सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सूचना प्रकाशन गर्दै प्राधिकरण अध्यक्ष र सदस्यहरू तथा केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।
सरकारले हालै अध्यादेश ल्याएर सार्वजनिक पदाधिकरीको स्वतः पदमुक्ति हुने व्यवस्था गरेको थियो । सोहीअनुसार सञ्चार मन्त्रालयमातहतका प्राधिकरण, केन्द्र, समिति, बोर्ड तथा आयोगलगायतका पदाधिकारीसमेत स्वतः पदमुक्त भएका थिए । अहिले मन्त्रालयले अध्यादेशबाट रिक्त भएका पदपूर्तिको प्रक्रिया अधि बढाएको हो ।
मन्त्रालयले प्राधिकरणमा अध्यक्षका साथै प्राविधिक तथा प्रशासनिक क्षेत्रबाट एक, बजार व्यवस्थापन क्षेत्रबाट एक, लेखा तथा लेखा परीक्षण क्षेत्रबाट एक र कानुनी क्षेत्रबाट एक गरी चार सदस्य नियुक्ति प्रक्रिया अघि बढाएको छ ।
तोकिएको योग्यता पूरा हुने नेपाली नागरिकले ५ जेठसम्म मन्त्रालयमा दरखास्त दिनुपर्नेछ । अध्यक्षका लागि ३० वर्ष पूरा नभई ६५ वर्ष नकटेको, स्नातक वा सोसरह उत्तीर्ण भएको र सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव पुगेको हुनुपर्नेछ । सदस्यका लागि तोकिएको क्षेत्रमा सात वर्ष अनुभव भएको तथा स्नातक तह उत्तीर्ण भएको हुनुपर्नेछ ।
त्यस्तै, सुरक्षण मुद्रणको कार्यकारी निर्देशकका लागि ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको, स्नातकोत्तर उपाधि हासिल गरेको र कम्तीमा पाँच वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ । तोकिएको योग्यता पूरा हुने नेपाली नागरिकले ५ जेठसम्म मन्त्रालयमा दरखास्त दिनुपर्नेछ ।