- सञ्चारमन्त्री भन्छन्– ‘तेस्रो मोबाइल अपरेटरका लागि सम्भावना र आवश्यकता पहिचानसहितको प्रक्रिया अगाडि बढाइएको छ, छिट्टै निर्णय लिन्छौँ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालमा तेस्रो मोबाइल सेवाप्रदायक कम्पनी ल्याउने विषयमा अध्ययन भइरहेको बताएका छन् । अहिले सञ्चालनमा रहेका दुई कम्पनी मात्रै पर्याप्त नभएको भन्दै उनले नयाँ कम्पनीलाई अनुमति दिने विषयमा अध्ययन भइरहेको जानकारी दिएका हुन् ।
नेपालमा हाल सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले मोबाइल सेवा उपलब्ध गराउँदै आएका छन् । विगतदेखि नै दुई कम्पनीले डुओपोली गरिरहेको सन्दर्भमा तेस्रो मोबाइल अपरेटर ल्याउनेबारे बहस हुँदै आएको छ । यस सन्दर्भमा मन्त्री तिमिल्सिनाले प्राधिकरणले नयाँ मोबाइल कम्पनीको अनुमति दिने विषयमा अध्ययन गरिरहेको र छिट्टै सिफारिस प्राप्त हुने बताए । मन्त्रालयमा बुधबार पत्रकारसँगको छलफलमा उनले भने, ‘तेस्रो कम्पनी चाहिन्छ भन्ने हामीले पनि अनुभूति गरेका छौँ, यस विषयमा प्राधिकरणले अध्ययन गरिरहेको छ, उसले गर्ने सिफारिसअनुसार अघि बढ्नेछौँ ।’
फ्रिक्वेन्सीको उपयोग, प्रतिस्पर्धी मूल्य, गुणस्तरलगाययतका लागि तेस्रो कम्पनी चाहिने अनुभूति भएको उनले बताए । हाल दुईवटा कम्पनीले यस्तो सेवा दिइरहेकोमा तेस्रो मोबाइल अपरेटरका लागि सम्भावना र आवश्यकता पहिचानसहितको प्रक्रिया अगाडि बढाइएको र छिट्टै निर्णय लिने उनले बताए । त्यस्तै, डेटा सेन्टर तथा डिजिटल पूर्वाधार विकासका विषयमा बहुराष्ट्रिय कम्पनीहरूको चासो, त्यसको सम्भावना तथा विदेशी लगानी आकर्षित गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको उनले बताए ।
फाइभजी कार्यान्वयनको तयारी
सञ्चारमन्त्री डा. तिमिल्सिनाले सरकारले फाइभजी सञ्चालनलाई उच्च प्राथमिकतामा राखेको बताए । फाइभजीका लागि फ्रिक्वेन्सी छुट्याउने तथा त्यसको न्यूनतम मूल्य तोक्ने कामसमेत भइसकेको उनले बताए । तत्काल फोरजी सेवा पूर्ण रूपमा बन्द गरेर फाइभजीमा जाने अवस्था नरहेको उल्लेख गर्दै उनले भने, ‘पहिलो चरणमा फोरजीलाई अधिकतम प्रभावकारी बनाउने र दोस्रो चरणमा फाइभजी कार्यान्वयन गर्ने तयारी भइरहेको छ । फाइभजी सेवा सुरु गर्ने कार्य सरकारको प्राथमिकतामा छ र त्यसका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण तथा वितरणसम्बन्धी प्रक्रियासमेत अगाडि बढाइएको छ ।’
मन्त्री तिमिल्सिनाले स्मार्ट टेलिकमको सम्पत्ति तथा दायित्वमा भएको अनियमितताको विषयमा छानबिन भइरहेको बताए । स्मार्ट टेलिकमको लिलामी प्रकरणमा प्रहरीले अनुसन्धानसमेत गरिरहेको छ । ‘यो छानबिन प्रक्रियामा छ, प्रणालीगत करप्सन र अनियमितता भएको छ भने कुनै व्यक्ति वा संस्था आफ्नो वा अर्काको भनेर हेरिँदैन, निष्पक्ष छानबिन हुन्छ,’ उनले भने ।