अमेरिकालाई फिफा विश्वकपमा सुरक्षाको चिन्ता

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास भएपछि ह्वाइट हाउसका अधिकारीले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी तत्कालै खुलाउनुपर्ने बताएका छन् । आगमी जुन–जुलाईमा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै छन् । विश्वकप फुटबलको सुरक्षाका लागि भए पनि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी विभाग सक्रिय हुनुपर्ने अधिकारीले जनाएका छन् ।

गत साता वासिङटन डिसीमा भएको एउटा कार्यक्रममा ३१ वर्षीय कोल टोमास एलेनले राष्ट्रपति ट्रम्पलाई आक्रमण गर्ने प्रयास गरेका थिए । उनीसँग अर्धस्वचालित पेस्तोल, एउटा सर्टगन र तीनवटा चक्कु थिए । सुरक्षा घेरा तोडेर अघि बढ्दै गर्दा उनलाई पक्राउ गरिएको थियो । यो घटनापछि ह्वाइट हाउसले आफ्नो सुरक्षा व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने जनाएको छ । ह्वाइट हाउसले विश्वकप आयोजना हुने सहर तथा रंगशालाको सुरक्षा जिम्मेवारी पाएको निकायसँग छलफल गरेको छ ।

संसद्मा बजेटको विषयलाई लिएर विवाद हुँदा नौ हप्तादेखि होमल्यान्ड सेक्युरिटी पूर्ण रूपमा प्रयोगमा आएको छैन । डेमोक्र्याट पार्टीका सदस्यहरूले अध्यागमन विभागको बजेट रोकेका कारण होमल्यान्ड सेक्युरिटी आंशिक रूपमा सञ्चालन भइरहेको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसको विश्वकप कार्यदलका कार्यकारी निर्देशक एन्ड्रयु जिउलियानीले अमेरिकाको सुरक्षामाथि गम्भीर प्रश्न आएको बताए । ‘गत साता वासिङटनको घटनाले हामी हाम्रो देशमा कति सुरक्षित छौँ भन्ने सन्देश दिएको छ,’ एन्ड्रयुले भने, ‘विश्वकपमा फुटबल हेर्न लाखौँ पर्यटक आउनेछन्, यस्तो वेला सुरक्षा विभाग बन्द रहनु खतरनाक हुन्छ ।’

उनले विश्वकपमा मात्र नभएर अन्य समयमा अमेरिकाको सुरक्षा निकाय बलियो बनाउन पनि विभागलाई शतप्रतिशत काममा लगाउनुपर्ने माग राखेका छन् । ‘वासिङटनको एउटा उदाहरण मात्र हो । विश्वकपअगाडि यस्तो चेतावनी आउन सक्छ । यतिवेला हामी लापरबाही गर्न सक्दैनौँ,’ एन्ड्रयुले भने ।

सुरक्षा व्यवस्था कडा हुने
राष्ट्रपति ट्रम्पले गत साताको घटनाले आफू नडराएको र अमेरिकाको सुरक्षाप्रति विश्वस्त हुन आग्रह गरेका छन् । उनले विपक्षीले रोके पनि आगामी १ जुनमा आपत्कालीन बजेट ल्याउने बताएका छन् । ‘हामी अमेरिकन सुरक्षा व्यवस्थामा बलिया छौँ, यसमा केही पनि डराउनुपर्दैन,’ ट्रम्पले सोसल मिडियामा भनेका छन्, ‘अहिले विशेष अवस्थामा प्रयोग हुने सुरक्षा विभाग पूर्ण रूपमा सञ्चालनमा छैनन्, तर मलाई विश्वास छ, १ जुनमा यो अगाडि बढ्नेछ ।’ सिनेटरहरूले विश्वकपका लागि ह्वाइट हाउसले खासै तयारी नगरेको आरोप लगाएका छन् । ‘एउटा सामान्य नागरिकले ह्वाइट हाउसमा भएको कार्यक्रममा आक्रमण गर्न सक्छ भने देशको सुरक्षा व्यवस्था कस्तो भन्ने प्रश्न छ,’ सिनेटरहरूले भनेका छन्, ‘यसले आगामी विश्वकपमा हाम्रो सुरक्षा निकाय कसरी अगाडि बढ्छ ?’

तीन महिनादेखि सुरक्षा विभाग बन्द
यसैगरी, न्युयोर्कका सांसद माइकलले पनि राष्ट्रपतिमाथिको आक्रामक प्रयासले सुरक्षा व्यवस्थामाथि प्रश्न लगाएका छन् । उनले पनि मुख्यगरी विश्वकपकेन्द्रित सुरक्षा एजेन्सीलाई सुचारु गर्नुपर्ने बताएका छन् । ‘विश्वकपजस्तो अन्तर्राष्ट्रिय फुटबलमा हामी मुख्य आयोजकका रूपमा छौँ, जहाँ लाखौँ पयर्टक आउन सक्छन् । यस्तो वेलामा अमेरिका आतंकवादको निशानामा पर्न सक्छ,’ सांसद माइकले भने, ‘सुरक्षा समन्वय गर्ने विभाग एक सय १० दिनभन्दा बढी बन्द रहनु कतिको जायज हो ?’ राष्ट्रपति ट्रम्पले पनि संसद्का रिपब्लिकन सदस्यलाई आगामी जुनसम्ममा यस विषयमा सहमति जुटाउन र कानुन पास गर्न आग्रह गरेका छन् । 

१०४ मध्ये ७८ खेल अमेरिकामा
तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका अधिकांश खेल अमेरिकामा हुनेछ । विश्वकपमा कुल एक सय चार खेल हुनेछन् । यसमध्ये ७८ खेल अमेरिकाका विभिन्न सहरमा हुने फिफाले जनाइसकेको छ । ११ जुनमा अमेरिकाको स्टाडियो रंगशालामा मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ । यसैबिच फिफाका अध्यक्ष इन्फाटिनोले पनि विश्वकपको सुरक्षासम्बन्धी अमेरिकासँग छलफल गरेको एजेन्सीले जनाएको छ । ‘राष्ट्रपतिमाथिको आक्रमण प्रयासले विश्वकपको सुरक्षा व्यवस्थाप्रति हामी चिन्तित छौँ,’ इन्फाटिनोले भने, ‘विश्वकप नजिक आइरहेको छ । त्यसमा ४८ राष्ट्रले भाग लिँदै छन् ।’ इन्फाटिनोले नै पहिलोपटक विश्वकपमा सर्वाधिक ४८ राष्ट्रबिचको प्रतिस्पर्धा योजना ल्याएका हुन् । यसअघिको संस्करणमा ३२ राष्ट्रबिच विश्वकप भएको थियो । यसपटक सहभागी राष्ट्र थपिँदा विश्वकप हेर्न लाखौँ फुटबल समर्थक अमेरिका, मेक्सिको र क्यानडामा पुग्ने फिफाको विश्वास छ । 

सुझावित समाचार