इन्धनमा भएको मूल्यवृद्धिपछि गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० को नियम ७६ बमोजिम भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीले मन्त्रीस्तरीय निर्णय गर्दै प्रदेशमा सञ्चालन हुने भाडाका सवारीसाधनको भाडादर समायोजन गरेका हुन् । गण्डकी प्रदेशमा यसअघि १ फागुन ०७८ मा भाडा समायोजना भएको थियो ।
हाल भाडा समायोजनपछि पोखरा उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधन अर्थात् सिटीबसको हकमा २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्दा सुरुको तीन किलोमिटरको भाडा २४ रुपैयाँ कायम गरिएको छ । तीन किलोमिटरपछि थप प्रतिकिलोमिटरको तीन रुपैयाँका दरले थप शुल्क तिर्नुपर्नेछ । २० किलोमिटर लामो दूरीमा यात्रा गर्दा प्रतिकिलोमिटर तीन रुपैयाँ भाडा कायम गरिएको मन्त्रालयकी प्रवक्ता मुना अधिकारीले जानकारी दिइन् । समायोजन हुनुपूर्व २० किलोमिटरसम्मको सुरुको भाडा २० रुपैयाँ र त्यसपछि प्रतिकिलोमिटर २.५० रुपैयाँ रहेको थियो भने २० किलोमिटरमाथि प्रतिकिलोमिटर २.५० रुपैयाँ भाडा रहेको थियो ।
पेट्रोलबाट चल्ने ट्याक्सीको हकमा फ्ल्याग डाउन यसअघिकै ८० रुपैयाँ कायम गरिएको छ । त्यसपछि पल्स (प्रत्येक दुई सय मिटर)को थप ११ रुपैयाँ र १५ किलोमिटरभन्दा माथिको दूरीका लागि प्रतिकिलोमिटर ४३ रुपैयाँ, रात्रिकालीन समय राति नौदेखि बिहान चार बजेसम्मका लागि प्रतिपल्स थप १७ रुपैयाँ कायम गरिएको छ । यसअघि १५ किलोमिटरसम्मका लागि फ्ल्याग डाउनबापत सुरुमा ८० रुपैयाँ, त्यसपछि पल्सको १० रुपैयाँ र १५ किलोमिटरभन्दा बढी दूरीको यात्रामा भने प्रतिकिलोमिटर ३७.५० रुपैयाँ भाडा रहेको थियो ।
जिपमा प्रतिकिलोमिटर प्रतियात्रु यसअघि ५.५० रुपैयाँ रहेकोमा त्यसलाई बढाएर सात रुपैयाँ भाडा कायम गरिएको छ । मालवाहक सार्वजनिक सवारीसाधनको हकमा प्रतिकिलोमिटर प्रतिटन भाडा ११.७२ रुपैयाँबाट बढाएर १५ रुपैयाँ कायम गरिएको छ । प्रदेशमा सञ्चालनमा हुने यात्रुवाहक बसमा प्रतिकिलोमिटर चार रुपैयाँ भाडा कायम गरिएको छ । यसअघि बसको भाडा ३.१ रुपैयाँ थियो ।
यसैगरी, एयरपोर्ट ट्याक्सीको हकमा फ्ल्याग डाउन ८० रुपैयाँ, त्यसपछि पल्स (प्रत्येक दुई सय मिटर)को थप १२ रुपैयाँ र १५ किलोमिटरभन्दा माथिको दूरीका लागि प्रतिकिलोमिटर ४३ रुपैयाँ, रात्रिकालीन समय राति नौदेखि बिहान चार बजेसम्मका लागि प्रतिपल्स थप १७ रुपैयाँ कायम गरिएको छ । यसअघि एयरपोर्ट ट्याक्सीका लागि छुट्टै भाडा तोकिएको थिएन ।प्रदेशमा सञ्चालन हुने यात्रुवाहक एवं मालवाहक विद्युतीय सवारीसाधनको हकमा यसअघिकै भाडा कायम गरिएको छ । यात्रुका लागि १५ किलोसम्मको सामान निःशुल्क र १५ किलोभन्दा बढी १० किलोसम्म प्रतिकेजी पाँचका दरले भाडा तिर्नुपर्ने प्रवक्ता अधिकारीले जानकारी दिइन् । प्रदेशका पोखरा उपत्यकालगायत १५ किलोमिटर दूरीभित्र ट्याक्सीले अनिवार्य रूपमा मिटर सञ्चालन गर्नुपर्ने उनले जानकारी दिइन् ।