नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पदमा आकांक्षीहरूको भिड लागेको छ । आइतबारसम्ममा १५ जना आकांक्षी देखिएकामा सोमबार एकै दिनमा ३२ जनाले आवेदन दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । गत १५ वैशाखमा सिफारिस समितिले धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदपूर्तिका लागि आवेदन खुलाएको थियो । सात दिनभित्र कार्यालय समयमा मन्त्रालयमा आवेदन दिनुपर्ने म्याद थियो ।
०८० मा खुलाएको आवेदनमा १९ जनाको आवेदन परेको थियो । जसमध्ये छनोट भएर सन्तोषनारायण श्रेष्ठलाई सरकारले नियुक्ति दिएको थियो । विगतमा सरकारले राजनीतिक पहुँचका आधारमा नियुक्ति दिने प्रवृत्ति हाबी हुँदा विज्ञहरूले आवेदन नदिने र तुलनात्मक रूपमा कम व्यक्तिले आवेदन दिने गरेको जानकारहरू बताउँछन् । तर, नयाँ सरकारले प्रतिस्पर्धात्मक विधिबाट नियुक्ति गर्ने अपेक्षाले आवेदन दिनेको भिड लागेको हुन सक्ने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थसचिव डा. घनश्याम उपाध्याय र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समितिले गठन गरेको थियो । नियुक्तिको कार्ययोजना समिति आफैँले तय गर्ने व्यवस्था छ । गत ४ वैशाखमा सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि उक्त अध्यक्ष पद रिक्त छ । सरकारले अध्यादेशमार्फत बोर्डको सञ्चालक समिति सदस्य पदमुक्त गरिसकेको छ ।
नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न २१ जनाको आवेदन
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । रौतहटका प्रभाकरचन्द्र मल्लिक, उत्सवराज खरेल (चितवन), बाराका श्यामकिशोर साह र सर्लाहीका प्रमोदकुमार चौधरीले आवेदन दिएका छन् । त्यस्तै, संखुवासभाका मुरारीप्रसाद पौडेल, कास्कीकी जसोधा सुवेदी (रेग्मी), बझाङका तबराज जोशी, मोरङका जगन्नाथ निरौलाले आकांक्षा देखाएका छन् । रुपन्देहीका विष्णु गौतम, धनुषाका प्रेमनाथ ठाकुर, काठमाडौंका डा. विलोचन पौडेल, कैलालीका देवेन्द्रप्रसाद पाण्डेय, भक्तपुरका टेकनाथ सिटौला, गोरखाका अर्जुन बस्नेत, दैलेखका लक्ष्मीप्रसाद उपाध्याय, दाङका उमेशकुमार पन्थी, नुवाकोटका इ. दीपेन्द्र श्रेष्ठ, अछामका ज्ञानेन्द्र भुल, काठमाडौंका सुभाष झा, ललितपुरका मुकेश डंगोल र सिराहाका सञ्जयकुमार पनि प्रतिस्पर्धामा छन् ।
वायुसेवा निगममा पाँच सदस्यका लागि २७ इच्छुक
नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्तिका लागि १२ वैशाखमा सार्वजनिक आह्वान गरिएको थियो । आवेदन दर्ता गर्ने अन्तिम मिति सोमबार थियो । आवेदन दिनेमा डा. दीपकप्रसाद बाँस्तोला, कास्कीका लीलाराज ढकाल, स्याङ्जाका गौतम पाण्डे, मकवानपुरका वेदप्रसाद उप्रेती, डडेलधुराका श्रीराम गौतम, भक्तपुरका भगीरथप्रताप सिंह, कैलालीका मनोजकुमार श्रेष्ठ भडेल, मकवानपुरका महेश्वरभक्त श्रेष्ठ, ललितपुरका शमशेर पराजुली, लमजुङका बलराम पौडेल, झापाका अमृतमान श्रेष्ठ, काठमाडौंका चिरञ्जीवी उपाध्याय, परमेश्वर दहाल, उपेन्द्रबहादुर कार्की, मदनकुमार बराल, अच्युतराज पहाडी र राजुबहादुर केसी, मोरङका विष्णुवाबु मिश्र, लमजुङकी रूपा लामिछाने, विन्दु पन्थी, धनुषाका योगराज कँडेल शर्मा, चितवनका प्रबिन भट्टराई, सुर्खेतका मनोज भारती, रामेछापकी मिरा पाण्डे, स्याङ्जाका मोहनीलाल खनाल, धादिङका ऋषिराम पण्डित, बैतडीका डा. भीमबहादुर चन्द र गुल्मीका योगराज कँडेल रहेका छन् ।