दसौँ प्रधानमन्त्री कप महिला र पुरुष भलिबल : पुलिस सर्वाधिक चौथोपटक च्याम्पियन

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण
  • प्रधानमन्त्री कपको महिलातर्फको उपाधि रक्षा गर्ने क्रममा नेपाल पुलिसले न्यु डायमन्डलाई ३–१ ले निराश बनायो 

विभागिय टोली नेपाल पुलिस क्लबले शनिबार दशौँ प्रधानमन्त्री कप लिगको महिलातर्फको उपाधि जितेको छ । समग्रमा नेपाल पुलिसले प्रधानमन्त्री कप चौथोपटक हात पारेको हो । लिग चरणमा अपराजित रहेको न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ ले हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो । पुलिस सर्वाधिक चारपटक ट्रफी चुम्ने टोली बनेको छ । जितसँगै पुलिस लगातार तेस्रोपटक काभा क्लब च्याम्पियन्सिपका छनोट भयो । उपाधिसँगै १० लाख रुपैयाँ र उपविजेता न्यु डायमन्डले पाँच लाख हात पारेका छन् । महिलातर्फ ६ टोलीले भाग लिएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिलातर्फको उपाधि भिडन्तमा अपराजित रहेको न्यु डायमन्डले पुलिसलाई दबाबमा राख्ने अनुमान थियो । तर, प्रधानमन्त्री कपको फाइनल खेलको अनुभवी पुलिसले मानसिक रूपमा खेल्दै न्यु डायमन्डमाथि उल्टै दबाब राख्यो । सुरुवातदेखि पछि परेको न्यु डायमन्डले अन्तिमसम्म अंकका लागि संघर्ष गरेको थियो । पुलिसले पहिलो सेटमा न्यु डायमन्डलाई २५–२१ ले हरायो ।

पहिलो सेटको तुलनामा दोस्रो सेटमा न्यु डायमन्डले पुलिसलाई अंक दिएन । सुरुदेखिको अग्रता रक्षा गर्दै न्यु डायमन्डले दोस्रो सेट २५–१७ ले जित्यो । जितसँगै न्यु डायमन्डले सेट १–१ को बराबरी गर्दै पुलिसलाई चुनौती दियो । न्यु डायमन्डले लगातार आठ अंक जोड्दै सेटमाथि कब्जा जमाएको थियो । तेस्रो सेटमा न्यु डायमन्ड र पुलिसबिच कडा प्रतिस्धर्पा भयो । एक समय दुवै टोलीका खेलाडी अंक गुमाउन चाहेका थिएनन् । उनीहरू बराबरीमा प्रतिस्पर्धा गरिरहेका थिए । तर, पुलिसले न्यु डायमन्डको सामान्य गल्तीमा दुई महत्वपूर्ण अंक जोड्दै तेस्रो सेट २५–२३ ले जित्दै २–१ को अग्रता लियो ।

चौथो सेटमा चुक्यो न्यु डायमन्ड
न्यु डायमन्डलाई उपाधिको आशा कायम राख्न चौथो सेट अनिवार्य रूपमा जित्नुपर्ने थियो । यो सेट गुमाउँदा न्यु डायमन्डको च्याम्पियन हुने आशा समाप्त हुने थियो । यसका कारण न्यु डायमन्डलाई चौथो सेट गर या मरको स्थितिमा थियो । तर, पुलिसले न्यु डायमन्डलाई चौथो सेटमा खुलेर प्रतिस्पर्धा गर्न दिएन । यद्यपि, पुलिसमाथि न्यु डायमन्डले दबाब नबनाएको भने होइन । तर, अन्तिम क्षणमा न्यु डायमन्डको गल्तीमा पुलिसले २५–१९ ले जित्दै ट्रफी उचाल्यो । न्यु डायमन्डसँग लिग चरणमा भोगेको हारको बदला लियो । आजै पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब र रुकुम पश्चिम भलिबल क्लबबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

रुकुम पश्चिम पहिलोपटक च्याम्पियन
प्रतियोगिताको पुरुषतर्फ भने रुकुम पश्चिम भलिबल क्लब पहिलोपटक विजेता बनेको छ । पश्चिम रुकुमले उत्कृष्ट फर्ममा खेलिरहेको हेल्प नेपाललाई फाइनलमा एकपक्षीय रूपमा ३–० को सोझो सेटमा हराउँदै उपाधि हात पारेको हो । पुरुषतर्फको प्रधानमन्त्री कपमाथि हेल्प नेपालले सर्वाधिक पाँचपटक जितेको छ । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सामान दुईपटक उपाधि जितेका छन् । पुरुषतर्फको फाइनलमा रुकुम पश्चिमले हेल्प नेपाललाई‌ २९–२७,२५–२१ र३२–३० ले हराएको थियो । यसअघि लिग चरणमा हेल्प नेपालले रुकुम पश्चिमलाई ३–० को सेटमा निराश बनाएको थियो ।  

सुझावित समाचार