- डकवर्थ लेविस नियमअनुसार युएईले ३८ ओभरमा दुई सय ५५ रनको नयाँ लक्ष्य पाएको थियो । युएईलाई अन्तिम ओभरमा १५ रन बनाउनुपर्ने थियो, तर नन्दन यादवले केवल आठ रन दिँदै नेपाललाई ६ रनको रोमाञ्चक जित दिलाए ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार नेपालले युएईलाई डकवर्थ लेविस नियमअनुसार ६ रनले पराजित गरेको छ । नेपालले युएईलाई लगातार दोस्रो खेलमा हराउन अन्तिम ओभरसम्म प्रतीक्षा गर्नुपरेको थियो । पहिलो ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको शतक तथा चार वर्षपछि टोलीमा फर्किएका विनोद भण्डारीको अर्धशतकीय योगदानमा ५० ओभरमा सात विकेट गुमाएर दुई सय ८९ रनको बलियो योगफल खडा गरेको थियो ।
लक्ष्य पछ्याएको युएईको ब्याटिङमा वर्षाले खेल रोकियो । युएईले ४.१ ओभरमा एक विकेटको क्षतिमा ३६ रन बनाउँदा खेल रोकिएको थियो । पुनः खेल सञ्चालन हुँदा युएईले डकवर्थ लेविस नियमअनुसार नयाँ लक्ष्य पायो । जसमा युएईलाई ३८ ओभरमा दुई सय ५५ रनको नयाँ लक्ष्य प्राप्त गर्यो । युएईले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरी नेपालमाथि दबाब दिएको थियो ।
इनिङ्सको अन्तिम ओभरमा युएईलाई १५ रन आवश्यक थियो । नेपालबाट नन्दन यादवले बलिङ गरेका थिए । इनिङ्सको ३७.१ ओभरमा नन्दनको पहिलो बलमा खुजैमा तन्भिरले चौका प्रहार गरे । ३७.२ बलमा नन्दनले तन्भिरलाई दीपेन्द्रसिंहबाट क्याच आउट गराए । ३७.३ ओभरमा नन्दनले जुनिद सिद्दिकीलाई रनआउट गरे । ३७.४ ओभरमा नाथले चौका प्रहार गर्दै युएईलाई जितनजिक पुर्याए । तर, नन्दनले लगातार दुई बल डट फ्याँक्दा युएई ६ रनले पराजित भयो ।
नेपालले विश्वकप लिग–२ मा २३औँ खेल खेल्दा सातौँ जित निकाल्यो । नेपाल १६ अंकका साथ सातौँ स्थानमा छ । आठ राष्ट्र सम्मिलित लिग–२ मा युएईले २२ खेलमा १२ अंक जोडेको छ । युएई पुछारमा छ । अब नेपालले आगामी मंगलबार ओमानको सामना गर्नेछ ।
युएईले लक्ष्य पछ्याएको इनिङ्समा शीर्ष ब्याट्सम्यानले गतिलो प्रदर्शन गरेका थिए । ओपनर आयांश शर्माले ३२ बलमा ३३ रन र तेस्रो क्रमका मुहम्मद सहदादले ७२ बलमा ६५ रन जोडेका थिए । यसैगरी, हप्रित सिंहले ४० बलमा ४१ रन तथा अक्षदीप नाथले अन्तिमसम्म क्रिजमा रहँदै ३२ बलमा ३६ रनको योगदान दिए । तन्भिरले अन्तिम समयमा आक्रामक ब्याटिङ गरी २६ बलमा पाँच छक्का र दुई चौका प्रहार गरी ४९ रनको योगदान दिएका थिए । बलिङमा सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट लिए ।
यसअघि नेपालबाट चार खेलाडी परिवर्तन भएका थिए । नेपालको ब्याटिङमा दीपेन्द्रसिंह र गुल्सन झाबिच छैटौँ विकेटका लागि एक सय दुई रनको साझेदारी भएको थियो । गुल्सनले ३८ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४४ रन बनाए ।
एकदिवसीय खेलमा दीपेन्द्रसिंहको दोस्रो शतक
नेपालले चालू सिजनको विश्वकप लिग–२ मा सातौँ जित निकाल्दा व्यक्तिगत रूपमा धेरै खेलाडीले रेकर्ड आफ्नो नाममा राखेका छन् । नेपालको जितमा महत्वपूर्ण योगदान उपकप्तान दीपेन्द्रसिंह ऐरीले दिए । नेपालले युएईविरुद्ध बलियो योगफल राख्नुपछाडि दीपेन्द्रसिंहको शतकीय योगदान रह्यो । उनले ठ्याक्कै सय रन बनाउन ९४ बलमा १३ चौका र एक छक्का प्रहार गरे । उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक हो । यसअघि, उनले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध एक सय पाँच रनको शतकीय इनिङ्स खेलेका थिए ।
७१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिरहेका २६ वर्षीय दीपेन्द्रसिंहले सात अर्धशतक पनि बनाएका छन् । कीर्तिपुरमा चलिरहेको लिग–२ मा दीपेन्द्रसिंह उत्कृष्ट फर्ममा छन् । उनले ब्याक टु ब्याक अर्धशतकीय इनिङ्स खेलेका छन् । यसअघि युएईसँगैको पहिलो खेलमा उनले ७५ रन बनाउनुका साथै एक विकेट लिएका थिए । ओमानसँग हारेको खेलमा उनले ६० रनको अर्धशतक लगाए । सो खेलमा उनले ५६ रन खर्चेर दुई विकेट हात पारेका थिए । शुक्रबारको प्रतिस्पर्धामा उनले बलिङ गरे पनि विकेट लिन सकेनन् । नेपालका लागि एकदिवसीय खेलमा दीपेन्द्रसिंहले कप्तान रोहित पौडेलको नाममा रहेको सर्वाधिक दुई शतकको बराबरी गरेका छन् ।
लिग–२ मा सन्दीपको सय विकेट पूरा
लेग स्पिनर सन्दीप लामिछाने विश्वकप लिग–२ मा सय विकेट लिने पहिलो बलर बनेका छन् । त्रिवि क्रिकेट मैदानमा सन्दीपले दोस्रो इनिङ्सको ९.५ ओभरमा युएईका ओपनर आयांशलाई ललित राजवंशीबाट क्याच आउट गराउँदै लिग– २ मा सय विकेटको कोसेढुंगा पूरा गरेका हुन् । सन् २०१९–२३ को विश्वकप लिग–२ मा उनले समग्रमा ७२ विकेट लिएका थिए । त्यसवेला उनले ३१ मध्ये ३० इनिङ्समा बलिङ गर्दै ४.०४ इकोनोमी रेट राखेका थिए । चालू सिजनमा उनले १८ मध्ये १७ इनिङ्समा ३० विकेट हात पारेका छन् । नेपालले त्रिवि मैदानमा दोस्रो जित निकाल्ने क्रममा सन्दीपले आठ ओभरमा एक मेडन राखी ३६ रन खर्चेर तीन विकेट लिएका थिए । अघिल्लो खेलमा सन्दीप ९९ विकेटमा रोकिएका थिए । विश्वकप लिग–२ मा समग्रमा दोस्रो स्थानमा ब्रेनार्ड स्चोलट्जले ६१ इनिङ्समा ९४ विकेट लिएका छन् । अमेरिकाका सौरभले ५३ इनिङ्समा ९३ विकेट लिँदै तेस्रो स्थानमा छन् । ओमानका विलाल खान ८२ विकेटका साथ चौथो स्थानमा छन् ।
राम्रो भएन अर्जुनको डेब्यु
यस सिजनको प्रधानमन्त्री एकदिवसीय कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरेका १५ वर्षीय अर्जुन कुमारले पनि नेपालको एकदिवसीय टोलीबाट डेब्यु गरेका छन् । अर्जुनले सिनियर खेलाडी विनोदसँगै ओपनिङमा ब्याटिङ गर्दै डेब्यु गरेका हुन् । यद्यपि, अर्जुनले आफ्नो डेब्युलाई स्मरणीय बनाउन सकेनन् । उनले पहिलो विकेटका लागि ५.५ ओभरमा २५ रनको साझेदारी गरेका थिए । यसक्रममा उनले २२ बल सामना गरी दुई चौकाको सहयोगमा ११ रन जोडेका थिए । यसअघि युएई र ओमानसँगको खेलमा उनी बेन्चमा थिए । प्रशिक्षक स्टुवार्ट लले नियमित दुवै ओपनरलाई हटाएर विनोद र अर्जुनलाई मौका दिएका हुन् । अर्जुन र विनोदबिच उमेरमा १६ वर्षको फरक छ । विनोद भण्डारीले सन् २००९ मा पहिलोपटक राष्ट्रिय टिमबाट डेब्यु गर्दा कुमार चार वर्षका मात्र थिए ।
चार वर्षपछि उत्कृष्ट लयमा फर्किए विनोद
लगभग चार वर्षको प्रतीक्षापछि विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी राष्ट्रिय टोलीमा फर्किए । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार नेपालले युएईसँग प्रतिस्पर्धा गरेको थियो । विनोदले यसै खेलमा पुनरागमन गरेका हुन् । १७ जुलाई २०२२ मा उनले अन्तिमपटक स्कटल्यान्डविरुद्ध एकदिवसीय खेल खेलेका थिए । घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरे पनि उनले स्थान बनाउन सकेनन् । क्यानले आयोजना गरेको प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीबाट प्रतिस्पर्धा गरेका उनले उत्कृष्ट प्रदर्शन गरे । जहाँ उनले शतकसँगै अर्धशतक पनि लगाए । यसै प्रदर्शनका आधारमा उनी लगभग चार वर्षपछि नेपालको एकदिवसीय टोलीको प्रारम्भिक खेलाडी छनोटमा परे । शुक्रबार त्रिवि मैदानमा अर्जुनले युवा अवस्थामै डेब्यु गर्दा विनोदले नेपालको एकदिवसीय टोलीमा सबैभन्दा पाका खेलाडीका रूपमा प्रतिस्पर्धा गरेका थिए । ३६ वर्षीय विनोदले शक्ति गौचनको रेकर्ड तोडेका छन् । यसअघि नेपाली टोलीबाट पाका खेलाडीका रूपमा शक्तिले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ३४ वर्षको उमेरमा खेलेका थिए । टोलीमा आबद्ध खेलाडीमध्ये सबैभन्दा पाका खेलाडीमा रहेका विनोदले आफ्नो पुनरागमनलाई उत्कृष्ट बनाउन सफल भए । उनले धर्मराएको नेपालको ब्याटिङ सम्हाल्दै ७९ बलमा सात चौकाको सहयोगमा ५६ रनको योगदान दिए ।