नेपाल ‘ए’को उत्कृष्ट लय कायमै

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण
  • आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ खेल्न आएका स्कटल्यान्ड र अमेरिकाविरुद्ध नेपाल ‘ए’ हाबी, लगातार तेस्रो खेलमा जित

नेपाल ‘ए’ ले आइसिसी क्रिकेट विश्वकप लिग २ खेल्न आएको स्कटल्यान्ड र अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन जारी राखेको छ । शृंखलामा नेपाल लगातार तेस्रो खेलमा जित निकाल्न सफल भयो । लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा शनिबार नेपाल ’ए’ ले स्कटल्यान्डमाथि डकवर्थ लुइस मेथड पद्धतिअनुसार नौ रनको जित निकाल्यो । नेपालको जितमा सन्दीप जोरा र ईशान पाण्डेले अर्धशतक बनाएका थिए । 

पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर तीन सय तीन रनको विशाल लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपाल ’ए’ले ३४.५ ओभरमा ४ विकेट गुमाएर दुई सय चार रन बनाउँदा वर्षा भयो । त्यसपछि खेल हुन सकेन र नेपाल ९ रनले विजयी भयो । 

अनिलकुमार शाह कप्तानी रहेको नेपाल ’ए’ सँग स्कटल्याण्डको यो लगातार दोस्रो हार हो । बिहीबार भएको पहिलो खेलमा नेपाल ‘ए’ सँग स्कटल्यान्ड ४५ रनले पराजित भएको थियो । शुक्रबार भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई ३ विकेटले पराजित भएको थियो । अब, नेपाल ’ए’ ले अन्तिम अभ्यास खेलमा सोमबार अमेरिकासँग खेल्नेछ ।

आइसिसी क्रिकेट विश्वकप लिग २ को शृंखलाअघि स्कटल्यान्ड र अमेरिका नेपाल आएका हुन् । प्रतियोगिता १२ देखि २२ मेसम्म त्रिवि मैदानमा हुँदै छ । त्यसअघि दुवै टिमले नेपालको ए टिमसँग मैत्रीपूर्ण खेल खेलेका हुन् । नेपाल भने युएई र ओमानसँग खेलेपछि विश्राममा छ । नेपालले युएई र ओमानसँग ४ खेल खेल्दा ३ खेल जितेको थियो । 

सन्दीप र ईशानको सानदार प्रदर्शन
नेपालको जितमा सन्दीप जोरा र ईशान पाण्डेले अर्धशतक बनाएका थिए । प्लेयर अफ दी म्याचसमेत भएका सन्दीप जोराले ८३ रन बनाएका हुन् । उनले ९४ बलमा ९ चौका प्रहार गरे । त्यस्तै, ईशानले ५० रन बनाए । उनल ५३ बलमा ७ चौका हिर्काएका थिए । तेस्रो विकेटका लागि सन्दीपले ईशानसँग मिलेर १०३ रनको शतकीय साझेदारी गरेका थिए । त्यस्तै, ओपनर तृतराज दास २४, बसिर अहमद २० तथा मयन यादव १२ रनमा आउट भए । स्कटल्यान्डका लागि मार्क वाट, ब्राड करी, ओलिभर डेभिडसन र माइकल लिस्कले समान १ विकेट लिएका थिए ।

ईशान पहिलोपटक एकदिवसीय टिममा
प्रधानमन्त्री कप र नेपाल ए टिमबाट सानदार प्रदर्शन गरेका ईशान पाण्डेलाई नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टिममा समावेश गरेको छ । देब्रेहाते ब्याटर ईशानलाई क्यानले मंगलबारबाट सुरु हुने अमेरिका र स्कटल्यान्डविरुद्धको शृंखलामा ईशानलाई समेटेको हो । रोहितकुमार पौडेल कप्तानीमा रहेको टिममा ईशानसहित १५ खेलाडी छन् । क्यानले अघिल्लो साता भएको ओमान र युएईसँगको त्रिकोणात्मक शृंखलामा टोलीमा रहेका बसिर अहमदको स्थानमा ईशानलाई मौका दिएको हो । उनले सात वर्षपछि राष्ट्रिय टिममा कमब्याक गर्दै छन् । यद्यपि, उनले एकदिवसीय ढाँचामा भने ईशान पहिलोपटक टिममा स्थान बनाएका हुन् । सन् २०१९ मा उनले जिम्बाब्वेविरुद्ध टी–२० आई खेल्दै डेब्यु गरेका थिए ।

टिममा कप्तान रोहितसँगै ईशान, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, ईशान पाण्डे, गुल्सन झा, नन्दन यादव, सोमपाल कामी, करण केसी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमाल र भीम सार्की छन् । नेपालले अघिल्लो साता सम्पन्न युएई र ओमान सम्मिलित शृंखलामा खेलेको चारमध्ये तीन खेलमा जितेको थियो । नेपाल आठ राष्ट्र सहभागी विश्वकप लिग २ मा १८ अंकका साथ सातौँ स्थानमा छ । अमेरिका ३६ अंकका साथ शीर्ष र २ अंक कम रहेको स्कटल्यान्ड दोस्रो स्थानमा छन् ।

मुन्सेको अर्धशतक
स्कटल्यान्डका लागि ओपनर  जर्ज मुन्सेले सर्वाधिक ६२ रन बनाएका छन् । उनले ५१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । माइकल इंग्लिस ५६ रनमा अविजित रहे । उनले ५६ बलमै तीन छक्का हिर्काएका थिए । त्यसबाहेक कप्तान रिची बेरिंग्टन ४०, फिन्ले म्याक्रिथ र ग्याक जार्भिस समान ३०, ब्रान्डन म्याकमुलन ३९, म्याथ्यु क्रस २५ रनमा आउट भए । नेपाल ’ए’ का लागि आकाश चन्दले सर्वाधिक ३ विकेट लिएका थिए । शेर मल्ल, विपिन खत्री, पवन सर्राफ र कुशल मल्लले समान १ विकेट लिएका थिए । 

See More On

सुझावित समाचार