- एन्फामाथिको निलम्बन फुकुवा नगरिए नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनीपछि राखेप विनासर्त आफ्नो पूर्वनिर्णयबाट पछि हट्यो
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)माथिको निलम्बन फुकुवा गरेको छ । ‘अर्ली इलेक्सन’बाट पछि नहटेपछि गत ११ चैतमा राखेपले एन्फालाई तीन महिना समयका लागि निलम्बन गरेको थियो । यद्यपि, राखेपले आफ्नो निर्णय दुई महिना पनि टिकाउन सकेन ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेप सदस्यसचिव रामचरित्र मेहता र एन्फा महासचिव किरण राईसहित शुक्रबार छलफल भएको थियो । त्यसपछि राखेप एन्फामाथि लगाइएको निलम्बन फुकुवा गर्न तयार भएको हो । राखेपका सदस्यसचिव मेहताले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको सहभागिता नरोकियोस् भनी एन्फाको निलम्बन फुकुवा गरेको बताए ।
‘एन्फा ऐन र नीतिअनुसार चल्नुपर्छ । तत्काललाई नेपालको अन्तर्राष्ट्रिय खेल नरोकियोस् भनेर पनि निलम्बन फुकुवा गरिएको हो,’ मेहताले भने, ‘यसले नेपाली फुटबलको हित हुने विश्वास छ ।’ एन्फाका प्रवक्ता सुरेश शाहले नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्यका लागि विनासर्त फुकुवा भएको बताए । ‘अहिले फुटबलमा देखिरहेका गतिरोध अन्त्य गर्दै विनासर्त एन्फामाथिको प्रतिबन्ध फुकुवा भएको छ,’ शाहले भने, ‘यो अत्यन्त सराहनीय र ऐतिहासिक निर्णय हो ।’
यसअघि राखेपले पटक–पटक एन्फालाई जिल्ला र प्रदेशपछि मात्र केन्द्रको निर्वाचन गर्न भनेको थियो । तर, एन्फाले यी दुवै तह छाडेर सिधै केन्द्रको निर्वाचन गर्ने प्रयास गर्दा राखेपले ११ चैत ०८२ देखि लागू हुने गरी एन्फालाई निलम्बन गरेको थियो । एन्फाले झापामा १३ चैतमा निर्वाचनको अन्तिम तयारी गरिरहँदा पंकजविक्रम नेम्वाङ नेतृत्व सकिन पाँच महिना बाँकी थियो । नेम्वाङले एन्फाभित्र असन्तुष्ट पक्षसँग छलफल नगरी निर्वाचनको मिति तोकेका थिए । यो अवधिमा एन्फाको तीनपटक निर्वाचन स्थगित भएको थियो ।
फुकुवा नै पहिलो प्रस्ताव
गत वैशाखमा राखेपका सदस्यसचिव मेहताले फुटबलको गतिरोध अन्त्य गर्न फिफा र एएफसीका पदाधिकारीसँग प्रत्यक्ष रूपमा वार्ता गर्ने भनेका थिए । गत अप्रिलमा फिफा, एएफसी, राखेप र एन्फाबिच भर्चुअल वार्ता भएको थियो । त्यसवेला फिफा र एएफसीले संयुक्त रूपमा एन्फामाथि हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेप बताएका थिए । तेस्रो पक्ष हस्तक्षेप हुँदा आफूहरू फुटबल संघलाई अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन सक्ने उनीहरूले चेतावनी दिए ।
गत वैशाखमा मेहताले पुनः एकपटक फिफा र एएफसीलाई पत्र लेख्दै आफूहरू प्रत्यक्ष वार्ताको माध्यमबाट एन्फा विवाद सल्टाउन तयार भएको जनाए । राखेपले एन्फाको माध्यमबाट फिफा र एएफसीलाई सो पत्र पठाएका थिए । तर, एन्फाले भने पहिला फुकुवा हुनुपर्ने र त्यसपछि मात्र फिफा र एएफसीसँग वार्ता हुने अडान लिइरह्यो । एन्फाको यसै अडानमा राखेपले घुँडा टेकेको देखिन्छ ।
चित्लाङ एफसीका अध्यक्ष सुगन तन्डुकार राखेपले विनासर्त एन्फामाथिको प्रतिबन्ध खुलाएकोमा आश्चर्य देखाए । ‘राखेपले के उद्देश्यले प्रतिबन्ध गर्यो र अहिले विनासर्त प्रतिबन्ध फुकुवा गरेको छ,’ तन्डुकारले भने, ‘अब चुनाव वा फुटबल हुन्छ ।’
फिफाद्वारा प्रतिबन्धको चेतावनी
फिफामा दुई सयमाथि फुटबल संघ आबद्ध छन् । उसले आफ्नो मातहतमा रहेका सबै फुटबल संघलाई स्वतन्त्र रूपमा चल्नुपर्ने बताउँदै आएको छ । राज्य वा अन्य कुनै पनि पक्षका हस्तक्षेपलाई फिफाले स्वीकार गर्दैन । फिफाले यस्तो किसिमलाई तेस्रो पक्षको हस्तक्षेपका रूपमा लिने गरेको छ । गत अप्रिलमा भएको वार्ताकै क्रममा फिफाले राखेपलाई चेतावनी दिँदै तेस्रो पक्षको हस्तक्षेप भनेको थियो । त्यसवेला उसले राखेपलाई निर्णय सच्याउन एक साताको अल्टिमेटम दिएको थियो । यो अवधिमा राखेपले फिफा र एएफसीसँग वार्ताका लागि निकै प्रयास गरेको थियो ।
वार्ताकै क्रममा रहँदा फिफाले राखेपलाई पुनः एकपटक मौका दिएको थियो । गत वैशाखमै फिफाले एन्फा र राखेपलाई समन्वय गरेर निलम्बन फुकुवा गर्न सुझाव दिएको थियो । त्यसपछि मात्रै दुवै पक्ष मिल्न तयार भएका हुन् । एन्फा नेतृत्व जिल्लादेखि तहगत निर्वाचन गर्न तयार भएपछि निलम्बन फुकुवा भएको राखेप स्रोतले बतायो । यसअघि राखेपले तहगत निर्वाचनसहित एन्फा विधानको ११ बुँदा संशोधन गरेपछि मात्रै निलम्बन फुकुवा गर्ने जनाएको थियो ।
दुई महिना अन्तर्राष्ट्रिय खेलविहीन
राखेपले एन्फामाथि प्रतिबन्ध लगाउँदा लगभग दुई महिना अन्तर्राष्ट्रिय फुटबलविहीन नै भयो । एन्फाले प्रतिबन्धपछि प्रशासनिक काम गर्न असहज भएको जनाउँदै थाइल्यान्डमा फिफाको आयोजनामा भएको फिफा सिरिजमा नेपाली राष्ट्रिय महिला फुटबल टोली सहभागी हुनबाटै वञ्चित भयो । ‘प्रतिबन्धको बिचमा प्रशासनिक काम गर्न असहज भएको हुँदा नेपालले फिफा सिरिज नखेल्ने घोषणा गरेको छ,’ तत्काल फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । यसैगरी, पुरुष टोलीले हङकङसँग गत चैतमै भएको मैत्रीपूर्ण खेलसमेत खेलेन ।
एन्फाले यसपटक पनि राखेपलाई नै दोष देखाउँदै घरेलु मैदान दशरथ रंगशालामा हुने हङकङसँगको मैत्रीपूर्ण खेल नखेल्ने घोषणा गरेको थियो । यो अवधिमा एन्फाले पुरुषतर्फको राष्ट्रिय लिग अनिश्चितकालका लागि स्थगित गरेको थियो । एन्फाले पहिलोपटक आयोजना गरेको महिलातर्फको सहिद स्मारक ‘ए’ डिभिजन लिग सुरु भएको भोलिपल्ट नै रोक्यो । यद्यपि, एन्फा प्रतिबन्धमा रहँदा मोफसलमा गोल्डकप फुटबल प्रतियोगिता भने सुचारु नै छन् ।