सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधिको पूर्वाधार विकास, जनशक्ति वृद्धि तथा साक्षरता अभिवृद्धि गर्दै देशमा डिजिटल विभाजन (डिजिटल डिभाइड) न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।
‘सूचना प्रविधिको विस्तार : दिगो विकासको आधार’ भन्ने मूल नारासहित मनाइँदै गरेको दिवसका अवसरमा शुभकामना दिँदै उनले सरकारले सुरक्षित, विश्वसनीय, समावेशी तथा दिगो डिजिटल इकोसिस्टम निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको बताए । ‘देशभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डेटा सेन्टर तथा डिजास्टर रिकभरी प्रणालीको सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि तथा दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्ने प्रतिबद्धता गर्दछु,’ उनले भने ।
मन्त्री तिमिल्सिनाले सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, युवा प्रतिभा प्रवर्द्धन, स्टार्टअप विकास तथा राष्ट्रिय अर्थतन्त्रको नयाँ वृद्धि इन्जिनका रूपमा स्थापित गर्ने लक्ष्य सरकारको रहेको समेत बताए ।