सल्यानमा २५ करोड लागतमा खानेपानी आयोजना सुरु

बिहिबार, १७ बैशाख, २०८३
डिजिटल संस्करण

सल्यानको शारदा नगरपालिकाका बासिन्दालाई स्वच्छ खानेपानी पुर्याउने उद्देश्यसहित खैरावाङ सामुदायिक खानेपानी आयोजनाको शिलान्यास गरिएको छ।

२५ करोड ४३ लाखको लागतमा शारदा नगरपालिकाका एक हजार १९९ घरधुरीलाई लक्षित गरी बिहीबार मेयर प्रकाश भण्डारीले आयोजनाको शिलान्यास गरेका हुन्। शारदा नगरपालिकाको वडा नं. १, ११ र १२ का पाँच हजार चार सय जनसंख्यालाई लक्षित गरी नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत आयोजनाको सुरुवात गरिएको मेयर भण्डारीले बताए। 

०८४ भदौ ७ गतेसम्म आयोजना सक्ने गरी सम्झौता भई कार्य थालनी भएको निर्माण कम्पनी ए.एम. कन्स्ट्रक्सनका परवीर डाँगीले जानकारी दिए। १८ महिनाभित्र योजना सम्पन्न गर्ने योजनाका साथ लागिपरेको उनको भनाइ छ। मूल्यवृद्धि तथा बालुवा–गिट्टीको अभाव नभए निर्धारित समयमै काम सम्पन्न हुने उनले प्रस्ट पारे।

आयोजना सम्पन्न भएपछि स्थानीयले लामो समयदेखिको खानेपानी अभावबाट मुक्ति पाउने खैरावाङ सामुदायिक खानेपानी आयोजनाका अध्यक्ष प्रेमबहादुर वलीले बताए। खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनामार्फत उक्त आयोजना बन्न लागेको हो।
 

सुझावित समाचार