनेट केबलमा क्षति पुग्दा त्यसले गम्भीर परिणाम निम्त्याउन सक्छ । पहिलो, तत्कालीन प्रभाव विश्वव्यापी इन्टरनेट कनेक्टिभिटी खण्डीकरणका रूपमा देखापर्छ । संसारका जुनसुकै कुनामा जतिखेरै कुराकानी गर्न सकिने अहिलेको हाम्रो क्षमता पहिलो सिकार हुन्छ । प्रभावित केबलबाट इन्टरनेट सेवा पुगेको क्षेत्रमा सेवा सुस्त वा पूर्ण अवरुद्ध हुन सक्छ । (न्यून ‘ब्याकअप’ पूर्वाधार भएका देशहरू, जसमा विशेष गरी अफ्रिका, मध्यपूर्व र दक्षिण एसियाका देश सबैभन्दा बढी प्रभावित हुनेछन् ।) यसको असर वित्तीय क्षेत्रमा पनि पर्छ । विश्वव्यापी सेयरबजारको लेनदेन, भुक्तानी सञ्जालदेखि अन्तर्राष्ट्रिय बैंकिङ लेनदेनलाई अहिलेको द्रुत तथा भरपर्दो डेटाप्रवाहले सम्भव बनाएको हो । इन्टरनेटविना यिनमा धक्का लाग्नेछ ।
छोटो अवधिको अवरोधले समेत सेयर बजारमा द्रुत उतारचढाव हुनेदेखि लेनदेनमा ढिलाइ हुनेलगायत अवस्था आई लगानीकर्तामा अनिश्चितता निम्त्याउन सक्छ । विश्वव्यापी अर्थतन्त्रको धेरै मात्रामा अन्तरसम्बन्धित भएकाले एउटा क्षेत्रमा आउने डिजिटल अस्थिरताले द्रुत रूपमा अन्य भागमा पनि वित्तीय झट्का निम्त्याउन सक्छ । यदि इन्टरनेट केबलको अवरोध स्ट्रेट अफ हर्मुज वा स्वेज नहरजस्ता महत्वपूर्ण समुद्री व्यापारमार्गमा द्वन्द्व वा अस्थिरता सँगसँगै आयो भने बिमाबजार, ढुवानी उद्योग र ऊर्जा आपूर्ति शृंखलामा पनि अनिश्चितता आउँछ ।
इन्टरनेट केबलमा आउने अवरोधको सैन्य र रणनीतिक परिणाम अझ गम्भीर साबित हुन सक्छन् । सशस्त्र सेनाका लागि लामो दूरीको सुरक्षित सञ्चार तथा वास्तविक–समयमा हुने समन्वयले धेरै महत्व राख्छ । पछिल्लो समय कमान्ड–एन्ड–कन्ट्रोल प्रणालीदेखि ड्रोन सञ्चालन र रसदको योजनासम्म समुद्रमुनिका केबलमाथि निर्भर छ । यी नेटवर्कमा पुग्ने क्षतिले सेनालाई कम प्रभावकारी बनाउनेछ । मित्रशक्तिसँगको समन्वय कठिन बन्छ र निर्णयमा गलत गणनाको खतरा बढ्छ ।
इन्टरनेट केबलमाथिको आक्रमणलाई अन्य सैन्य लक्ष्यमा गरिने प्रत्यक्ष आक्रमणका रूपमा हेरिँदैन । फेरि क्षति कसले पुर्यायो भनेर पत्ता लगाउन पनि गाह्रो पर्छ । हुन त बाल्टिक सागर क्षेत्रका इन्टरनेट केबलमा भएका क्षतिका लागि प्रायः रुसको हात रहेको मानिन्छ, तथापि, ऊविरुद्ध कुनै स्पष्ट कानुनी कदम चाल्न सकिँदैन । यस्तो कानुनी अस्पष्टताले कालान्तरमा द्वन्द्व बढाउने जोखिम सिर्जना गर्छ । विशेषतः अवरोध आकस्मिक थियो या आपराधिक या युद्ध कदम भन्ने निर्धारण गर्न नसक्ने अवस्थामा तनाव उच्च रहँदा यस्तो अवस्था आउँछ ।
अमेरिका–इरान द्वन्द्वले पहिले नै बनाइसक्नुपर्ने समुद्रमुनिका नयाँ इन्टरनेट केबल निर्माणमा ढिलाइ भइसकेको छ । यसले एक बृहत्तर वास्तविकतालाई उजागर गरिदिएको छ ः डिजिटल भनिने संसारको जग वास्तविक संसारमा बनेको छ र त्यो अभेद्य छैन ।
इन्टरनेट केबलमा जानाजान गरिने क्षतिको असर सानो क्षेत्रमा सीमित रहँदैन । यसले विश्वव्यापी सञ्चार, अर्थतन्त्र र सुरक्षा प्रणालीलाई प्रभावित बनाउँछ । समुद्रको पिँधमा भूराजनीतिक प्रतिस्पर्धाको क्षेत्र बन्दा यसको परिणामले लामो समय विश्वको स्थिरतालाई असर पार्न सक्छ ।
द कन्भरसेसनबाट
(जोन्स आरएमआइटी विश्वविद्यालयकी ‘ओसिनिया साइबर सेक्युरिटी सेन्टर’का अनुसन्धाता हुन्)