रसुवा भन्सार कार्यालयमा एमआरपी (अधिकतम खुद्रा मूल्य) स्टिकर अनिवार्य गर्ने व्यवस्थाका कारण रोकिएको भन्सार जाँच पास पुनः सञ्चालनमा आएको छ। आयातकर्ताले सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएपछि जाँचपास प्रक्रिया नियमित गरिएको हो।
गत असार २४ गते आएको बाढीले प्रभावित बनेको रसुवा भन्सार कार्यालय मितेरी पुल निर्माणपछि गत पुस १७ गतेदेखि पुनः सञ्चालनमा आएको थियो। त्यसपछि वैशाख १५ गतेदेखि आयातीत वस्तुमा अनिवार्य एमआरपी स्टिकर टाँस्नुपर्ने नियम लागू गरिएसँगै जाँचपास रोकिएको थियो।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार आयातकर्तासँगको सहमतिपछि भन्सार प्रक्रिया पुनः सुरु भएको हो। उनले जाँचपास पुनः सञ्चालन भएसँगै राजस्व संकलनमा वृद्धि भएको जानकारी दिए।