स्टार्कको कीर्तिमान बराबरी गर्न सन्दीपलाई आठ विकेट आवश्यक

आइतबार, २० बैशाख, २०८३
डिजिटल संस्करण

नेपालका लेग स्पिनर सन्दीप लामिछाने शुक्रबार आइसिसी विश्वकप क्रिकेट लिग २ मा सय विकेट लिने पहिलो बलर बनेका छन् । सन्दीपले विश्वकप लिग २ मा समग्रमा ४७ इनिङ्समा सय विकेट पूरा गरेका हुन् । पहिलो सिजनमा उनले ३१ मध्ये ३० इनिङ्समा ७२ तथा चालू सिजनमा उनले १८ मध्ये १७ इनिङ्समा ३० विकेट हात पारेका छन् । अहिले एकदिवसीय खेलमा सन्दीप अर्को रेकर्डनजिक छन् ।

एकदिवसीय इतिहासमा सबैभन्दा कम खेलमा १५० विकेट लिने विश्व कीर्तिमान अस्ट्रेलियन फास्ट बलर मिचेल स्टार्कको नाममा रहेको छ । उनले ७७ एकदिवसीय खेलमा १५० विकेट लिएका थिए । स्टार्कलाई सन्दीपले पछ्याइरहेका छन् । उनको नाममा रहेको विश्व कीर्तिमान बराबरी गर्न सन्दीपलाई आठ विकेट आवश्यक छ । सन्दीपले अहिलेसम्म ६९ एकदिवसीय खेलमा ६७ इनिङ्समा बलिङ गरी १४२ विकेट लिएका छन् । स्टार्कले भन्दा कम खेलमा सन्दीपले १५० विकेट संख्या बराबरी गर्दा पनि एकदिवसीय खेलमा यो उपलब्धि हात पार्ने विश्वकै पहिलो बलर हुनेछन् । 

एकदिवसीय खेलमा स्टार्कपछि कम खेलमा १५० विकेट लिने बलर पाकिस्तानका सक्लिन मुस्ताक हुन् । उनले ७८ खेलमा १५० विकेट लिएका थिए । यसैगरी, अफगानिस्तानका रसिद खानले ८० तथा भारतका मोहमद सामीले ८० खेलमै १५० विकेट लिएका थिए । विश्व क्रिकेटका नाम चलेका फास्ट बलर न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ८२ तथा अस्ट्रेलियाका ब्रेट लीले ८४ खेलमा १५० विकेट हात पारेका छन् । 

सन्दीपसमक्ष घरेलु मैदानमै यो कीर्तिमान बनाउने अवसर जुरेको छ । विश्वकप लिग २ अन्तर्गत मंगलबार नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अहिले चलिरहेको सिरिजमा नेपालको अन्तिम खेल नै ओमानसँग हो । यसको केही दिनपछि नै नेपालले अर्को विश्वकप क्रिकेट लिग २ खेल खेल्नेछन् । जहाँ नेपालले चार खेल खेल्नेछन् । यी चार खेलमा सन्दीपले स्टार्क कीर्तिमान तोड्ने अवसर पाउने छन् ।

सन्दीपले अहिले युएई र ओमानसम्मलित विश्वकप लिग २ मा सात विकेट लिइसकेका छन् । ओमानसँगको खेलमा उनी आफ्नो विकेट संख्या थप्न सक्छन् । उनले शुक्रबार युएईलाई डकवर्थ लेविस नियम अनुसार ६ रनले पराजित गरेको खेलमा ३ विकेट लिएका थिए । यसअघि ओमान र युएईविरुद्ध उनले समान दुई विकेट हात पारेका थिए । 

१०० विकेटमा सन्दीपकै विश्व कीर्तिमान
एकदिवसीय खेलको इतिहासमा सन्दीपले कम खेलमा सय विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा राखेका छन् । उनले यो उपलब्धि केवल ४२ खेलमा हात पारेका थिए । २१ अप्रिल २०२३ को सिजनमा उनले कीर्तिपुर मैदानमै ओमानविरुद्ध विकेट लिँदै एकदिवसीय फर्म्याटमा कम खेलमा सय विकेटको रेकर्ड बनाएका थिए । उनले अफगानिस्तानका विश्व प्रसिद्ध लेग स्पिनर रसिद खानको रेकर्ड भंग गरेका थिए । रसिदले ४४ खेलमा सय विकेटको रेकर्ड बनाएका थिए । रसिदले २५ मार्च २०१८ मा वेस्ट इन्डिजविरुद्धको खेलमा रेकर्ड बनाएका थिए ।

सन्दीपले रसिदको रेकर्ड पाँच वर्षपछि तोड्न सफल भए । ओमानका विलाल खानले ४९ खेलमा सय विकेट पूरा गरे । ५० विकेटको विश्व कीर्तिमान भने श्रीलंकाली बलर अजन्था मेन्डिसको नाममा छ । उनले १९ खेलमा ५० विकेट हात पारेका थिए । यो विधामा नेपालका सन्दीप दोस्रो स्थानमा छन् । सन्दीपले २२ एकदिवसीय खेलमा ५० विकेट हात पारेका थिए । सन् २६ मार्च २०२२ मा उनले पपुवा न्युगिनीविरुद्ध विकेट लिँदै एकदिवसीय खेलमा ५० विकेटको संख्या पार गरेका थिए । संयोग कस्तो छ भने सन्दीपले धेरैजसो क्रिकेटमा बनाएका रकेर्ड कीर्तिपुर मैदानमै रह्यो ।

तीनपटक ६ विकेटको प्रदर्शन
नेपालका लागि एकदिवसीय खेलमा स्ट्राइक बलरका रूपमा रहेका सन्दीपले दुईपटक ६ विकेट लिएका छन् । एकदिवसीय खेलमा यस्तो उपलब्धि दुलर्भ नै मानिन्छ । सन् २०२० मा उनले अमेरिकाविरुद्ध १६ रन खर्चेर ६ विकेट हात पारेका थिए । यसैगरी, २०२१ मा उनले पपुवा न्युगिनीविरुद्ध केवल ११ रन खर्चेर ६ विकेट लिन सफल भए । यसैगरी, उनले अमेरिकासँगको एक खेलमा २४ रन दिएर ६ विकेट लिएका थिए । उनले आफ्नो करिअरमा दुई पटक पाँच विकेट लिएका छन् । सन् २०२३ मा उनले ओमानसँगको खेलमा १३ रन दिएर पाँच विकेट लिन सफल भए । सन् २०२३ मै उनले आयरल्यान्डसँगको प्रतिस्पर्धामा ७९ रन दिएर पाँच विकेट हात पारेका थिए । 

४.४१ को इकोनोमीमा बलिङ
अगस्ट १, २०१८ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय डेब्यु गरेको थियो । त्यसयता सन्दीप नेपाली टोलीका नियमित खेलाडी हुन् । उनले अहिलेसम्म यस फर्म्याटमा तीन हजार सात सय ७० बल फ्याँक्दा दुई हजार सात सय ७६ रन खर्चेका छन् । उनको इकोनोमी रनरेट ४.४१ रहेको छ । यसैगरी, बलिङमा सन्दीपको स्ट्राइक रेट २६.५ रहेको छ । उनको बलिङ औसत १९.५४ छ । सन्दीपले करिअरमा तीनपटक पाँच विकेटमाथि र आठपटक चार विकेटको प्रदर्शन गरेका छन् । 

See More On

सुझावित समाचार