स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आगामी वर्ष ०८३/८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव दिँदै ऊर्जा क्षेत्रमा लगानी बढाउनु आवश्यक रहेको बताएको छ । आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले सुझाव पेस गरेका हुन् । उनले सरकारले ऊर्जा क्षेत्रको विकासका लागि लगानी गर्ने गरी नीति तथा कार्यक्रम ल्याएमा निजी क्षेत्रले सरकारले अघि सार्न लागेको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिलका लागि योगदान गर्न तयार रहेको बताए ।
कार्कीले यसका लागि विद्युत् खरिद सम्झौता (पिपिए) खुलाउनुपर्ने, निजी क्षेत्रलाई विद्युत् व्यापार प्रसारणलाइनमा सहभागी गराउनुपर्ने र धितोपत्र बोर्डबाट समयमै आइपिओ जारी गर्नुपर्ने बताए । यस्तै, आयोजनालाई शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्नेजस्ता विषयमा सरकारले नीतिगत र कानुनी रूपमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
भेटमा वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, उपाध्यक्षत्रय आनन्द चौधरी, उत्तम ब्लोन लामा र भरत खत्री, महाससचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सदस्यहरू उत्तरकुमार श्रेष्ठ, मोहन डाँगीलगायतले सरकारले राखेको लक्ष्य हासिलका लागि निजी क्षेत्र तयार रहेको बताउँदै यसका लागि लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । अर्थमन्त्री डा. वाग्लेले अर्थतन्त्रमा विद्युत् क्षेत्रको योगदान बढ्दै गएको र सरकारले अर्थतन्त्रलाई हाक्ने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्न खोजेको बताउँदै यसमा साथ दिन आग्रह गरे ।
‘सरकार ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउने पक्षमा छ, यसको अर्थतन्त्रमा योगदान बढ्दो छ, अर्थतन्त्र हाँक्ने क्षेत्र बनाउने गरी नीति पनि बनाउँछौँ,’ उनले भने, ‘सरकार लगानीकर्ताको साथ चाहन्छ, लगानीकर्ताले पनि उच्च व्यावसायिक र इमानदारिताका साथ लगानी भएको क्षेत्र ऊर्जा हो भन्ने देखिने गरी अघि बढ्नुपर्छ ।’