सांसदहरूले बर्खे धान रोप्न ठिक्क परेका किसानलाई मागेजति रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन् । शुक्रबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा टेन्डरमार्फत खरिद प्रक्रिया छिटो गर्न र भारतसँगको जिटुजी माध्यमबाट पनि मल ल्याएर किसानले मागेजति वितरण गर्न निर्देशन दिएका हुन् ।
बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद पुनमकुमारी अग्रवालले उत्पादन बढ्ने गरी मल आपूर्ति बढाउनुपर्ने बताइन् । उनले रासायनिक मलको खपत कम गर्दै प्रांगारिक र जैविक मलको प्रयोग बढाउने नीतिमा जोड दिनुपर्ने पनि बताइन् । ‘माटो, भूगोल, बाली र अर्थतन्त्र सुहाउँदो नीतितिर लागेनौँ । विदेशी नीतिको मात्र पछि लाग्यौँ,’ उनले भनिन्, ‘आउँदा दिनमा रासायनिक मलको खपत कम गर्दै जैविक मलको उत्पादन र प्रयोग बढाउनतर्फ ध्यान दिनुपर्छ ।’ रास्वपाका अर्का सांसद केपी खनालले आयातमै मात्रै निर्भर नभएर उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए । उनले ग्रिन हाइड्रोन प्रविधिको विकास गरी रासायनिक मल कारखाना खोल्न अग्रसर हुनुपर्ने बताए ।
‘किसानलाई चाहिनेजति मल उपलब्ध गराउनु सरकारको दायित्व हो । त्यसैले, स्वदेशमै उत्पादन गर्न ग्रिन हाइड्रोजन प्रविधि अवलम्बन गरौँ,’ उनले भने । बैठकमा कांग्रेस सांसद गीताकुमारी सेन्दाङले मलविना रोपाइँ गर्नुपर्ने विगतको बाध्यतालाई हटाउनुपर्ने बताइन् । ‘मल नपाउँदा किसानको खेत बाँझो हुने स्थिति बनाउनुहुँदैन,’ उनले भनिन्, ‘मल कहाँ आउँछ, कति आउँछ भन्ने किसानलाई केही थाहा हुँदैन । यस्तो अवस्थाको पनि अन्त्य हुनुपर्छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद ताहिर अलि भाटले तराईमा आधा मल सीमापारिबाट र आधा मात्रै सरकारले आपूर्ति गर्दै आएको जानकारी दिए ।
‘बर्सेनि धान रोप्ने वेलामा मलखाद छैन भन्ने गुनासो आउँछ,’ उनले भने, ‘राजनीतिक व्यवस्था धेरै परिवर्तन भयो, तर किसानको अवस्था परिवर्तन भएन ।’ रास्वपा सांसद कोमल ज्ञवालीले यसपालि नयाँ सरकारसँग किसानले समयमै रासायनिक मल पाउने अपेक्षा गरेको बताइन् । तर, कृषि मन्त्रालयले पर्याप्त मल आपूर्ति गर्नेमा आशंका रहेको उनको भनाइ थियो ।