भन्सारमै एमआरपी स्वघोषणा गरेर जाँचपास हुन थाले मालवस्तुहरू

तर, व्यापारीहरू भन्छन्– तत्काललाई सहज भएको मात्र हो, भन्सार विन्दुमै घोषणा व्यावहारिक छैन

शुक्रबार, २५ बैशाख, २०८३
डिजिटल संस्करण

भन्सार विन्दुमा आयातित वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्नुपर्ने निर्णयबाट सरकार लचिलो भएपछि भन्सार जाँचपास नियमित हुन थालेको छ । बुधबारदेखि मुलुकका सबै भन्सार नाकाबाट जाँचपास नियमित हुन थालेको हो ।

आयातकर्ताले भन्सार विन्दुमै एमआरपी उल्लेख गर्नुपर्ने भनेपछि जाँचपास प्रभावित भएको थियो । त्यही अवस्थाबिच भन्सार विभाग र व्यवसायीबिच भन्सार विन्दुमा आयातकर्ताले एमआरपी स्वघोषणा गर्ने र पछि गोदाममा त्यहीअनुसार लेबल लगाएर बजारमा सामान पठाउने सहमति भएको थियो । त्यसलगत्तै विभागले बुधबारदेखि नै जाँजपास नियमित गर्न भन्सार विन्दुका कार्यालयलाई निर्देशन दिएको थियो । योसँगै भन्सार नाकामा देखिएको अन्योलता पनि तत्काललाई अन्त्य भएको छ । एमआरपी उल्लेख गर्नुपर्ने विषयले १० दिनदेखि भन्सार नाकामा सयौँ मालवाहक गाडी अलपत्र परेका थिए । अहिले त्यो नियमित रूपमा जाँचपास हुन थालेको छ । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बुधबारबाटै जाँचपास नियमित रूपमा भइसकेको बताएका छन् ।

मालवस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) मूल्य विवादका कारण विराटनगर भन्सारमा रोकिएका मालवाहक सवारीहरू जाँचपास हुन थालेका छन् । भन्सार विभागको निर्देशनबमोजिम व्यपारीहरूले भन्सारमा एमआरपी स्वघोषणा गरेर होल्ड भएका सवारीसाधन जाँचपास गराउन थालेको विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए । उनका अनुसार तत्काल भन्सार विन्दुमा प्रवेश भएका मालवस्तुहरू अब व्यवसायीले मूल्य स्वघोषणा गरेर तथ्यांक भन्सार प्रणालीमा प्रविष्ट गराएर जाँचपास गराउन पाउनेछन् । उनले भने, ‘तर, सबैका लागि सरकारले यो सुविधा दिएको हैन, व्यवस्थापन गर्न नसक्नेका लागि तत्काल सुविधा दिएको मात्र हो । बजेट प्रस्तुत भएपछि अर्डर भएर आयात हुने मालवस्तुका हकमा भने उत्पादनस्थलमै एमआरपी उल्लेख भएको हुनुपर्ने नियम लागू हुनेछ ।’

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले एमआरपी समस्याले भन्सारमा होल्ड भएका मालवस्तु जाँचपास सहजीकरण गर्ने निर्णयअनुसार स्वघोषणा गरेर आयात भइरहेको बताए । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले एक–दुई महिनाका लागि एमआरपी स्वघोषणाले आयातमा सहज बनाए पनि दिगो समाधान नभएको बताए । उनले भन्सार विन्दुमै एमआरपी घोषणा गर्ने नीति व्यावहारिक हुन नसक्ने भन्दै आयात गरेका मालवस्तु आफ्नो गोदाममा एमआरपी घोषणा गर्न पाउनुपर्नेमा जोड दिए । अध्यक्ष राठीले भने, ‘अधिक राजस्व असुलीका लागि भनेर भन्सार विन्दुमै एमआरपी घोषणा गराएर ४०–५० प्रतिशतसम्म भन्सार मूल्यांकन गर्ने प्रावधान व्यावहारिक रूपमा लागू हुन सक्दैन ।

मेची भन्सारमा एक सातापछि जाँचपास
हुँदा मेची भन्सार कार्यालय काँकडभिट्टामा स्थगित रहेको जाँचपास बुधबारबाट खुलेको छ । भन्सार विभागले सहजीकरण गरेपछि तत्कालका लागि एमआरपी भन्सारमै व्यवसायीले आफैँ घोषणा गर्ने व्यवस्थाअनुसार जाँचपास खुलेको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । एमआरपी अनिवार्य भएपछि विगत एक सातादेखि मेची भन्सार कार्यालयमा जाँचपास रोकिएको थियो । विभागले निर्देशन पठाएपछि बुधबार एमाआरपी स्वघोषणा गरेर दुईवटा गाडीको जाँचपास भएको उनले बताए । यस्तै, बिहीबार पनि भन्सारको गोदाममा थन्किएका केही सवारी यसरी नै पास गरिएको उनको भनाइ छ । ‘गोदाममा भएका सवारीको हकमा कष्ट सिटमा आफैँ एमआरपी घोषणा गरेर जाँचपास भएको हुन्छ,’ उनले भने, ‘अब आउने सामानमा अनिवार्य एमआरपी भएको, उत्पादन मिति र म्याद सकिने मिति भएको स्पष्ट हुनुपर्नेछ ।’

स्वघोषणाले नेपालगन्जमा छैन समस्या
भन्सारमा एमआरपी लागू गर्ने नियमले कुनै समस्या नभएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयमा पहिलेदेखि नै एमआरपी घोषणा हुँदै आएकाले अन्यत्रको भन्सारमा जस्तो समस्या नभएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए । ‘एमआरपी घोषणा भन्सारमा हुन्छ । लागू भए–नभएको हेर्ने निकायले अनुगमन गर्नुपर्ने हो,’ उनले भने, ‘हाम्रो काम भन्सारमा एमआरपी घोषणा गराउने मात्र हो ।’

उनले एमआरपी घोषणाका कारण व्यापारीको सामान भन्सारमा नरोकिएको जानकारी दिए । ‘म मेरो सामान स्टोरमा पुगेपछि भन्सार शुल्कलगायत लाग्ने अन्य शुल्क जोडेर एमआरपी निर्धारण गर्छु भन्ने जानकारी भन्सारलाई दिनुपर्छ । त्यसपछि एमआरपी लागू भए–नभएको हेर्ने हाम्रो काम होइन,’ उनले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले पनि भन्सारमा एमआरपी घोषणाले व्यापारीलाई कुनै समस्या नभएको बताए । ‘व्यापारीले नियमित रूपमा सामान ल्याइरहनुभएको छ । अहिलेसम्म सामान रोकिएको छैन,’ उनले भने ।

व्यवसायी भन्छन्– झन्झट र कठिनाइ भयो 
सरकारले भन्सार विन्दुमै एमआरपी लागू गरेपछि सामान आयातमा झन्झट र कठिनाइ भएको कञ्चनपुरका व्यवसायीले बताएका छन् । महेन्द्रनगरका आयात–निर्यात व्यवसायी हरिकृष्ण शाहले अनेकौँ नियम लागू गरेर व्यवसायीलाई दुःख दिने काम गरेको बताए । ‘भारतीय बजारमा उत्पादित कम्पनीले वस्तुको एमआरपी राख्दैन,’ उनले भने, ‘सरकारले भन्छ, उतैबाट हालेर ल्याऊ, अनि भन्सारमा हाल्दा पनि हामीमाथि बिचबाटैमा प्रहरीबाट समस्या हुन्छ ।’ मालसामानलाई भन्सारदेखि गोदामसम्म आउँदा सहज हुने गरेर एमआरपी राख्ने वातावरण बनाउनुपर्ने उनले बताए ।

त्यस्तै, अर्का व्यवसायी भरत रानाले एमआरपीका कारण बिहान आएको सामान चेकजाँचमा दिनभर लागेपछि ढुवानीमा समस्या भएको बताए । ‘भारतबाटै सबै बिलबिजक ल्याएर सामानको मूल्य राख्नुपर्ने भयो,’ उनले भने, ‘यता भन्सार पुग्दा सबै वस्तुको एमआरपी राख्दा भन्सार क्षेत्रमै अनावश्यक समय खर्च भयो, झन्झट पनि भइरहेको छ ।’ कञ्चनपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्षसमेत रहेका तेजबहादुर चन्दले एमआरपीको विषयमा संघले सरकारसँग आवश्यक पहल गर्ने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव राहुल भट्टले एक्कासि नियम लागू गर्दा समस्या भएको बताए । ‘झन्झटिलो छ, प्रिप्लानविनै ल्याएको योजना कार्यान्वयनमा चुनौती छ । एक्कासि आएको हुँदा हामी व्यवसायी समस्यामा छौँ,’ उनले भने, ‘धेरै प्रकारका सामान एकै कन्टेनरमा ल्याउनुपर्ने हुँदा समस्या हुन्छ, हरेक वस्तुको एक–एक गरेर एमआरपी हाल्न कठिनाइ हुन्छ, यसलाई सहजीकरण आवश्यक छ ।’ कञ्चनपुर भन्सार अधिकृत अम्बिकादेवी सुवेदीले एमआरपी लागू भएपछि भन्सार जाँचपासमा केही कठिनाइ भए पनि झन्झटिलो अवस्था सिर्जना नभएको बताइन् ।

हाललाई जाँचपासमा सहजीकरण भएको छ : श्यामप्रसाद भण्डारी, महानिर्देशक, भन्सार विभाग
बुधबारदेखि नै जाँचपास नियमित ढंगबाटै भएको छ । बुधबार एक अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जुन नियमित रूपमै उठ्ने राजस्वसरह हो । दैनिक डेढ अर्बबराबरको राजस्व भन्सारबाट उठ्ने गर्छ । बुधबार पनि सोही दरमै राजस्व उठेको छ । यसले पनि भन्सारको जाँचपास नियमित रूपमै भएको देखिन्छ । हाललाई भन्सार जाँचपासमा सहजीकरण भएको छ ।

विराटनगरमा गणेश लम्साल, कञ्चनपुरमा मोहन विष्ट, झापामा चिरञ्जीवी घिमिरे, बाँकेमा विश्वराज पछल्डङ्ग्या

See More On

सुझावित समाचार