- दर्ता भएका ७७ मध्ये ३३ संघ तथा संस्थाले नवीकरण गरेका छैनन् । निर्धारित समयमा नवीकरण नगर्दा खेलकुद विकास ऐन, २०७७ को दफा २२ अनुसार निलम्बनमा पर्नेछन्
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी १५ असारभित्र ३३ विभिन्न संघ र संस्थालाई नवीकरण गर्न निर्देशन दिएको छ । राखेपले बिहीबार सार्वजनिक सूचना जारी गर्दै निर्धारित समयभित्र नवीकरण गर्न र नगरेको खण्डमा प्रचलित कानुनअनुसार संघ नै खारेज हुने चेतावनीसमेत दिइएको छ । राखेपमा अहिले ७७ संघ रहेका छन् । राखेपमा दर्ता भएका ४२ संघले भने वार्षिक रूपमा नवीकरण गरेका छन् ।
‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम नवीकरण गर्न पटक–पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म प्रचलित कानुनबमोजिम अनिवार्य कार्यान्वयन गर्नुपर्ने, संगठिन संरचनाको निर्माण, समयमै निर्वाचन, नवीकरण तथा प्रचलित कानुनबमोजिम अनिवार्य{ रूपमा गर्नुपर्ने विषय हालसम्म पनि कार्यान्वयन गरेको देखिएको छैन,’ राखेपको सूचनामा भनिएको छ ।
राखेपले खेलकुद विकास ऐन, २०७७ को दफा २२ को (२) र (४), दफा २३ र २४ तथा दफा २८ प्रक्रिया पूरा नगरेका संघ र महासंघलाई कारबाही गरिने जनाएको छ । नवीकरण नगर्नेहरूमा प्रमुख संघहरू नेपाल क्रिकेट संघ, ओलम्पिक कमिटी, कराँते महासंघ, भारोत्तोलन, कुस्ती, उसु, उमाकुफु, पारा ओलम्पिक, पौडी, ट्रायथल र कुराँसले नवीकरण गरेका छैनन् ।
संघले नवीकरण गर्न आफ्नो वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रियस्तरको प्रतियोगिता गरेको कागजपत्र राखेपमा प्रस्तुत गर्नुपर्नेछ । राखेपका सदस्यसचिव रामचरित्र मेहताले नवीकरण नगरेको संघ तथा संस्थालाई मान्यता नदिने बताएका छन् । ‘संघहरूले विधि पुर्याएर नवीकरण गर्नुपर्छ, प्रक्रिया पूरा नगरी आउने संघको नवीकरण हुँदै छ,’ मेहताले भने, ‘ती संघहरूलाई सरकारबाट हुने सहयोग पनि दिँदैनौँ ।’
राखेपका निवर्तमान सदस्यसचिव टंकलाल घिसिङले आफ्नो चार वर्षको कार्यकालमा अनावश्यक रूपमा स्थापना भएका दुई सयभन्दा बढी संघलाई घटाएर सुरुमा ६४ संख्यामा झारेका थिए । उनले वर्षौँदेखि राष्ट्रिय प्रतियोगिता नगरेका र नाममा मात्रै सीमित संघलाई खारेज गरेका थिए । अहिले राखेपमा ७५ वटा संघ दर्ता छन् । ३३ संघले नवीकरण गर्न बाँकी रहेको छ । बाँकी संघले नवीकरण गर्ने कुनै आधार नै नदेखाएपछि राखेपले मिति तोकेर संघ खारेज गर्ने चेतावनी दिएको हो ।
नवीकरण नगरे कानुनबमोजिम कारबाही हुन्छ : रामचरित्र मेहता, सदस्यसचिव, राखेप
हामीले पटक–पटक ती संघ र संस्थाहरूलाई नवीकरणका लागि सूचना प्रकाशन गरेका थियौँ । तर, अहिलेसम्म पनि उहाँहरू नवीकरणका लागि आउनुभएको छैन । प्रचलित कानुनबमोजिम अनिवार्य कार्यान्वयन गर्नुपर्ने सांगठनिक संरचनाको निर्माण, आवधिक निर्वाचन, नवीकरण तथा प्रचलित कानुनबमोजिम अनिवार्य रूपमा गर्नुपर्ने विषय हालसम्म पनि कार्यान्वयन गरेको देखिएको छैन । तोकिएको समयभित्र नवीकरण नभएका प्रचलित कानुनबमोजिम कारबाही हुन्छ ।
निर्देशन उल्लंघन गरे हुन्छ ?
संघ तथा महासंघले नियम उल्लंघन गरे स्पष्टीकरण सोधेर निश्चित समयका लागि निलम्बनदेखि खारेजसमेत राखेपले गर्न सक्छ । राखेपको विधानको धारा २९ मा यस्तो व्यवस्था लेखिएको छ । दफा २९ को १, २, ३ र ४ मा संघलाई कारबाही गर्नेदेखि निलम्बनको व्यवस्था गरिएको छ । अटेरी गर्ने संघलाई सुरुमा निश्चित अवधि तोकी सर्तको पालना गर्न निर्देशन दिनेछ । त्यसपछि तीन महिनाका लागि निलम्बन गर्नेछ । राखेपको निर्देशन पालना गरे निलम्बन फुकुवा पनि मिल्छ । निलम्बन फुकुवा नभएमा कायम रहेको कार्यसमिति भंग गरी तीन महिनाभित्र अर्को कार्यसमिति निर्वाचन वा गठन गर्नेछ ।