जुम्ला–रारा अल्ट्रा म्याराथनमा धीर र कल्पना पहिलो

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

सातौँ जुम्ला–रारा अल्ट्रा म्याराथनमा पुरुषतर्फ धीरबहादुर बुढा र महिलामा कल्पना बुढाले उपाधि जितेका छन् । ५४ किलोमिटर रारा अल्ट्रा म्याराथनमा धीरले ६ घण्टा १२ मिनेट १७ सेकेन्डमा दूरी पार गरेका थिए ।

महिलातर्फ ७ घण्टा ७ मिनेट दूरी पार गर्दै जुम्ला कल्पना बुढा पहिलो भइन् । १० किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ वसन्त बुढाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जिते । महिलातर्फको १० किलोमिटर दौडमा सपना बुढाले पहिलो स्थान हात पारिन् । 

पाँच किलोमिटर दौडमा नोर्भु राना पहिलो स्थानमा रहे । बालिकातर्फ कृतिका सुनार पहिलो भएको आयोजकले जनाएको छ । महिला–पुरुष दुवै ५४ किलोमिटरतर्फ प्रथम हुनेलाई एक लाख रुपैयाँ, दोस्रोलाई ७५ हजार र तेस्रोलाई ५० हजार रुपैयाँ आयोजकले जनाएको छ । प्रतियोगिता औपचारिक रूपमा सन् २०१८ देखि सुरु भएको हो ।

जुम्लाका विश्वप्रसिद्ध धावक हरिबहादुर रोकायजस्ता खेलाडीको प्रेरणा र कर्णाली खेलकुद क्लबको सक्रियताले यो प्रतियोगिता संस्थागत रूपमा अघि बढेको हो । यो प्रतियोगिताका धावकले जुम्लाको सदरमुकाम खलंगा २३ सय मिटर उचाइदेखि सुरु गरी समुद्री सतहदेखि करिब ४ हजार १७ मिटर (चुचेमारा लेक)सम्मको चुनौतीपूर्ण उचाइ पार गर्दै आएका छन् ।

स्थानीयस्तरमा खेलकुदको विकास र युवा प्रतिभाको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले जुम्लामा खेलकुद गतिविधिलाई थप चलायमान बनाएको आयोजक क्लबका अध्यक्ष सरोज शाहीको भनाइ छ । 

सुझावित समाचार