कर्मचारी आमालाई स्तनपान गराउन नबिल नर्सिङ रुमको सुरुवात

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । उक्त नर्सिङ रुमको उद्घाटन बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलगायतले गरेका हुन् । 

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य सरिता भट्ट अधिकारी, अनन्त पौड्याल, प्रबिन टिबडेवाला र अनिलकेशरी शाहलगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भूपेन्द्र पाण्डेका साथै अन्य उच्चपदस्थ कर्मचारीको समेत उपस्थिति थियो । बैंकले बैंकमा कार्यरत कर्मचारी आमालाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रुमको स्थापना गरेको जनाएको छ । नर्सिङ रुमले कर्मचारीलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रूपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ । 

‘यस कक्षको थालनीमार्फत हामीले हाम्रो कर्मचारीप्रतिको जिम्मेवारी पूरा गरेका हौँ । यसले कर्मचारी आमाहरूलाई कार्यालयभित्र आफ्नो बच्चासँग सुरक्षित छु भन्ने महसुस गराउनेछ,’ सञ्चालक समिति सदस्य भट्टले बताइन् । यस्तै, बैंक अध्यक्ष चौधरीले नर्सिङ रुम बैंकको तर्फबाट एउटा राम्रो सुरुवात भएको बताए । ‘लैंगिक समानता, कर्मचारीको हित नबिल बैंकका प्रमुख मान्यताभित्र पर्छन् र आज सुरु भएको यो कक्षले हाम्रा ती मूल्य–मान्यतालाई प्रतिबिम्बित गर्छ,’ अध्यक्ष चौधरीले भने ।
‘हेर्दा सानो देखिए पनि यस कदमले हाम्रा कर्मचारीलाई सकारात्मक असर पार्नेछ र यो कक्ष हाललाई केन्द्रीय कार्यालयमा मात्र भए पनि आउने दिनमा अरू शाखामा पनि विस्तार गर्दै लगिनेछ,’ उनले थपे । यसप्रकारका प्रयासमार्फत नबिल बैंकले आफ्ना कर्मचारीको ख्याल राख्नुका साथै सहयोग गर्ने वातावरणलाई बढाबा दिइरहेको सिइओ ज्ञवालीको भनाइ छ । बैंकले देशभर दुई सय ६८ शाखा सञ्जालसहित तीन सय १८ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

See More On

सुझावित समाचार